
काठमाडौं। एकपछि अर्को वित्तीय सूचक बिग्रिंदा केही विकास बैंक र फाइनान्स कम्पनी नाजुक अवस्थामा पुगेका छन्। खराब कर्जा अस्वाभाविक बढ्दा कम्पनीहरु नोक्सानीमा गएका छन्।
चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा केही विकास बैंंकको खराब कर्जा ४३.६९ प्रतिशतसम्म पुगेको छ। पुँजीकोष ऋणात्मक छ। प्रति सेयर आम्दानी र प्रति सेयर नेटवर्थ लगायतका सूचकहरु कमजोर बनेका छन्।
लामो समय अर्थतन्त्रमा कायम शिथिलताले बैंक तथा वित्तीय संस्थाहरुको व्यापार खुम्चिएको छ। ऋण लगानी गरेको रकम असुली नहुँदा निष्कृय कर्जा अस्वाभाविक वृद्धि भएको छ। जसका कारण प्रोभिजनिङ बढेको छ।
फाइनान्सको खराब कर्जा ४१ प्रतिशतसम्म पुगेको छ। चालु आर्थिक वर्ष पुससम्मको विवरण अनुसार नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा ४३.६९ प्रतिशत पुगेको छ। खराब कर्जा जानकी फाइनान्सको ४१ र पोखरा फाइनान्सको ३३.३४ प्रतिशत पुगेको छ।
चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म केही विकास बैंक र फाइनान्सको वित्तीय अवस्था
कम्पनी | खुद नाफा रु हजारमा | खराब कर्जा % | पुँजी कोष % | प्रति सेयर आम्दानी रुपैयाँमा | प्रति सेयर नेटवर्थ रुपैयाँमा | सेयर मूल्य रुपैयाँमा (बुधबार) |
सप्तकोशी डेभलपमेन्ट बैंक | -२९९१७ | ११.४२ | १०.६३ | -३.५९ | – | १३६५ |
नारायणी डेभलपमेन्ट बैंक | -५२१३ | ४३.६९ | १.१९ | -१.९९ | २०.९६ | ११२२ |
एक्सल डेभलपमेन्ट बैंक | -९०५३५ | ८.५६ | १२.४७ | -१४.४९ | १५७.८४ | ५९६ |
सिन्धु विकास बैंक | ४८७०४ | ९.०६ | ८.२२ | १७.४७ | ७३.६१ | १०७२ |
जानकी फाइनान्स | -२४८२४७ | ४१ | -०.८५ | -७१.९१ | २१.९४ | ५०९ |
पोखरा फाइनान्स | -६५००३१ | ३३.४४ | -३.१७ | -५८.९३ | ५३.९७ | ३९८ |
नेपाल फाइनान्स | २०५०४ | १०.४६ | ३२.४५ | ५.६२ | १३७.०७ | ७८१ |
सेन्ट्रल फाइनान्स | ३४९० | ११.९४ | १७.४५ | ०.७४ | १३३.४९ | ५३८ |
समृद्धि फाइनान्स | -६२८२२ | १९.३४ | १२.१७ | -७.६७ | – | ५८० |
खराब कर्जा ४० प्रतिशत पुगेको कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले गत महिना समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन नियन्त्रणमा लिएको थियो। वित्तीय अवस्था खराब भएपछि केही विकास बैंक र फाइनान्समाथि पनि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गरेको छ।