फलामे डण्डीको भाउ कार्टेलिङ गरी ९ दिनमा तेस्रोपटक वृद्धि, मन्त्री भण्डारी बल्ल अध्ययन गर्दै

अनन्तराज न्यौपाने
२०८१ चैत्र ४ गते १८:१० | Mar 17, 2025
फलामे डण्डीको भाउ कार्टेलिङ गरी ९ दिनमा तेस्रोपटक वृद्धि, मन्त्री भण्डारी बल्ल अध्ययन गर्दै


विराटनगर। स्टील उद्योगीले फलामे छडको मूल्य ९ दिनमा तेस्रो पटक बढाएका छन्। उद्योगीले डण्डीको मूल्य सोमबार प्रति किलो २ रुपैयाँ बढाएका हुन्। डण्डीको मूल्य ९ दिनको अवधिमा प्रति किलो १० रुपैयाँ बढेको छ। उद्योगीले मिलेमतो गरेर भाउ लगातार बढाइरहँदा सरकारले भने यो विषयमा अध्ययन गरिरहेको जवाफ दिएको छ।

Tata
GBIME
NLIC

आइतबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म लगातार १२ घण्टा औद्योगिक फिडरमा विद्युत् कटौती भएपछि उद्योगीले भर्चुअलरुपमा बैठक राखेर किलोमा २ रुपैयाँ मूल्य बढाउने सहमति गरेको स्रोतले बतायो।

बैठकमा केही उद्योगीले यसअघि झैँ किलोमा ४ रुपैयाँ वृद्धि गर्नुपर्ने अड्डी लिएका थिए। तर, धेरै उद्योगीले तेस्रो पटक किलोमा ४ रुपैयाँले वृद्धि गर्दा धेरै विरोध हुने भन्दै प्रस्ताव अस्वीकार गरे। यसपछि किलोमा २ रुपैयाँ वृद्धि गर्ने सहमति भएको स्रोतको भनाइ छ।

उद्योगीले यसअघि आइतबार ४ रुपैयाँ र फागुन २५ गते ४ रुपैयाँ बढाएका थिए।

सोमबारको मूल्य वृद्धिपछि कोशी प्रदेशमा सञ्चालित ४ वटा मेल्टिङ उद्योगमध्ये प्रिमियर स्टिलले फलामे छडको कारखाना मूल्य भ्याटबाहेक किलोको ९० रुपैयाँ बनाएको छ। प्रिमियरले आइतबार मात्रै मूल्य ८४ बाट ८८ पुर्‍याएको थियो।

त्यस्तै आइतबार किलोको ८३ बाट ८७ रुपैयाँ बनाएका हुलास वायर र स्वस्तिक रोलिङले ८९ रुपैयाँ पुर्‍याएका छन्। पशुपति आइरनले डण्डीको भाउ प्रति किलो ८८ रुपैयाँ पुर्‍याएको छ।

हुलास वायरका सञ्चालक पारस गोल्छाले निरन्तर १२ घण्टाको लोडसेडिङले उत्पादन लागत बढेको हुँदा फलामे छडको मूल्य बढाएको बताए।

‘राति उत्पादन गर्दा विद्युत् महसुलमा छुट हुन्छ र लागत सस्तो पर्छ। अब दिउँसो मात्र उत्पादन हुने भएको छ। दिउँसोको महसुल महँगो छ। यसले गर्दा लागत वृद्धि भएर मूल्य बढाउनु परेको हो’, गोल्छाले भने।

उनले रातिको समयमा लोडसेडिङ भइरहे फलामे छडको मूल्य अझै वृद्धि गर्ने चेतावनी दिए।

स्टील उद्योगीले मूल्य बढाउनका लागि फागुन २० गतेदेखि ५ दिन बिक्री ठप्प पारेका थिए। उनीहरुले २२ र २३ गते काठमाडौँमा जम्मा भइ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, उद्योगसचिव कृष्णबहादुर राउत र वाणिज्यसचिव गोविन्दबहादुर कार्कीलाई भेटेका थिए।

उनीहरुले मिलेमतोमा फागुन २५ गते प्रति किलो ४ रुपैयाँका दरले भाउ बढाएर बिक्री खोलेका थिए। उद्योगीले फागुन २६ गते अपराह्न ४ बजेदेखि फेरि बिक्री बन्द गरे। त्यसको ८ दिनपछि फेरि किलोमा ४ रुपैयाँ वृद्धि गरेर चैत ३ गते आइतबार बिक्री खोलेका उद्योगीले आइतबार १२ घण्टा लोडसेडिङ भएको कारण देखाएर २ रुपैयाँ भाउ बढाएका छन्।

विराटनगर हार्डवेयर संघका सचिव देवीप्रसाद पोखरेलले कार्टेलिङ गरेर उद्यगीले मनपरि रुपमा भाउ बढाउन थालेपछि कतिपय सर्वसाधारणले घर निर्माणकव योजना नै स्थगित गर्न थालेको बताए।

‘घर निर्माणको साइत गरेर बसेका ग्राहकले यस्तो मूल्यवृद्धिमा घर बनाउनुभन्दा डेरामै बस्न जाति हो भन्न थालेका छन्। अब बिक्री घट्ने देखिएको छ,’ उनले भने।

मन्त्री भन्छन्- अध्ययन गरिरहेका छौं

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले फलामे छडमा कार्टेलिङ गरेर मूल्य बढाइएको विषयमा अध्ययन गरिरहेको बताए।

‘हामीले नेपाल राष्ट्र बैंकले नियमितरूपमा तयार पार्ने वस्तुको मूल्यसूचीको अध्ययन गरिरहेका छौं। मूल्यसूची अध्ययन गर्दा कार्टेलिङ गरेको प्रमाणित भयो भने कारबाही गर्छौं,’ भण्डारीले भने, ‘वस्तुको मूल्य बजारले तोक्ने हो। अन्य कतैबाट अवैध रूपमा मूल्य निर्धारण गरिन्छ भने सरकारले रोक्छ।’

दामोदर भण्डारी

मन्त्रीले अध्ययन गरिरहेको भनिरहँदा ९ दिनमा तेस्रोपटक भाउ बढाएका उद्योगीले अझै मूल्य वृद्धि गर्ने चेतावनी दिएका छन्।

‘सिमेन्टको कार्टेलिङमा केही गर्नसक्नु भएन, डण्डीको कार्टेलिङमा के गर्नुहुन्छ?’ भन्ने बिजमाण्डूको प्रश्नमा मन्त्री भण्डारीले प्रतिप्रश्न गर्दै भने, ‘सिमेन्टमा हामीले कार्टेलिङ रोकेका हौं। संघलाई नै बोलाएर सहमति गरेका हौं। तपाईंले त्यो सहमति पढ्नु भएन र?’

भण्डारीले यसपालि स्टीले उद्योगीको कार्टेलिङमा जस्तै सिमेन्ट उद्योगले मिलेमतो गरेर भाउ बढाउँदा पनि आँखा चिम्लिएका थिए। सरकारले मौनता साँधेको फाइदा उठाउँदै उद्योगीले सिमेन्टको भाउ प्रति बोरा २५० रुपैयाँ बढाएका थिए। लेखा समितिले सिमेन्टको भाउ घटाउन दिएको निर्देशन समेत भण्डारीले कार्यान्यन गराएका छैनन्।