
काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक डाकेका छन्। दिउँसो शीर्ष तहमा छलफलपछि अर्थमन्त्री पौडेलले पहिलोपटक बैठक डाकेका हुन्।
केही मिनेटअघि बैठकको निम्तो आएको सिफारिस समितिका एक सदस्यले जानकारी दिए। समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेको एकपछि अर्को नाम अस्वीकार गरेपछि दुई नेताबीच सम्बन्ध चिसिएको थियो।
सोमबार साँझ प्रधानमन्त्री ओलीले देउवालाई गभर्नरबारे छलफल गर्न बोलाएका थिए। अबदेखि गभर्नरको बारेमा छलफल नगर्ने भन्दै देउवा रिसाएर बालुवाटार गएनन्।
तर, प्रधानमन्त्रीले संसद्मा प्रश्नोत्तर रोकेर आफूलाई डाकेपछि देउवा मंगलबार बालुवाटार गएका थिए। छलफलमा गभर्नर नियुक्ति अगाडि बढाउन दुवै नेता सहमत भएपछि अर्थमन्त्रीले बैठक डाकेका हुन्।
देउवाले गभर्नरका लागि योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेललाई प्रस्ताव गरेका छन्। उनको नाममा छलफल गरेर सम्भवत आजै सिफारिस गर्ने योजना छ। त्यसपछि सोमबार स्थगित गरिएको मन्त्रिपरिषद् बैठक डाकेर मंगलबार साँझसम्म गभर्नर नियुक्त गर्ने तयारी छ।
ओली र देउवाको भेटमा अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी छन्। बैठकस्थलबाटै अर्थमन्त्रीले सिफारिस समितिका सदस्यहरुलाई फोन गरेर अर्थ मन्त्रालय डाकेका हुन्। अबको केही समयभित्रै बैठक बस्ने छ।
देउवा र ओलीबीच गभर्नरलाई लिएर सोमबार भेटघाट नभएपछि सरकार ढल्नेसम्मको चर्चा चलेको थियो। कांग्रेसभित्र एमालेसँगको सहकार्य अब अघि बढाउन नसकिने निष्कर्ष निकालिएको थियो।
कांग्रेस प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले गर्भनर नियुक्ति पेचिलो बनेको र त्यसमा ओलीको निर्णय देउवाले कुरिरहेको बताएका थिए।
‘पार्टी सभापति र पदाधिकारी तथा महत्वपूर्ण नेताहरुबीच निरन्तरजसो भेटवार्ता भइरहेको छ। गर्भनर नियुक्त नभएपछि देशमा असन्तुष्टि बढ्दो छ। अब प्रधानमन्त्रीज्यूले मुखले भन्दा पनि एक्सनले के गर्नुहुन्छ त्यहि अनुसार हुने हो। अप्ठेरो चाहिं छ,’ उनले बिजमाण्डूसँग भनेका थिए।
एमाले पनि कांग्रेससँग असन्तुष्ट थियो, जुन दिनदिनै बढ्दो छ। कांग्रेस नेताहरुले सरकारको चर्को विरोध गरेपछि केही नेताहरुले कांग्रेसलाई ओली नेतृत्वको सरकारको विपक्षमा नबोल्न चेतावनी नै दिने गरेका छन्।
गर्भनर विवादकै विषयले ओली र देउवाबीच सोमबार भेटवार्ता हुन सकेन भने मन्त्रिपरिषद् बैठक स्थगित गरिएको थियो। गर्भनर नियुक्त गर्नुको साटो वार्ताका लागि बोलाएको भन्दै देउवाले प्रधानमन्त्री निवास बालुवाटार जान अस्वीकार गरेका थिए। उनले आफू बिरामी भएको भन्दै भेटवार्तामा नआउने जानकारी ओलीलाई गराएका थिए।
त्यसपछि गृहमन्त्री लेखकले प्रधानमन्त्रीलाई भेटेर तत्काल प्रकृया अगाडि बढाउन अनुरोध गरेका थिए। त्यसमा प्रधानमन्त्रीले ‘हुन्छ पनि भनेनन् र हुन्न पनि भनेनन्।’ त्यही जवाफ लिएर लेखक सभापति देउवालाई भेट्न गएका थिए।
मंगलबार दुई नेताबीच भेटघाटको कार्यक्रम तय थिएन। तर, प्रधानमन्त्री ओलीले अचानक आजै प्रकृया अगाडि बढाउने हो आउनुस् भनेर देउवालाई बालुवाटार डाकेका थिए। देउवासँग बैठक चल्दै गर्दा अर्थमन्त्री पौडेल र गृहमन्त्री लेखक पनि पुगेका थिए।
दुई नेताको कुराकानीपछि अर्थमन्त्रीले सिफारिस समितिका सदस्यहरुलाई डाकेका हुन्।