स्कटल्याण्डपछि नेदरल्याण्ड्सलाई पनि नेपालले हरायो, आरिफको संयमित अर्धशतक

बिजमाण्डू
२०८२ जेठ २२ गते ००:०४ | Jun 5, 2025
स्कटल्याण्डपछि नेदरल्याण्ड्सलाई पनि नेपालले हरायो, आरिफको संयमित अर्धशतक
नेपाली क्रिकेट खेलाडी। तस्बिर: क्यान

काठमाडौं। नेपाली क्रिकेट टोलीले नेदरल्याण्ड्सलाई हराएको छ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको आज सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको हो।

Tata
GBIME

स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल स्टेडियममा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिङ गर्दै २ सय २५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो।

आरिफको संयमित अर्धशतक र साझेदारी

२२६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपाललाई लक्ष्यसम्म पुर्‍याउन आरिफ शेखको संयमित अर्धशतक महत्वपूर्ण रह्यो। उनले ९९ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ७८ रन बनाए। यसक्रममा उनले दीपेन्द्रसिंह ऐरीलेसँगै ९२ बलमा ८९ रन र रोहितकुमार पौडेलसँग ८९ बलमा ५५ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासे।

त्यस्तै, एकदिवसीय फर्म्याटमा फितलो रेकर्डका कारण आलोचित बन्दै आएका दीपेन्द्रसिंह ऐरीले टोलीलाई लक्ष्यसम्म पुर्‍याए। उनले ५१ बलमा ३ चौकाको सहायतामा अविजित ३८ रन बनाए। त्यसअघि ओपनर कुशल भुर्तेलले २५, रोहित पौडेलले २३, आशिफ शेखले १९ तथा भीम सार्कीले ११ रन बनाएका थिए। गुल्सन झाले ४ बल खेल्दा समान १ चौका र छक्काको सहायतामा ११ रनमा अविजित रहे।

बलिङमा नेदरल्याण्ड्सका माइकल लेभिटले २ विकेट लिँदा भिभिआन किंग्मा र पउल भान मिकेरेनले समान १ विकेट लिए।

नेदरल्याण्ड्सको इनिङ्स

त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले सुरुवाती ब्याटिङ गर्दै ४९.१ ओभरमा अलआउट भएर २२५ रन बनाएको थियो।

स्कटल्याण्डको डन्डीस्थित फोर्टहिल स्टेडियममा डच टोलीका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए।

सोमपाल कामीको विकेट सेलिब्रेसन। तस्बिर: क्यान

नेदरल्याण्ड्सका ब्याटरहरुलाई नेपाली बलरले सुरुबाटै दवाबमा राखे। डच टोलीका लागि नोह क्रोएसले सर्वाधिक ४८ रन बनाउँदा स्कट एडवार्ड्सले ४६ तथा विक्रमजित संघले ३८ रनको महत्वपूर्ण योगदान दिए।

बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान २ विकेट लिए।

अंकतालिकामा नेपाललाई राहत

स्कटल्याण्ड सिरिजमा लगातार दोस्रो जितका बावजुत क्रिकेट विश्वकप लिग-२ को तालिकामा नेपाल अझै सातौँ स्थानमै छ। ८ टोली सहभागी लिग-२ को पुछारमा ६ अंकसहित यूएई छ भने सातौँ स्थानमा १० अंकसहित नेपाल छ। नेपाल भन्दा अघि २० खेलबाट १४ अंक बनाएको नामिबिया छ। स्कटल्याण्ड सिरिजमा नेपालले बाँकीका दुई खेलमा पनि जित निकाल्न सके नामिबियासँग अंक बराबरी गर्न सक्छ।

लिग-२ को शीर्षस्थानमा अमेरिका २० खेलबाट २८ अंक बनाउँदै कायम छ। दोस्रो स्थानमा २१ खेलबाट २६ अंक बनाएको नेदरल्याण्ड्स छ। तेस्रो स्थानमा २४ अंकसहित ओमन रहँदा चौथो र पाँचौँ स्थानमा समान २० अंकसहित स्कटल्याण्ड र क्यानडा छन्। नेपालले आगामी खेलमा आइतबार घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।