
काठमाडौं। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाइ एयर एसियाले पुनः व्यावसायिक उडान गर्ने भएको छ।
गत चैत दोस्रो सातादेखि उडान स्थगन गरेको थाइ एयर एसियाले आउँदो कात्तिक ९ गतेबाट बैंकक-भैरहवा रुटमा जहाज उडाउने भएको हो।
थाइ एयर एसियाको नेपालका लागि आधिकारीक जनरल सेल्स एजेन्ट (जीएसए) युनिभर्सल टुर एण्ड ट्राभल्सले बैंकक-भैरहवा दुईतर्फी उडानका लागि टिकट बुकिङ खुला गरेको छ। दुईतर्फी उडानको भाडादर करिब २४ हजार रुपैयाँ तोकिएको छ।
‘हामीले यस अगाडि पनि बैंकक-भैरहवा दुईतर्फी व्यावसायिक उडान गरेका थियौं। बीचमा यात्रुको संख्या निकै कम भएपछि उडान स्थगन गरेका थियौं,’ कम्पनीका एक कर्मचारीले भने, ‘आउँदो कात्तिकबाट फेरि उडान हुने भएको छ। त्यही भएर टिकट बुकिङ खुला गरेका छौं।’
उनका अनुसार थाइ एयर एसिया कात्तिक ९ गतेबाट चैतसम्म नियमित व्यावसायिक उडान गर्नेछ।