
काठमाडौं। गत साता लगातार बढिरहेको सुनको मूल्य यो साताको पहिलो दिन घटेको छ। आइतबार सुन तोलामा ३ हजार रुपैयाँले घटेर कारोबार मूल्य निर्धारण भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला १ लाख ९० हजार ७ सय रुपैयाँ भएको छ। गत बुधबारका तुलनामा बिहीबार ५ सय रुपैयाँ बढेर कारोबार मूल्य तोलाको १ लाख ९३ हजार ७ सय रुपैयाँ पुगेको थियो। शुक्रबार उक्त मूल्यमा स्थिर रहेको सुन आइतबार घटेको हो।
चाँदी तोलामा ५ रुपैयाँ घटेको छ। आइतबार कारोबार मूल्य प्रति तोला २ हजार १ सय ४५ रुपैयाँ भएको छ। शुक्रबार चाँदी तोलामा २ हजार १ सय ५० रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनचाँदीको मूल्य गिरावट छ। सुन प्रति औंस ३३११.७ डलर छ भने चाँदी प्रति औंस ३५.९८ डलर छ। गत शुक्रबार सुन प्रति औंस ३३६९.५९ डलर र चाँदी ३६.०९ डलर पुगेको थियो।