नारायणीको सेयरमा निस्फिक्री लगानीकर्ता, ‘जे पनि हुनसक्ने’ अवस्थाको कम्पनीको मूल्य बढेको बढ्यै

सुनिल कुँवर
२०८१ चैत्र ७ गते ०६:०० | Mar 20, 2025
नारायणीको सेयरमा निस्फिक्री लगानीकर्ता, ‘जे पनि हुनसक्ने’ अवस्थाको कम्पनीको मूल्य बढेको बढ्यै

काठमाडौं। खराब कर्जा चुलिएर नाजुक अवस्थामा पुगेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य लगातार उचालिएको छ। नेप्से इन्डेक्स तीन सातादेखि निरन्तर घटिरहँदा नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य भने अस्वाभाविक रुपमा बढिरहेको छ।

Tata
GBIME

वित्तीयरुपमा टाट पल्टिएर ‘टेकओभर’को अवस्थामा पुगेको नारायणीको सेयर मूल्य सबैलाई चकित तुल्याउने गरी बढिरहेको हो। बुधबार कारोबार खुलेदेखि नै ओरालो लागेको नारायणीको सेयर मूल्य नेप्से १४.८८ अंकले घट्दा अन्तिम दश सेकेन्डमा प्रति कित्ता ७ रुपैयाँ बढ्यो।

अन्तिममा मूल्य उचालिएको बैंकको ६९ हजार २७१ कित्ता सेयर किनबेच भयो।

नेप्से सोमबार १० अंकले घट्दा नारायणीको सेयर मूल्य प्रति कित्ता ३० रुपैयाँ बढेको थियो। कम्पनीको सेयर मूल्य एक वर्षमा पाँच गुणाले बढेको छ। वर्ष दिनअघि कम्पनीको सेयर मूल्य प्रति कित्ता ४०० रुपैयाँ थियो।

कारोबार दिनका आधारमा तीन सातामै बैंकको सेयर मूल्य करिब दोब्बर भएको छ। माघ १३ गते बैंकको सेयर मूल्य प्रति कित्ता ११८३ रुपैयाँ रहेकामा बुधबार १९५५ रुपैयाँ पुगेको छ। जबकि फागुन १८ गते २८९० विन्दुमा रहेको नेप्से २०८ अंकले घटेर बुधबार २६८२ विन्दुमा आइपुगेको छ।

नेप्से निरन्तर ओरालो लाग्दा बैंकको सेयर मूल्य बढ्नुपर्ने कारण देखिंदैन।

बैंकको खराब कर्जा कहालीलाग्दो अवस्थामा छ। ४३.६९ प्रतिशत खराब कर्जा रहेको बैंकको पुँजीकोष अनुपात १.१९ प्रतिशतमा सीमित छ। पुससम्म बैंक ५२ लाख रुपैयाँ घाटामा छ। खराब कर्जा र तोकिएको पुँजीकोष कायम गर्न नसकेपछि नारायणी डेभलपमेन्ट बैंक अहिले नेपाल राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाहीमा छ।

यस्तो खराब अवस्थामा पनि बैंकको मूल्य किन बढिरहेको छ त?

बैंक हकप्रद सेयर निष्कासनको प्रक्रियामा रहेकाले मूल्य उचालिएको कम्पनीलाई नजिकबाट नियालिरहेकाहरु बताउँछन्। ‘बैंक हकप्रद सेयर निष्कासनको प्रक्रिया छ। त्यसैले केही इन्ट्रेष्ट ग्रुपले दोस्रो बजारमा मूल्य बढाउन चलखेल गरिरहेका हुन्,’ एक जानकारले भने।

नारायणी डेभलपमेन्ट बैंक चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासनको प्रक्रियामा छ। बैंकले २६ करोड २४ लाख रुपैयाँको हकप्रद सेयर निष्कासनको तयारी गरिरहेको हो।

मितिनारायणी डेभलपमेन्टको सेयर मूल्य (रुपैयाँमा)नेप्से परिसूचक (अंक)
फागुन १३१४६८२७६५
फागुन १५१६११२८१५
फागुन १८१६७६२८९०
फागुन १९१७३३२८७६
फागुन २०१७८३.२८४६
फागुन २११७८८२८२१
फागुन २२१८००२८१८
फागुन २५१८२५२७७२
फागुन २६१८३९२७५१
फागुन २७१८७५२७१९
फागुन २८१९०८२७३६
चैत ३१९१३२७१४
चैत ४१९४३२७०४
चैत ५१९४८२६९७
चैत ६१९५५२६८२
स्रोत : नेप्से

कर्जा बिग्रिएर संस्था नै संकटोउन्मुख हुँदा सेयर बजारमा मूल्य बढाउनेहरुका लागि भने नारायणी डेभलपमेन्ट बैंक नयाँ ट्रिगर बनेको छ।

‘लोक्याप कम्पनीको सूचीमा नारायणी डेभलपमेन्ट बैंक पनि छ। त्यही भएर हकप्रद निष्कासनअघि नै केहीले कम्पनीको सेयर उचालिरहेका छन्,’ एक ब्रोकरले भने।

२६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नारायणीको पब्लिक सेयर जम्मा ७ लाख ८७ हजार कित्ता छ। सेयरधनीलाई नारायणीले अहिलेसम्म लाभांश वितरण गर्न सकेको छैन। वित्तीय अवस्था बिग्रिएका कारण संस्थापक सेयरधनी नै नारायणीबाट बाहिरिइरहेका छन्।

कम्पनीले सेयरधनीलाई अहिलेकै व्यवसायबाट प्रतिफल दिन सक्ने कुनै आधार देखिंदैन। ‘हल्लामा चलिरहेको बजारमा कमजोर स्टक उचालिनु अस्वाभाविक होइन। तर, अर्काको पछि लाग्दा डुबिन्छ,’ एक मर्चेन्ट बैंकरले भने।

चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म नारायणी डेभलपमेन्ट बैंकका मुख्य सूचक

चुक्ता पुँजी (रुपैयाँ)२६२४६७६००
खुद नाफा(रुपैयाँ)-५२१३०९९
रिटर्न अर्निङ(रुपैयाँ)-४१९३५९५८०
प्रति सेयर नेटवर्थ(रुपैयाँ)२०.९३
प्रति सेयर आम्दानी(रुपैयाँ)-१.९९
पुँजीकोष अनुपात(प्रतिशत)१.१९
खराब कर्जा (प्रतिशत)४३.६९
सीडी रेसियो(प्रतिशत)७२.५५
बेसरेट(प्रतिशत)१५.९१
तरलता अनुपात(प्रतिशत)३७.३५
स्रोत : नारायणी डेभलपमेन्ट बैंक

वित्तीय अवस्थालाई बेवास्ता गरी लोक्यापको नाममा पछि लाग्दा सिधासाधा लगानीकर्ता खाल्डोमा पर्ने बजारका विश्लेषकहरु बताउँछन्। यस्ता कम्पनीमा लगानीकर्ता फसेका उदाहरण बजारमा धेरै छैन। पछिल्लोपटक खासगरी नेपाल फाइनान्समा लगानीकर्ता धेरै डुबेका छन्।

गत असारमा सत्तामा समीकरण फेरिएपछि बजार बुलिस हुँदा वित्तीय आधारविना नेपाल फाइनान्सको सेयर मूल्य उचालियो। डेढ महिनामै कम्पनीको सेयर मूल्य ७ गुणासम्म बढाएर प्रति कित्ता २६१४ रुपैयाँ पुर्‍याइयो।

प्रति कित्ता ५ हजार रुपैयाँ पुर्‍याइने हल्लाको पछि लागेर लगानी गरेका लगानीकर्ताको त्यतिखेर रुवाबासी चल्यो, जब मूल्य निरन्तर ओरालो लाग्यो। महँगोमा किनेका लगानीकर्ताले थोरै घाटा सहन्छु भन्दा पनि खरिद गर्नेहरु नपाएर बेच्न पाएका थिएनन्। कम्पनीको सेयर मूल्य अहिले प्रति कित्ता ७१७ रुपैयाँ छ।

खेलाडीहरु लगानीकर्तालाई रुवाएर नेपाल फाइनान्सपछि डेभलपमेन्ट बैंकतिर सिफ्ट भए। राष्ट्र बैंकले खराब कर्जा ४०.८५ प्रतिशत रहेको पाइएपछि कर्णाली डेभलपमेन्ट बैंकलाई गत मंसिर दोस्रो साता कारबाही गर्‍यो। त्यसको भोलिपल्ट कर्णालीको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो।

टाट पल्टिएपछि कर्णालीलाई राष्ट्र बैंकले संकटग्रस्त घोषणा गरी व्यवस्थापन ‘टेकओभर’ गरेर सुधारको प्रयास गरिरहेको छ। संकटग्रस्त वित्तीय अवस्थाविपरीत सेयर मूल्यमा चलखेल गरिएपछि नेपाल धितोपत्र बोर्डले कर्णालीको कारोबारमा रोक लगाएको छ। जसका कारण लगानीकर्ताको २ अर्ब रुपैयाँ बन्धक बनेको छ।