सत्तारुढ दलकै सांसदले भने- सिमेन्ट र डण्डीको अस्वाभाविक मूल्यवृद्धिमा उद्योगमन्त्रीको साथ छ



प्रकाश भण्डारी
२०८१ चैत्र ५ गते १३:२५ | Mar 18, 2025
सत्तारुढ दलकै सांसदले भने- सिमेन्ट र डण्डीको अस्वाभाविक मूल्यवृद्धिमा उद्योगमन्त्रीको साथ छ

काठमाडौं। सत्तारुढ दलकै सांसदले कार्टेलिङ गरेर सिमेन्ट र डण्डीमा भएको मूल्यवृद्धिमा उद्योगमन्त्री दामोदर भण्डारीको साथ रहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

उनीहरुले मन्त्रीको साथकै कारण उद्योगीहरुले एकपछि अर्को गरी मूल्य बढाइरहेको र प्रश्न गर्दा संसदीय समितिमै धम्कीपूर्ण भाषा प्रयोग गर्ने हिम्मत गरेको बताए।

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा सिमेण्ट र डण्डी उद्योगीलाई बोलाएको थियो। बैठकको सुरुमै सिमेन्ट उद्योगी ध्रुव थापाले बारम्बार किन बोलाएको भन्ने प्रश्न गर्दै अबदेखि नआउने बताए। उनको यो अभिव्यक्तिलाई लिएर सांसदहरु आगो भए।

सांसदहरुले थापाको यो भनाइलाई धम्की दिएको रुपमा अर्थ्याउँदै समितिमा यस्तो भाषा नसुहाउने बताए। सांसद रणेन्द्र बराइलीले कसको आडमा धम्कीपूर्ण भाषा बोलेको भन्दै थापासँग प्रश्न गरे।

‘ध्रुवजीको धम्कीपूर्ण भाषा मान्य छैन। तपाईंलाई घाटामा सिमेन्ट बेच्नुस् हामीले भनेको होइन। तर, कसको आडमा यस्तो धम्कीपूर्ण भाषा बोल्नुभयो?,’ उनले प्रश्न गरे।

सांसद डीपी अर्यालले पनि समितिको बैठकमा आउँदिन भनेर धम्कीपूर्ण भाषा बोल्नु अशोभनीय भएको बताए। ‘सिमेन्ट उद्योगीको भाषा अलि भएन। हामी तपाइँहरुका लागि छलफल गरिरहेका हुन्छौं। तर, तपाइँले यहाँ आउँदैनौं भनेर धम्की दिनुभयो। यो कुरा शोभनीय भएन’ उनले भने, ‘मूल्य किन एकाएक वृद्धि भयो? केही न केही वैज्ञानिक आधार चाहिन्छ। अहिलेको वृद्धि त्यत्ति प्राक्टिकल छैन।’

सांसद सूर्यमान तामाङ दोङले समितिको बैठकमा उद्योगीले धम्की दिनु आपत्तिजनक भएको बताए। ‘धम्की खानका लागि हामीले तपाइँलाई यहाँ बोलाइएको होइन। तपाइँहरुको धम्की आपत्तिजनक छ। धम्की फिर्ता नलिने भए हामी यहाँ नबसौं,’ उनले भने, ‘तपाइँले विद्युत प्राधिकरणको बक्यौता नतिरेको आरोप छ। आफ्नो कमजोरी लुकाउन अहिले लोडसेडिङ देखाउनु भएको छ। यो मान्य छैन।’

सांसद रमा कोइराला पौडेलले बैठक सभापतिले बोलाएको कि उद्योगीले भनेर प्रश्न गरिन्। ‘सिमेन्ट उत्पादकको कुरा मान्य छैन। धम्की मान्य छैन। हामीले बोलाउँदा प्रधानमन्त्री पनि आउनु पर्छ। तपाइँले आउँदिन भन्न पाउनु हुन्न,’ उनले भनिन्।

एमाले सांसद अमृतादेवी अग्रहरिले सिमेन्ट र डण्डीको मूल्य वृद्धिमा उद्योग मन्त्रालयको साथ रहेको बताइन्। ‘उद्योग मन्त्रालयले नै दोषीको भूमिका निभाई रहेको छ। मन्त्रालयको साथ नपाइ उद्योगीले लगातार मूल्य बढाउन सक्छन्?,’ उनले प्रश्न गर्दै भनिन्, ‘आम जनतालाई ठग्न पाइँदैन। उद्योगीहरु गलत छन्। यसको जिम्मेवारी मन्त्रालयले लिनुपर्छ।’

एमालेका अर्का सांसद लाल प्रसाद सावा लिम्बूले सिमेन्ट र डण्डीको मूल्य बढ्नुपर्ने कारण नरहेको बताए। ‘साउनयता कच्चा पदार्थको मूल्य कति बढ्यो? बैंकको ब्याज कति भयो? कामदारलाई थप कति दिनुभयो? सरकारले यो बीचमा कति ट्याक्स बढायो? यी प्रश्नको चित्तबुझ्दो जवाफ नदिइ मूल्य बढाउन पाइँदैन,’ उनले भने।

एमालेकै सांसद लक्ष्मी महतो कोइरीले उद्योगीले उद्योगमन्त्रीको आड पाएर मूल्य बढाउनुका साथै धम्कीपूर्ण भाषा बोलेको बताए। ‘सिमेन्ट उद्योगीमा अहंकार देखियो। उद्योगपतिजी म पनि इँटा भट्टा चलाएर आएको हो। मन्त्रीको आडमा तपाइँहरु यस्तो हुनु भएको हो। तपाइँले पहिला आफ्नो भाषा सुधार्नुस्,’ उनले भने।

अर्की सांसद रेखा यादवले सिमेन्ट र डण्डको भाउ लगातार बढाइँदा किन मौन बसेको भनी उद्योगमन्त्री दामोदर भण्डारीसँग प्रश्न गरिन्। ‘मूल्य वृद्धिमा सरकार किन मौन भयो? बजारमा के सुनिन्छ बने बिचौलियासँग मन्त्रालय बिक्यो,’ उनले भनिन्।

स्टील उद्योगले फागुन २५ यता डण्डीको मूल्य पटक पटक गरेर मिलेमतोमा प्रति किलो १० रुपैयाँ बढाएका छन् भने सिमेन्ट उद्योगीले यसअघि नै प्रति बोरा २५० रुपैयाँ बढाइसकेका छन्। उद्योगीले रातिको समयमा लोडसेडिङ हुन थालेको भन्दै मूल्य अझै बढाउने चेतावनी समितिको बैठकमै दिएका छन्।

सिमेन्ट उद्योगी थापाले रातिको समयमा लोडसेडिङ भएको अवस्थामा सिमेन्टको मूल्य बोरामा ६०/७० रुपैयाँ बढाउने चेतावनी दिए।

‘आजसम्म सिमेन्ट पाउनु भएको थियो। १२ घन्टा लोडसेडिङ हुने भए अब त्यो पनि पाउनु हुँदैन। मूल्य अझै बढ्छ। डिजेल प्रयोग गरेर उद्योग चलाउनुपरेमा बोरामा ६०/७० रुपैयाँ बढ्न सक्छ,’ उनले भने।

जथाभावी मूल्य वृद्धिले निर्माण क्षेत्र थला परेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको भनाइलाई लिएर थापा आक्रोशित मुद्रामा प्रस्तुत भए।

‘हामीले प्रति बोरा १५० रुपैयाँभन्दा पनि बढी घाटा खाएर बेचेका थियौं। सधैंभरि त्यसरी बेच्न सकिंदैन। त्यसैले लागत अनुसार मूल्य बढाएका हौं,’ उनले सिंहलाई लक्षित गर्दै भने, ‘उहाँले सित्तैंमा दिनुस् भन्नु भएको हो? २५/३० वर्ष पहिला जति थियो त्यतिमै चाहियो भन्नु भएको हो कि?’