गाडी र पार्ट्सको आयातमा २५% कर लगाउने ट्रम्पको घोषणा, विश्वव्यापी व्यापारमा कस्तो असर?

बिजमाण्डू
२०८१ चैत्र १४ गते ०८:२९ | Mar 27, 2025
गाडी र पार्ट्सको आयातमा २५% कर लगाउने ट्रम्पको घोषणा, विश्वव्यापी व्यापारमा कस्तो असर?


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी व्यापार युद्धलाई अझै चर्काउने गरि नयाँ करको घोषणा गरेका छन्। ट्रम्पले गाडी र गाडीका पार्ट्सको आयातमा २५ प्रतिशत नयाँ कर लगाउने घोषणा गरेका हुन्

Tata
GBIME
NLIC

ट्रम्पले नयाँ कर अप्रिल २ देखि लागू हुने बताएका छन्। गाडी आयात गर्ने व्यवसायहरूबाट त्यसको भोलिपल्टदेखि कर लिन सुरु गरिनेछ। गाडी पार्ट्सका लागि भने मे महिनादेखि वा अझ पछि लागू हुन सक्नेछ।

यो निर्णयले अमेरिकी गाडी उद्योगमा ‘अत्यधिक वृद्धि’ ल्याउने ट्रम्पको दाबी छ। यसले रोजगारी सिर्जना गर्ने र लगानी बढाउने उनले आशा व्यक्त गरे।

तर, विश्लेषकहरूले भने यसले अमेरिकी गाडी उत्पादनमा अस्थायी रूपमा रोकावट आउने, गाडीको मूल्य वृद्धि हुने र अमेरिका तथा उसका साझेदार राष्ट्रहरूबीच तनाव उत्पन्न गर्ने आकलन गरेका छन्।

अमेरिकाले गत वर्ष करिब २४० अर्ब डलर बराबरको ८० लाख गाडी आयात गरेको थियो। यो संख्या कुल बिक्रीको लगभग आधा हिस्सा हो।

अमेरिकामा गाडी आपूर्ति गर्ने प्रमुख देशहरू मध्ये मेक्सिको पहिलो स्थानमा छ। त्यसपछि क्रमशः दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनी छन्। ट्रम्पको पछिल्लो निर्णयले विश्वव्यापी गाडी व्यापार र आपूर्ति श्रृंखलालाई नै अव्यवस्थित पार्ने खतरा छ।

धेरै अमेरिकी गाडी कम्पनीहरूको मेक्सिको र क्यानडामा पनि कारखाना छन्। ती कारखानाहरू तीन देशबीचको लामो समयदेखि कायम रहेको स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत स्थापित गरिएका हुन्।

ह्वाइट हाउसले नयाँ नियम पूर्ण रूपमा बनेका गाडी मात्र नभई गाडीका पार्ट्समा पनि लागू हुने बताएको छ। यी पार्ट्स प्रायः अन्य देशहरूबाट ल्याएर अमेरिकामा एसेम्बल गरिन्छ।

तर, क्यानडा र मेक्सिकोबाट आउने पार्ट्समा लाग्ने नयाँ करहरू तत्काल लागू नहुने ह्वाइट हाउसले जनाएको छ। अमेरिकी सीमा शुल्क तथा सुरक्षाले नयाँ मूल्यांकन प्रणाली तयार नपार्दासम्म ती दुई छिमेकी देशहरूलाई छुट दिइने बताइएको छ। यी राष्ट्रहरूका सीमाबाट दैनिक अर्बौं डलर बराबरको बस्तु वारपार हुन्छ।

करबारे समाचार आएपछि बुधबार जनरल मोटर्सको सेयर लगभग ३ प्रतिशतले घट्यो। ट्रम्पको घोषणापछि फोर्ड लगायत अन्य कम्पनीहरूमा पनि असर परेको छ।

पत्रकार सम्मेलनमा ट्रम्पलाई निर्णय परिवर्तन गर्ने सम्भावना छ कि भनेर सोध्दा उनले कुनै सम्भावना नभएको बताए। उनले यो निर्णय स्थायी भएको बताए।

‘यदि तपाईं आफ्नो गाडी अमेरिकामा उत्पादन गर्नुहुन्छ भने कुनै ट्यारिफ लाग्दैन,’ उनले भने।

ट्रम्पले आयातित सामानहरूमा कर लगाउने नीति अपनाएका छन्। यसको उद्देश्य अमेरिकी व्यवसायको रक्षा गर्नु र उत्पादन वृद्धि गर्नु भएको उनको दाबी छ।

यद्यपि, यी नीतिहरूले स्वदेशी व्यवसायलाई जोगाउन सक्छन्, तर यसले विदेशी उत्पादनमा निर्भर व्यवसायहरूको लागत बढाउने जोखिम रहने विश्लेषकहरु बताउँछन्।

अब गाडीको मूल्य हजारौं डलरले बढ्न सक्ने विश्लेषकहरुको अनुमान छ। मेक्सिको र क्यानडाबाट आउने पार्ट्समा २५ प्रतिशत शुल्क लागेमा कारको लागत ४ हजार देखि १० हजार डलरसम्म बढ्ने एन्डरसन इकोनोमिक ग्रुपको अनुमान छ।

नयाँ कर नीतिले विशेष गरि बेलायत लगायत धेरै देशहरूका निर्यातकर्ता कम्पनीहरू प्रभावित हुने देखिन्छ। बेलायतमा आधारित जगुआर ल्यान्ड रोभरले गत वर्ष अमेरिकामा १ लाख १६ हजार २९४ गाडी बिक्री गरेको थियो। यो संख्या बेलायत र चीनमा बिक्री भएकोभन्दा बढी हो।

बेलायती सरकार अमेरिकी प्रशासनसँग छलफल गरिरहेको छ। शुल्क लागू हुनुअघि व्यापार सम्झौतामा पुग्ने आशा राखिएको छ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको घोषणाले आफ्ना देश र गाडी उद्योगमाथि ‘प्रत्यक्ष हमला’ गरेको बताए।

‘यसले हामीलाई असर गर्नेछ। तर हामी एकजुट भएर यो कठिनाइ पार गर्नेछौं,’ उनले भने।

युरोपियन कमिसनकी अध्यक्ष उर्सुला भोन डर लेयनले कर व्यवसायहरूका लागि खराब र उपभोक्ताका लागि झनै खराब रहेको टिप्पणी गरिन्।

उनले भनिन्, ‘युरोपियन युनियनले आफ्नो आर्थिक चासोको रक्षा गर्दै वार्ताका माध्यमबाट समस्याको हल खोज्नेछ।’

बेलायतका लागि अमेरिका युरोपपछिको दोस्रो ठूलो बजार हो। बेलायती उद्योग संस्था सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एन्ड ट्रेडर्स (एसएमएमटी) का अनुसार मुख्य रूपमा विलासी गाडीहरू अमेरिका निर्यात गरिन्छ।

एसएमएमटीका प्रमुख कार्यकारी माइक हावेसले बेलायत र अमेरिका सरकारलाई तत्काल वार्तामा बस्न आग्रह गरेका छन्।

गाडी उद्योग पहिले नै स्टिल र आलुमिनियममा ट्रम्पले लगाएको करका कारण प्रभावित छ।

हालसालै, फोर्ड र जनरल मोटर्स जस्ता प्रमुख गाडी कम्पनीहरूले राष्ट्रपति ट्रम्पलाई यस उद्योगलाई थप करबाट जोगाउन आग्रह गरेका थिए।

अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगको २०२४ को एक अध्ययन अनुसार, २५ प्रतिशत आयात कर लगाइएमा गाडी आयातमा लगभग ७५ प्रतिशत कमी आउनेछ। साथै, अमेरिकामा गाडीको औसत मूल्य करिब ५ प्रतिशतले बढ्नेछ। यसका बाबजुद ट्रम्पले नयाँ कर नीति अघि बढाएका हुन्।

ह्वाइट हाउसका अधिकारीहरूले भनेका छन्, ‘हामी अमेरिकी कामदारहरूले पार्ट्स मात्र जोड्ने होइन, तिनीहरू आफैं बनाउन् भन्ने चाहन्छौं।’

नयाँ शुल्क घोषणा हुनुअघि दक्षिण कोरियाली कार निर्माता हुन्डाइले अमेरिकामा २१ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो। यसअन्तर्गत उसले लुइजियानामा स्टिल कारखाना निर्माण गर्नेसमेत बताएको छ।

ट्रम्पले यो लगानीलाई ‘शुल्कहरूले निकै प्रभावकारी काम गरेको प्रमाण’ भनेका छन्।

निर्वाचनको समयमा ट्रम्पको विरोधमा उत्रिएका अमेरिकी अटोवर्कर्स यूनियनका नेता शन फेनले हाल उनको निर्णयको समर्थन गरेका छन्।

उनले भने, ‘राष्ट्रपति ट्रम्प अमेरिकी श्रमिक वर्गको पक्षमा उभिएका छन्।’