
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ता भएको छ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरेको हो।
गत बिहिबार प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा आइतबार अभियोगपत्र दायर भएको हो। रवि, सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनका दाजु देवेन्द्रबाबु राई, कुमार रम्तेल, पूर्वडीआइजी छविलाल जोशी, सविना आले मगर लगायत ३९ जनालाई प्रतिवादी बनाइएको छ।
उनीहरुविरुद्ध २ अर्ब ४१ करोड ३४ लाख ९१ हजार ७६९ रुपैयाँ विगो माग गरिएको छ। त्यसमध्ये १ अर्ब १९ करोड ४९ लाख २१ हजार रुपैयाँको बिगो दाबी जाहेरीकर्ताका तर्फको हो। बाँकी विगो भने विभिन्न कम्पनीका सञ्चालकले लगेको रकम बापतको हो। सहकारीको रकम विभिन्न १४ वटा कम्पनीका ७ जना सञ्चालकले लगेको देखिएको छ।
सहकारी ठगीसँगै संगठित अपराधमा समेत मुद्दा दायर गरिएको छ। रवि र जीबीको हकमा जनही ५ करोड ८ लाख ७९ हजार ६३३ रुपैयाँ विगो माग गरिएको छ।
रवि र छविलालबाहेक अहिलेसम्म प्रहरीले स्वर्णलक्ष्मी सहकारी प्रकरणमा अन्य दुईजनालाई पक्राउ गरेको छ। गत कात्तिक २० गते सहकारीका लेखा सुपरिवेक्षण सदस्य सुनिता नेवालाई प्रहरीले पक्राउ गरेको थियो। यस्तै रम्तेल थुनामा छन्।
सहकारीले रकम ठगेको भन्दै ६९० जना बचतकर्ताको उजुरी परेको थियो।
रविसहित ४४ जनाविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगीमा पुस ७ गते १ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको थियो।
कास्कीमा उनीहरुविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर चलिरहेको छ। यो मुद्दामा थुनछेक बहसजारी छ।
रविविरुद्ध चितवनको सहारा सहकारी, रुपन्देहीको सुप्रिम सहकारी र पर्साको सानोपाइला सहकारीमा पनि अनुसन्धान भइरहेको छ।