
काठमाडौं। ८ महिनादेखि बन्द रहेको सौर्य एयरलाइन्सले पुनः सेवा सञ्चालनका लागि शुक्रबार परीक्षण उडान गर्न लागेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को मापदण्ड अनुसार कर्मचारी भर्ना र वित्तीय सम्परीक्षण पूरा भएपछि एयरलाइन्सले उडान सञ्चालन प्रमाणपत्र (एओसी) फुकुवाका लागि परीक्षण उडान गर्न लागेको कम्पनीका बजार प्रमुख मुकेश खनालले जानकारी दिए।
उनका अनुसार परीक्षण उडानमा कम्पनीका ३ पाइलट र ३ इन्जिनियर संलग्न रहनेछन्। परीक्षण उडानको प्रतिवेदनका आधारमा एओसी फुकुवाको प्रक्रिया अगाडि बढाइनेछ।
‘शुक्रबार हाम्रो परीक्षण उडान हुँदैछ। त्यसपछि हामी एओसी फुकुवाका लागि प्रक्रिया अगाडि बढाउनेछौं,’ खनालले भने।
उनका अनुसार कम्पनीले इन्जिनियरिङ, मर्मत, सुरक्षा, गुणस्तर लगायत काम हेर्न आवश्यक जनशक्ति भर्ना गरिसकेको छ।
कम्पनीसँग अहिले बम्बार्डियर कम्पनीका सीआरजे २०० सिरिजका दुईवटा जहाज छन्। जसमध्ये एउटा मात्र उडानयोग्य छ।
एयरलाइन्सले नियमित व्यावसायिक उडान सुरु गर्न बिग्रिएर ५ वर्षदेखि थन्किएको जहाज मर्मत सम्भार गर्न लागेको छ।
सौर्य एयरलाइन्सको उडान गत साउन १० देखि बन्द छ। एयरलाइन्सको जहाज काठमाडौंबाट पोखरामा उडान गर्ने क्रममा साउन ९ गते त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो।