
काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शंकास्पद वित्तीय विवरण भएका कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको भेटिएको छ।
आइपीओ निष्कासनका लागि बिचौलिया प्रयोग गरेर कमिसन उठाएको आरोप लागेपछि श्रेष्ठले कमजोर वित्तीय अवस्था भएका जलविद्युत कम्पनीलाई अनुमति दिनै नसकिने जिकिर गरेकामा उनले वित्तीय विवरण म्यानुपुलेसन गरेका कम्पनीलाई पुँजी संकलन गर्न स्वीकृति दिएको भेटिएको हो।
श्रेष्ठबाट आइपीओ अनुमति पाएका कम्पनीको वित्तीय अवस्था ‘म्यानुपुलेसन’ गरेको देखिनुले उनको जिकिर नै झुठो भएको सावित हुन्छ। जलविद्युत कम्पनीमाथि प्रतिशोध साँध्ने नियत रहेको प्रष्ट देखिन्छ।
श्रेष्ठले आइपीओ अनुमति दिएको कम्पनी नेपाल माइक्रो इन्स्योरेन्सको वित्तीय विवरण हेरौं।
नेपाल माइक्रो इन्स्योरेन्सले व्यवसाय सुरु नगर्दै आइपीओ निष्कासनका लागि पेस गरेको विवरणमा नाफा देखाएको छ।
२०८० असार २८ गते इन्स्योरेन्स व्यवसाय सुरु गरेको कम्पनीले आर्थिक वर्ष २०७९/८० मा १ हजार रुपैयाँ प्रिमियम संकलन गरेको विवरण नेपाल बीमा प्राधिकरणमा बुझाएको थियो।
तर, आइपीओ निष्कासनका लागि सेबोनमा पेस गरेको वित्तीय विवरणमा भने त्यही आर्थिक वर्ष २०७९/८० मा १७ लाख ९९ हजार रुपैयाँ संचित नाफामा रहेको देखाइएको छ।
२०८० मंसिर १० गते सेबोन अध्यक्ष नियुक्त भएका श्रेष्ठले नेपाल माइक्रो इन्स्योरेन्सबाट आइपीओ अनुमति दिन सुरु गरेका थिए। इन्स्योरेन्सले २०८० पुस २५ गते सेबोनबाट स्वीकृति पाएपछि साढे २२ लाख कित्ता आइपीओ निष्कासन गरेकामा कम्पनीको सेयर अहिले दोस्रो बजारमा कारोबार भइरहेको छ।
माइक्रो इन्स्योरेन्सले व्यवसाय नपाएर कार्यालय खर्च धान्नै सकस परिरहेको बताइरहेका बेला नेपाल माइक्रोले आइपीओ निष्कासनका लागि पेस गरेका अरु वित्तीय विवरण समेत शंकास्पद देखिएका छन्।
व्यवसाय नै नभएको नेपाल माइक्रो इन्स्योरेन्सले आइपीओ निष्कासनका लागि पेस परेको विवरणमा प्रति सेयर आम्दानी ०.८५ र प्रति सेयर नेटवर्थ १००.८६ रुपैयाँ रहेको देखाएको छ।
कम्पनीले आइपीओ निष्कासनका लागि सेबोनमा पेस गरेको वित्तीय विवरण
सूचक | २०७९/८० (वास्तविक) | २०८०/८१ (अपरिष्कृत) | २०८१/८२ (प्रक्षेपित) | २०८२/८३ (प्रक्षेपित) | २०८३/८४ (प्रक्षेपित) |
प्रति सेयर नेटवर्थ (रुपैयाँ) | १००.८ | १०१.३६ | १०१.९ | १०३.३३ | १०५.४३ |
प्रति सेयर आम्दानी (रुपैयाँ) | ०.८ | ०.५६ | ०.९५ | १.४३ | २.११ |
संचित मुनाफा (रु हजारमा) | १,७९९ | ३,०८८ | ६,२०९ | १०,९२९ | १७,८७६ |
नेपाल माइक्रो इन्स्योरेन्सको बीमा शुल्क (रु हजारमा)
२०७९/८० | २०८०/८१ | २०८१/८२ |
१ | १०३१६६ | १९३६७३ (तेस्रो त्रैमाससम्म) |
नेपाल माइक्रो मात्रै होइन्, श्रेष्ठले आइपीओ अनुमति दिएका अरु कम्पनीको पनि वित्तीय अवस्था ठिक छैन।
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० मा प्रिमियमबाट ६४ हजार रुपैयाँ संकलन गरेको विवरण नेपाल बीमा प्राधिकरणमा बुझाएकोमा सेयर निष्कासनका लागि सेबोनमा पेस गरेको वित्तीय विवरणमा २०७९/८० मा ३९ लाख ५२ हजार रुपैयाँ सञ्चित मुनाफा देखाएको छ।
कम्पनीका अरु वित्तीय सूचक पनि कमजोर छन्। अहिलेको व्यवसायका आधारमा कम्पनीले प्रक्षेपण गरेको व्यवसाय स्वाभाविक देखिंदैन।
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासनका लागि सेबोनमा पेस गरेको वित्तीय विवरण
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स | २०७९/८० (वास्तविक) | २०८०/८१ (अपरिष्कृत) | २०८१/८२ (प्रक्षेपित) | २०८२/८३ (प्रक्षेपित) | २०८३/८४ (प्रक्षेपित) |
प्रति सेयर नेटवर्थ (रुपैयाँ) | १००.८६ | १०३.२७ | १०९.३१ | १२५.१८ | १४५.९३ |
प्रति सेयर आम्दानी (रुपैयाँ) | ०.८६ | २.४१ | ७.७४ | १५.८१ | २०.६५ |
संचित मुनाफा (रु हजारमा) | ३,९५२ | ८,८५५ | २६,९५९ | ९९,४५९ | १९६,३२४ |
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमा (शुल्क हजारमा)
२०७९/८० | २०८०/८१ | २०८१/८२ |
६४ | ९७६४५ | ३२२०९२ (तेस्रो त्रैमाससम्म) |
सेबोनको नेतृत्वमा आएपछि सन्तोषनारायणले नेपाल माइक्रो र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अतिरिक्त ओम मेगाश्री, पियोर इनर्जी, सान्भी इनर्जी, ट्रेड टावर र विकास हाइड्रोपावरलाई सेयर निष्कासनको अनुमति दिए।
तीमध्ये पियोर इनर्जी र ओम मेगाश्रीको वित्तीय अवस्था नाजुक छ। दुवै कम्पनी घाटामा छन्। आइपीओ निष्कासनका लागि बुझाइएको वित्तीय विवरणमा गरिएको प्रक्षेपण अस्वाभाविक देखिन्छ।
चालु आर्थिक वर्ष पुससम्म २ करोड ३ लाख रुपैयाँ नोक्सानीमा रहेको पियोर इनर्जीले असार मसान्तसम्म १ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ।
२०८० को असार मसान्तमा प्रति सेयर आम्दानी २.७५ रुपैयाँ ऋणात्मक रहेको कम्पनीले यो वर्ष ५.२६ रुपैयाँ पुग्ने अनुमानित विवरण पेस गरेको देखिन्छ।
पियोर इनर्जीले आइपीओ निष्कासनका लागि पेस गरेको वित्तीय विवरण
पियोर इनर्जी | २०७८/७९ (वास्तविक) | २०७९/८० (वास्तविक) | २०८०/८१ (वास्तविक) | २०८१/८२ (पुससम्म) परिष्कृत | २०८१/८२ (अनुमानित) | २०८२/८३ (अनुमानित) | २०८३/८४ (अनुमानित) |
प्रति सेयर आम्दानी (रुपैयाँ) | ९८.६ | ९९.२७ | ९६.४५ | ९६.८२ | १०१.४३ | ११०.६४ | १२०.४९ |
प्रति सेयर नेटवर्थ (रुपैयाँ) | -०.३५ | -०.३९ | -२.७५ | ०.३८ | ५.२६ | ९.२१ | ९.८६ |
संचित मुनाफा (रु हजारमा) | -१९०६७९२ | -४१३७२६२ | -२२६९४६९६ | -२०३४६३३६ | ११४०८४१४.७५ | ८५०८५६३६.२६ | १६३९५५४०४.६० |
प्रति सेयर नेटवर्थ ९१.१५ रुपैयाँ रहेको ओम मेगाश्री फर्मास्युटिकल्स चालु वर्ष पुस मसान्तसम्म ३ करोड १७ लाख रुपैयाँ संचित नोक्सानीमा छ। ९० भन्दा कम नेटवर्थ भएका कम्पनीको आइपीओ निष्कासनमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले लगाम लगाएको छ।
समितिको निर्देशनपछि सेबोनले ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई आइपीओ अनुमति दिएको छैन। त्यसपछि नेटवर्थ ९० भन्दा कम भएका कम्पनीले चलाखी अपनाए।
ओम मेगाश्री फर्मास्युटिकल्सको वित्तीय अवस्था
ओम मेगाश्री फर्मास्युटिकल्स | २०७८/७९ (वास्तविक) | २०७९/८० (वास्तविक) | २०८०/८१ (वास्तविक) | २०८१ पुस (परिस्कृत) | २०८१/८२ (अनुमानित) | २०८२/८३ (अनुमानित) | २०८३/८४ (अनुमानित) |
प्रति सेयर आम्दानी (रुपैयाँ) | -३.०४ | -५.०५ | ३ .३० | ० .९८ | ५ .७३ | ९ .७९ | १४ .१० |
प्रति सेयर नेटवर्थ (रुपैयाँ) | ७८ | ७२ .९५ | ९० .१७ | ९१ .१५ | ९८ .११ | १०७ .७८ | ११३ .३७ |
संचित मुनाफा | -४४००९५०७ | -५४१०४२१० | -३७१७६८९९ | -४१३०६२०१ | -११३५२३३० | ४६६६३८३५ | ८०२२३८२६ |
२०७९/८० मा प्रति सेयर नेटवर्थ ७२.९२ रुपैयाँ रहेको कम्पनीले २०८०/८१ मा ९०.१७ रुपैयाँ पुगेको वित्तीय विवरण पेस गरेर आइपीओ अनुमति पाएको वित्तीय विवरणले देखाउँछ। ओम मेगाश्री फर्मास्युटिकल्सले सेयर निष्कासनको अनुमति माग्दै पेस गरेको प्रक्षेपित वित्तीय विवरण पनि अस्वाभाविक देखिन्छ।