
काठमाडौं। सरकारले मोबाइलबाट फोन गर्दा विभिन्न दिवस, पर्व तथा अवसरमा बज्ने कलर रिङ ब्याकटोन (सीआरबीटी) शुल्क लिएर समेत बजाउन दिने भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कुनै सरकारी निकाय, सार्वजनिक संस्था वा सामाजिक संस्थाको स्थापना दिवस, विशेष दिवस वा ती निकायसँग सम्बन्धित जानकारीमूलक सूचना, सन्देश वा धुन नेपाल दूरसञ्चार प्राधिकरणको अनुमतिमा टेलिकम कम्पनीलाई सःशुल्क बजाउन अनुमति दिने भएको हो।
कुनै धर्म, जातजाति, भौगोलिक क्षेत्र वा समुदायको चाडपर्व, मेला वा विशेष अवसरसँग सम्बन्धित सन्देश, शुभकामना वा सोसम्बन्धी धुन प्राधिकरणले टेलिकम कम्पनीलाई सःशुल्क बजाउन अनुमति दिन सक्ने व्यवस्था गरेको छ। मन्त्रालयले सीआरबीटीको शुल्क निर्धारणको अधिकार भने दूरसञ्चार प्राधिकरणलाई दिएको छ। अहिले पनि विभिन्न पर्वमा यस्ता सन्देश बजिरहेका छन्।
राष्ट्रिय दिवसहरु (संविधान, प्रजातन्त्र, गणतन्त्र दिवसलगायत) वा मन्त्रिपरिषद्बाट राष्ट्रिय दिवस वा राष्ट्रियस्तरमा मनाउने भनी निर्णय भएका विषयसम्बन्धी सामग्री वा विपद्, महामारी वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित पूर्वसूचना वा जानकारीमूलक सामग्री सहितका सन्देश बज्दै आएका छन्।
त्यसका लागि सम्बन्धित निकायबाट सञ्चार मन्त्रालयमा अनुरोध हुने गरेको छ। त्यसपछि मन्त्रालयले प्राधिकरणलाई पत्राचार गर्छ र टेलिकम कम्पनीहरुले निःशुल्क कलर रिङ ब्याकटोन बजाउने गरेका छन्।
पछिल्लो समय अनावश्यक सीआरबीटी राखेको भन्दै मोबाइल प्रयोगकर्ताहरुले गुनासो गर्दै आएका छन्। तर, सरकारले भने सीआरबीटी राख्न थप सहजता दिएको छ।