
काठमाडौं। चुक्ता पुँजी २.५ अर्ब रुपैयाँ पुर्याउन एनएलजी इन्स्योरेन्सले मंसिर ११ देखि पुस १ गतेसम्म हकप्रद सेयर निष्कासन गर्यो। कम्पनीले हाल कायम पुँजीको ६२.५५ प्रतिशतले हुन आउने ९६ करोड ३१ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेकामा अहिलेसम्म बिक्री हुन सकेको छैन।
लगानीकर्ताले हकप्रद सेयर खरिदमा चासो नदेखाएपछि इन्स्योरेन्सले लिलामीमा राखेको छ। कम्पनीले सर्वसाधारणतर्फ २ लाख ९० हजार ५५५.९१ कित्ता र संस्थापकतर्फ २९ हजार ९२७.३१ कित्ता हकप्रद सेयर आइतबार लिलामीमा राखेको हो।
हकप्रद सेयर नबिकेको एनएलजी इन्स्योरेन्सको मात्र होइन। अरु कम्पनीको पनि हकप्रद सेयर बिक्न छोडेको छ। त्यही कारण कम्पनीहरुले हकप्रद सेयर भर्नका लागि म्याद थपेकोथप्यै छन्।
पुस २३ गतेदेखि माघ १४ गतेसम्म १ अर्ब ८५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन खुला गरेको ङादी ग्रुप पावरले १५ दिन अवधि थपेको छ। तर, सोमबार बेलुकीसम्म १ अर्ब १६ करोड ७० लाख रुपैयाँ बराबरका लागि मात्रै आवेदन परेको छ।
म्याद थप्दा समेत हकप्रद सेयर खरिदमा लगानीकर्ताको चासो देखिंदैन। हकप्रद सेयर बिकाउन कम्पनीहरुलाई सकस पर्न थालेको छ। सर्वसाधारण लगानीकर्ता मात्र होइन, संस्थापक सेयरधनीले नै हकप्रद सेयर किन्न अरुचि देखाएका छन्। त्यही कारण लिलामीमा राख्नुपर्ने अवस्था आएको हो।
लिबर्टी इनर्जीले मंसिर १६ देखि पुस ७ गतेसम्म हकप्रद सेयर निष्कासन गरेकामा तोकिएको अवधिमा बिक्री नभएपछि लिलाममार्फत बेच्यो।
साउन २७ देखि भदौ १६ गतेसम्म हकप्रद सेयर निष्कासन खुलाएको आँखुखोला जलविद्युत कम्पनी र साउन २४ देखि भदौ १२ गतेसम्म निष्कासन गरेको हिमालयन ऊर्जा विकास कम्पनीले म्याद थप गर्दा पनि बिक्री नभएपछि अन्तिममा लिलाममार्फत बेचेका थिए।
लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले मंसिर १२ देखि पुस २ गतेसम्म हकप्रद सेयर निष्कासन गरेकामा बिक्री हुन नसकेपछि लिलामीमा राखेको छ। कम्पनीले ४ लाख ९२ हजार कित्ता सेयरमा आवेदन दिन बोलपत्र आह्वान गरेको छ।
‘कम्पनीप्रति संस्थागत सेयरधनीकै अविश्वासका कारण लगानीकर्ताले थप पैसा हाल्न नचाहेका हुन सक्छन्। अर्को भनेको अहिले उनीहरुसँग क्यास नभएर पनि सब्स्क्राइब गरेनन्,’ एक मर्चेन्ट बैंकरले भने।
हकप्रद सेयर कम्पनीको पुँजी जुटाउने माध्यम हो। कम्पनीहरुले हकप्रद सेयर जारी गरेर संकलन गरेको पुँजी लगानी गर्छन्। सेयरधनीलाई प्रतिफल दिन मुनाफा बढाउनुपर्छ। तर, अहिले आर्थिक शिथिलताका कारण व्यापार बढाउन त्यति सहज देखिंदैन। राम्रा कम्पनीकै व्यापार खस्किएको अवस्था छ।
सेयरधनीले पाउने प्रतिफल घट्दै गएको छ। कतिपय कम्पनीहरुले घाटा थेग्न नसक्ने भएपछि प्रतिफल नहेरी ऋण तिर्नकै लागि हकप्रदबाट पुँजी जुटाइरहेका छन्।

त्यसो त कतिपय लगानीकर्ताले जानकारी नभएर पनि हकप्रद सेयर नकिनेका हुन्। आइपीओ भर्ने तर सेयर बजारबारे बेखबर रहने लगानीकर्ताका कारण पनि हकप्रद सेयर बिक्रीका लागि म्याद थपका साथै लिलामीमा जानुपर्ने मर्चेन्ट बैंकरहरु बताउँछन्।
एनएमबि क्यापिटलका सीइओ दीपेशकुमार वैद्य आइपीओ भर्ने लगानीकर्तामध्ये कतिपयले बेवास्ता गर्ने गरेका कारण हकप्रद सेयर सबै बिक्री हुन नसकेको बताउँछन्। ‘आइपीओ भर्ने तयार सेयर बजारबारे अपडेट नहुने लगानीकर्ताहरुको संख्या धेरै छ। कतिपय त्यस्ता लगानीकर्तालाई हकप्रद सेयर आएको थाहा नै हुँदैन। त्यसैले सब्स्क्राइब कम भएको हुनुपर्छ,’ उनले भने।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार ‘मेरो सेयर’ खाता खोल्नेको संख्या ५६ लाख २३ हजार रहेकामा सक्रिय खाता संख्या ३७ लाख ९४ हजार मात्रै छ। यो तथ्यांकले पनि वैद्यको भनाइलाई साथ दिन्छ।
चालु आर्थिक वर्ष हकप्रद सेयर निष्कासनमा ल्याएका अधिकांश कम्पनीले लिलामीको सूचना ननिकाली बिकाउन सकेका छैनन्। यो आर्थिक वर्ष अहिलेसम्म ७ कम्पनीले हकप्रद सेयर निष्कासन गरेका छन्। १९ कम्पनी हकप्रद सेयर पाइपलाइनमा छ। नेको इन्स्योरेन्सले फागुन ८ गतेदखि हकप्रद सेयर निष्कासन गर्दैछ।