
लमजुङ। बेँसीसहर-बागलुङपानी-घलेगाउँ-भुजुङ सडकमा ‘क्लोज ग्रेडिङ प्रिमिक्स’ प्रकृतिको कालोपत्रको काम सुरु भएको छ।
गण्डकी प्रदेश सरकारको बजेट रहेको यस सडकअन्तर्गत क्व्होलासोथर गाउँपालिका-१ बागलुङपानीदेखि वडा नम्बर ४ भुजुङसम्मको १७ किलोमिटरमध्ये १० किलोमिटर सडकमा कालोपत्र गर्ने कार्य सुरु भएको हो।
पूर्वाधार विकास कार्यालयका अनुसार निमित्त कार्यालय प्रमुख विवेक सिग्देलका अनुसार बागलुङपानीबाट घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको ७ किलोमिटर सडकमा ग्याबेल हुनेछ। सोमध्ये ४ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको र बाँकीमा कालोपत्र गर्ने कार्य भइरहेको उनको भनाइ छ।
उनका अनुसार ६ मिटर चौडाइको कालोपत्र भइरहेको र केही-केही ठाउँमा भने ढलान गरिने भएको छ।
घलेगाउँदेखि भुजुङसम्मको ७ किलोमिटर सडकमा ग्याबेलको काम कालेपत्र सम्पन्न गरेसँगै हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ। सडक स्तरोन्नतिको हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको उनको भनाइ छ।
बागलुङपानीबाट घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको ७ किलोमिटर सडक ग्याबेल गर्न कान्छाराम-नाना जेभीले विसं २०७६ असोज २९ गते सम्झौता गर्दै विसंं २०७८ असोज २९ गतेभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार उक्त समयमा ठेकेदारले काम सम्पन्न नगरेपछि पहिलो पटक विसं २०७९ असोज २८ गतेसम्म काम सम्पन्न गर्ने भन्दै म्याद थप गरेको थियो।
उक्त समयमा कामले गति लिन नसकेपछि २०८० चैत २२ गते पुनः म्याद थप गर्दै २०८१ असोज २९ गतेभित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो। तर, सो समयमा पनि काम सम्पन्न हुनसकेन । रासस