मनोज र साहायुले देशभित्रै खोजेको त्यो योजना, जसले इभी ब्याट्री व्यवस्थापनमा ल्याउँदैछ ‘रिभोलुसन’

शुक्र गिरी
२०८१ चैत्र ५ गते ०९:१० | Mar 18, 2025
मनोज र साहायुले देशभित्रै खोजेको त्यो योजना, जसले इभी ब्याट्री व्यवस्थापनमा ल्याउँदैछ ‘रिभोलुसन’

काठमाडौं। सडकमा गुडिरहेका विद्युतीय गाडी देख्दा मनोज गोयललाई सन्तोष लाग्छ- क्लिन इनर्जीका लागि उनले खर्चेको समय र मेहनतले यतिखेर रिजल्ट दिइरहेको छ।

Tata
GBIME

क्लिन इनर्जी विकास बैंकका संस्थापक हुनुले मात्र यसप्रति उनको लगाव छ भन्ने होइन, पहिलो लटमा ‘इ-सिक्स’ इभी आउँदा लिए र अहिले पनि चलाइरहेकै छन्। उनी नेपालमा ग्रीन फण्ड भित्र्याउने र त्यसलाई प्रवर्धन गर्न पहिलो व्यक्ति हुन्।

जसरी नेपाली सडकमा इभीको रफ्तार बढेको छ, त्यसले भविष्यमा ब्याट्री व्यवस्थापनको विषय गम्भीर हुनसक्ने ठम्याएका छन् मनोजले। इभीले एकातिर पेट्रोलियममा आधारित आयात कम पारेको छ भने अर्कातिर वायु प्रदूषण नियन्त्रणमा योगदान दिइरहेको छ। तर, ब्याट्री व्यवस्थापन राम्रोसँग हुन सकेन भने इभी ‘क्रान्ति’ले ‘बुमर्‍याङ इफेक्ट’ सिर्जना गर्ने त होइन? 

यस्तै प्रश्नले उनलाई अध्ययन गर्न प्रेरित गर्‍यो। कसरी गर्न सकिन्छ त ब्याट्री व्यवस्थापन? मनोज अब यही प्रश्नको जवाफसहित छोरा साहायुसँगै उत्रिएका छन्। मनोजको चिन्तनमा साहायुको साथले तयार हुँदैछ- ‘इनर्जी बैंक’। 

इनर्जी बैंकको योजना

बाबुछोराको जुगलबन्दीले इनर्जी भण्डारणमा एउटा यस्तो योजना अघि सारेको छ जसले ब्याट्री व्यवस्थापनमा मुलकभित्रै ‘क्रान्ति’ हुनसक्छ। धेरै इभी डिलरहरुले नेपालमा सामना गरिरहेको प्रश्न हो- अहिले गाडी त बिक्री गर्नुहुन्छ, पछि ब्याट्रीलाई के गर्नुहुन्छ? प्रश्न स्वाभाविक पनि हो किनकि नीतिगत रुपमा सरकारले यसबारे केही सोचेकै छैन।

त्यही ‘भ्याकुममा’ मनोज र साहायुले उपाय निकालेका छन्- पुराना ब्याट्रीलाई पुनः प्रयोग गरेर ऊर्जा भण्डारणमा खपत गर्ने,  स्मार्ट ब्याट्री व्यवस्थापन प्रणाली विकास गर्ने। र, विकेन्द्रीकृत ऊर्जा भण्डारणको प्रवर्धन गर्ने। 

कसरी त? उनीहरुको योजनाअनुसार इभीमा प्रयोग भइसकेका ब्याट्रीलाई घर र अफिसमा ऊर्जा भण्डारणका लागि प्रयोगमा ल्याउन सकिने सम्भावना छ।

यसो गर्दा एकातिर ब्याट्री व्यवस्थापनको चिन्ता दुर हुन्छ भने अर्कातिर ब्याट्रीका लागि बाहिरिने रकम जोगिन्छ। यी सबै कामलाई व्यावसायिक हिसाबले अगाडि बढाउने सोच रहेको साहायु बताउँछन्।

अहिले अधिकांश ब्याट्री बिक्रेताको हातबाट उपभोक्ताकहाँ पुगिसकेको छ। अर्थात् गाडी जसको हो उसकै हो ब्याट्री। ‘पछि ती ब्याट्री बाइ-ब्याक गर्ने। त्यसकै आधारमा ब्याट्री बैंक नै तयार गर्ने,’ साहायुले भने। 

गोगोरोबाट सिकेको पाठ

नेबुला इनर्जीले नेपालमा गोगोरोको स्कुटर बिक्री गर्छ। यसरी स्कुटर बिक्री गरिरहँदा ब्याट्री भने बेचिएको हुँदैन। ब्याट्री चाहिँ भाडा तिर्दै चलाउने हो। ब्याट्री स्वाप गर्ने अभ्यास चलिरहेकै छ। ‘यसले के भयो भने स्कुटरको ब्याट्री हामीसँगै रह्यो। अरु ब्रान्डको चाहिँ ग्राहकको हातमा,’ साहायुले सुनाए, ‘हाम्रो योजनाअनुसार अब कम्पनीले ग्राहकसँग ब्याट्री लिनुपर्छ। ब्याट्री बैंक त्यसैका आधारमा खडा गर्नुपर्छ।’ 

उनीहरुको योजनाअनुसार भयो भने कुनै दिन गोगोरोले जसरी ब्याट्री स्वापको सुविधा दिन्छ, अन्य इभीमा पनि लागू हुनसक्छ। त्यसैले उनीहरुले बारम्बार ‘ब्याट्री बैंक’को सन्दर्भ उठाइरहेका हुन्। तर, गोयल बाबुछोराले जे सोचिरहेका छन् त्यो भनेजस्तै सजिलो छ त? पक्कै छैन। 

‘कतिमा खरिद गर्ने र कसरी मिलाउनेजस्ता धेरै चुनौती देखिन्छन्। त्यस्ता ब्याट्री बाई-ब्याक गरेर लजिस्टिक कस्ट मिलाउनपर्ने हुन्छ,’ साहायुले भने, ‘ब्याट्रीलाई अन्य प्रयोजनमा पनि प्रयोग गर्नुपर्ने हुनसक्छ। अन्य ब्याट्रीमा कसरी संकलन गर्ने भन्ने पनि चुनौतीपूर्ण छ।’

गोगोरोले गरेजस्तै सहज व्यवस्थापन ब्याट्री बैंकका लागि नहुने साहायुले बुझेका छन्। आजका दिनमा गोगोरोको बारेमा केही सोच्न र गर्न पर्दैन। किनकि सबै ब्याट्री कम्पनीकै नियन्त्रणमा छ। तर, उनीहरुले जुन योजना बनाएका छन् त्यसले त ठूलो ब्याट्री बैंकको परिकल्पना गर्छ।

भेहिकलका ब्याट्री अरुतिर पनि

कुनै पनि इभीको ब्याट्रीको ‘स्टेट अफ हेल्थ’ ७० प्रतिशतमा झरेपछि ट्रान्सपोर्टेसनका लागि जोखिमपूर्ण मानिन्छ। अनि ब्याट्री गाडीबाट निकाल्नु पर्छ। 

‘७० प्रतिशत इफिसियन्सी भएको ब्याट्रीलाई हामीले दोस्रो लाइफका रुपमा प्रयोग गर्न सक्छौं,’ साहायुले भने। उनका अनुसार ‘कम इन्टेन्सिभ’का क्षेत्रमा यसको प्रयोग हुनसक्छ।

उनी घर वा अफिसमा राखिने इन्भर्टरको ब्याट्रीका रुपमा पनि यसको प्रयोग हुनसक्ने उदाहरण दिन्छन्। ‘त्यसमा यसखाले ब्याट्री प्रयोग गर्न सक्छौं। अर्को भनेको चार्जिङ स्टेसनमा पनि यी ब्याट्रीहरु प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘आजको दिनमा बत्ती जाँदा चार्जिङ स्टेसन बन्द हुने अवस्था छ। यस्तो ब्याट्री फुलचार्ज गरेर स्टोरेज भएको इनर्जीबाट अर्को गाडीमा चार्ज गर्न पनि सकिन्छ।’ 

चार्जिङ स्टेसनको ब्याकअपका रुपमा पनि यसखाले ब्याट्री प्रयोग हुनसक्ने विकल्पमा पनि उनीहरुले काम गरिरहेका छन्। उदाहरणका लागि नेपाल विद्युत प्राधिकरणले अहिले पिक आवर र अफ आवरमा फरक मूल्य कायम गरेको छ।

अफ आवरमा विद्युत चार्ज गर्ने हो भने त्यसबाट पनि मुनाफा निकाल्न सकिने उनको तर्क छ। उदाहरणका लागि अफ आवरमा ७ रुपैयाँमा चार्ज गरिएको ब्याट्री पिक आवरमा महँगोमा बिक्री हुनसक्ने भयो। चार्जिङ स्टेसनले यसबाट राम्रो मुनाफा निकाल्न सक्ने उनले बताए।  

‘यसले बत्ती नभएको अवस्थामा पनि चार्जिङ स्टेसन चलिरहने भयो। यस्तै ब्याकअपका विषयमा हामीले काम गर्ने योजना बनाएका छौं। त्यसका लागि आवश्यक अनुसन्धान भइरहेको छ,’ साहायुले भने।

सुरुवाती दिनमा सोलारबाट इनर्जी स्टोर

अहिले वैकल्पिक ऊर्जामा जलविद्युत र सौर्य ऊर्जाको प्रयोग धेरै छ। स्टोरेज गर्न सक्ने क्षमता नहुँदा सौर्य ऊर्जा खेर जाने अवस्था छ। त्यस्ता ब्याट्रीलाई उपयोगमा ल्याउन सकियो भने खेर जाने ऊर्जा प्रयोगमा आउन सक्छ। 

‘यसका लागि हामीले सीएटीएल र गोगोरो दुवैसँग काम गरिरहेका छौं। गोगोरो २०१४ मा सुरु गरेको कम्पनी हो उसको ब्याट्री पहिलो लाइफ साइकल सकिएर बल्ल दोस्रो लाइफका रुपमा प्रयोग हुन थालेका छन्,’ साहायुले भने, ‘ताइवानमा इभीमा प्रयोग भएका ब्याट्री स्ट्रिट लाइट र ट्राफिक लाइटका लागि प्रयोग गरिएका छन्। यसमा सरकारले ठूलो सहयोग गरेको छ।’ 

उनका अनुसार सीएटीएलले सोलार आयोजनामा काम गर्दै आइरहेको छ। अस्ट्रेलियाको मिडल इस्टमा सोलार प्यानलको ठूलो फार्म छ। त्यहाँ सहकार्य गरेर इनर्जी स्टोरेजको ठूलो स्रोत बनाएको छ। ‘त्यस्तै हामी पनि नेपालमा सुरुमा सोलार प्यानल भएको स्थानमा काम गर्ने छौं। हाम्रो पहिलो सुरुवात सोलारको क्षेत्रमा हुन्छ,’ उनले भने, ‘त्यहाँ १ मेगावाटसम्मको रुफटप प्यानल राखेर इनर्जी उत्पादन गरिरहेका छन्। हामी पनि त्यस्तोबाट सुरु गर्छौं।’ 

उनीहरुले अहिले ग्राहक र कम्पनीसँगको सहकार्यमा कसरी ब्याट्री खरिद गर्ने भन्ने वर्कआउट गरिरहेका छन्। नेपालमा अहिले रहेका गाडीको ब्याट्रीलाई नै इनर्जी स्टोरेजको आधार बनाएका छन् उनीहरुले।  

नेपालका अधिकांश जलविद्युत आयोजना रन अफ द रिभरमा आधारित छन्। यसखाले आयोजनाबाट वर्षामा धेरै उत्पादन खेर गइरहेको हुन्छ। त्यतिखेर खेर जाने इनर्जी ब्याट्रीमा चार्ज गरेर स्टोरेज गर्न सके पछि राम्रो रेटमा बिक्री गर्न सकिने देखिन्छ।

‘त्यतिखेर ब्याट्री चार्ज गरेर स्टोरेजका रुपमा राख्दा सेल्फ डिस्चार्ज १/२ प्रतिशत मात्रै हुने रहेछ,’ उनले भने। यसरी स्टोर गरेको इनर्जी ब्याट्रीबाट घट्दैन। तर, त्यसका लागि ब्याट्री कुन स्टेजमा छ? कतिसम्म थेग्न सक्छ? भन्ने परीक्षण गरिएको हुनुपर्छ।

वर्षाको बिजुली स्टोर गरेर हिउँदमा बिक्री गर्ने योजना सुन्न जति सजिलो छ लागू गर्न उत्तिकै कठिन। किनकि यसका लागि अर्बौं रुपैयाँको योजना बन्छ, व्यावसायिक हिसालले जाने हो भने। ‘त्यसका लागि हामी तयार छौं। तर, हामी एक्लैले गरेर केही हुँदैन। यसमा सरकार र सबै क्षेत्रको सहकार्य आवश्यक छ। सीमित हो भनेमात्र एक्लैले सक्छौं,’ उनले भने।

नेपालमा इभीको संख्या बढ्दो क्रममा छ। त्यसपछि थुप्रिने ब्याट्रीलाई नै प्रयोगमा ल्याउने रणनीति दीर्घकालीन योजनाबाट मात्रै पूरा हुनसक्छ। अझ भन्ने हो भने पहिलो लाइफ साइकल सकिएका ब्याट्री थुप्रिदै समस्या निम्तिँदा त्यससँग भिड्ने योजनाका रुपमा यसलाई लिन सकिन्छ।

ठूलो लागत भएकाले यसका लागि ग्रीन फाइनान्सिङ स्रोत हुनसक्छ। क्लिन इनर्जीको क्षेत्रमा लगानी गर्न विभिन्न बैंकहरुले ग्रीन फण्ड ल्याएका छन्। तर, त्यसलाई कस्तो योजनामा लगानी गर्ने भन्ने छैन। ग्रीन फण्ड गाडी किन्न मात्रै लगानी भएको छ। ‘अब ब्याट्री व्यवस्थापनको पाटोमा पनि लगानी गर्नुपर्छ,’ उनले भने।

पहिले नै थियो सोच

साहायुका अनुसार २०१९ मा नै सीएटीएलसँग सम्झौता भएको थियो यसबारे। त्यसभन्दा अगाडि लोडसेडिङले पनि धेरै सिकाएको छ नेपालीलाई। ‘त्यतिबेला इभी नेपाल आउने लहर थिएन। अब ब्याट्री रिपेयर गर्ने व्यवसाय सस्टेन गर्ने वातावरण बन्दै गइरहेको छ,’ साहायुले भने। 

नेपालमा इभीमा आधारित कमर्सियल गाडी बढिरहेका छन्। तीनको ब्याट्री चाँडो सकिन्छ। त्यसैले ब्याट्री रिपेयरिङ क्षमता नेपालमा हुनु पर्नेमा उनको जोड छ। उनीहरुले अहिले  सीएटीएलसँग टाइअप गरेर ब्याट्री मर्मतको काम नेपालमा नै गरिरहेका छन्।

‘सीएटीएल ब्याट्रीको मार्केट लिडर हो। अहिले नेपालमा आउने प्राय सबै गाडीहरुमा यही कम्पनीले निर्माण गरेका ब्याट्री प्रयोग भएका छन्। जसले गर्दा हामीलाई मर्मत र व्यवस्थापन गर्न सहज हुन्छ,’ उनले भने। 

उनीहरुको योजना अनसार प्राविधिक टिम तयार पार्न चीनमा रहेको सीएटीएलको हेड अफिसमा ३ महिना लामो तालिम दिएर जनशक्ति तयार पारिएको छ। त्यही टिमले गत असोजमा बाढीमा डुबेर बिग्रिएका धेरै गाडीका ब्याट्री मर्मत गरेको थियो। 

उनीहरुको टिममा अहिले ६ जना त इन्जिनियर नै छन्। अरु थप्दै लैजाने रणनीति बनाएका छन्।

सीतापाइलामा सर्भिस सेन्टर

उनीहरुले बाफलमा ब्याट्री रिपेयरिङ र सर्भिस सेन्टर खडा गरेका छन्। ‘हामीले स्वतन्त्ररुपमा ब्याट्री मर्मत गर्ने योजना अनुरुप काम गरिरहेका छौं। यसमा सीएटीएलको स्ट्यान्डर्ड र रिक्वायरमेन्ट अनुसार इक्वीपमेन्ट, टुल्स, सेफ्टीको सामानहरु सेटअप भइरहेको छ,’ साहायुले भने, ‘किनभने हाइ भोल्टेज ब्याट्रीमा काम गर्दा ‘प्रिकसन’ अपनाउन जरुरी छ।’

उनका अनुसार कम्पनीले सुरुवाती दिनमा जनशक्ति तयार पार्न तालिमका लागि मात्र एक करोड रुपैयाँ लगानी गरेको छ। सर्भिस सेन्टर र इक्विपमेन्टमा अतिरिक्त लगानी। 

अहिले उनीहरुको कम्पनीले ब्याट्री रिपेयरिङ, सर्भिसिङ, स्पेयर पार्ट्स र परीक्षणजस्ता सेवा दिइरहेको छ। सीएटीएलले अनुमति दिएमा ब्याट्री सेल नै परिवर्तन गर्न सकिने उनको दाबी छ। ‘कुनै कम्पनी र बिक्रेताबीच समझदारी भएपछि मात्रै हामी यहाँ त्यसको काम गर्न सक्छौं,’ उनले भने, ‘नेपालमा उपलब्ध सबै ब्रान्डसँग सहकार्य गर्न सक्छौं।’

उनीहरुको कम्पनीले अहिले सीएटीएलको ब्याट्री बिक्री पनि गरिरहेको छ जुन कमर्सियल गाडीमा प्रयोग हुन्छ। यसखाले ब्याट्री ४० किलोवाट आवर क्षमताको छ जसलाई १२ देखि १४ लाख पर्छ।

गाडीभन्दा ब्याट्री ल्याउँदा धेरैखाले जोखिम रहेको उनले बताए।

अहिले बजारमा धेरै ब्रान्ड छन् जसमध्ये कतिको त न्युनतम पूर्वाधार समेत छैन। ठूला घराना र ब्रान्डले मात्रै सर्भिस सेन्टरमा लगानी गरेका छन्। ‘अहिले नेपालमा धेरै कम्पनीका इभी आएका छन्। उनीहरुको ब्याट्रीमा केही समस्या आएमा हामीले मर्मत गरिदिन सक्छौं,’ उनले भने।