
काठमाडौं। नेकपा माओवादी केन्द्रले नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन सरकारलाई दबाब दिने निर्णय गरेको छ।
माओवादी केन्द्रको संसदीय दलको बिहिबार बसेको बैठकले शिक्षकका माग सम्बोधनका लागि पहल गर्ने निर्णय पनि गरेको छ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले शिक्षकका माग सम्बोधनमा सरकार अनुदार देखिएको भन्दै प्रतिपक्षी दलसँगको सहकार्यमा संसदमार्फत दबाब दिनुपर्ने बताए।
उनले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधनका लागि जिम्मेवार भूमिका निर्वाह गर्न पार्टीका सांसदहरूलाई निर्देशनसमेत दिए। विभिन्न माग राखेर देशभरका सामुदायिक विोालयका शिक्षकहरु चैत २० गतेदेखि काठमाडौंमा आन्दोलनमा छन्।

बैठकले शिक्षा र संघीय निजामती सेवा ऐन जारी गरी गर्न पहलकदमी लिने निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। दुवै विधेयक अहिले संसदीय समितिमा छलफलका क्रममा छन्। संघीय संसद्को बजेट अधिवेशन शुक्रबार सुरु हुँदैछ।