
काठमाडौं। बिहीबार बिहान १०:११ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको चार्टर्ड जहाज अवतरण गर्यो। जहाजमा छेङ्दुबाट आएका १३९ चिनियाँ यात्रु थिए। जहाज पोखराबाट छेङ्दु गएन।
जहाज पोखराबाट काठमाडौं आउने तालिका थियो। गण्डकी प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आग्रहमा सिचुवान एयरलाइन्स पोखरा-काठमाडौं प्रवर्धनात्मक उडान गर्न तयार भएको थियो।
गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्याल आफैं सिचुवान एयरलाइन्सको जहाजमा काठमाडौं आउन विमानस्थल पुगेका थिए। विभिन्न क्षेत्रका व्यवसायी पनि उडानका लागि तयार थिए।
१२६ यात्रुलाई बोर्डिङ गराइयो। प्रवर्धनात्मक उडानका लागि सबै उत्साहित थिए। कारण, पोखराबाट काठमाडौंमा न्यारोबडी जहाज पहिलोपटक उड्दै थियो, त्यसमा पनि पूर्ण क्षमतामा।
जहाज धावनमार्गमा पुगेसँगै पूर्वतर्फ उडानका लागि तयार भयो। २५०० मिटर दूरीको धावन मार्ग रहेको विमानस्थलमा सिचुवानको जहाजले बिहान ११:३२ बजे धावनमार्गको आधा भागबाटै टेकअफ गर्यो। यो समय जहाजले अधिकतम १५ हजार फिटको उचाई लियो।
दुई वर्ष अगाडि सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा विमानस्थलबाट न्यारोबडी जहाजले पहिलोपटक पूर्ण क्षमतामा उडान गरेको हो।
‘हाम्रो टेकअफ प्रोसिड्योर पश्चिम-पूर्व हो। धावनमार्गको वानटुबाट उडान हुने र थ्री जेरोबाट अवतरण हुने प्रोसिड्योर छ,’ विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले भनिन्, ‘स्टाण्डर्ड इन्स्ट्रुमेन्ट डिपार्चर प्रोसिड्योर अनुसार यहाँबाट उडान गर्दा कतै राउण्ड लगाउनुपर्दैन। तर दुई वर्षदेखि जहाजले पूर्ण क्षमतामा उडान नगरेका कारण विमानस्थलमा प्राविधिक त्रुटी भएको भनेर आलोचना गरिंदै आएको थियो। सिचुवान एयरलाइन्सले १२६ यात्रुसहित उडान गरेर पोखरा विमानस्थल प्राविधिकरुपमा ठिक छ भन्ने कुरा पुष्टि गरेको छ।’
उनका अनुसार पोखरा विमानस्थल प्राविधिकरुपमा अपूर्ण रहेको भए जहाजले पूर्ण क्षमतामा उडान गर्न सक्ने थिएन, लोडका कारण टेकअफमा समस्या हुन्थ्यो।

अधिकतम ४५० नट्स क्रुजर स्पिडमा रहेको कम्पनीको ए ३१९ सिरिजको जहाज २८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो। यसले पोखरामा प्राविधिकरुपमा नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडानको ढोका खोलिदिएको छ।
धावनमार्ग प्राविधिकरुपमा पर्फेक्ट
न्यारोबडी जहाज पोखराबाट पूर्ण क्षमतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी सबैभन्दा हर्षित देखिए।
विमानस्थल प्राविधिकरुपमा उपयुक्त छैन भनेर आलोचना भइरहेको तथा सञ्चालनमा आएदेखि नै नियमित व्यावसायिक उडान हुन नसकिरहेको अवस्थामा सिचुवान एयरलाइन्सको पोखरा-काठमाडौं उडानबाट अधिकारी उत्साही देखिनु स्वाभाविक नै थियो।
उनले विमानस्थलमा गण्डकी प्रदेशमा पर्यटनमन्त्री बस्याल र व्यवसायीका सामुन्ने पोखरा विमानस्थलबाट धेरै लोडमा उडान हुन सक्दैन भन्ने हल्ला गलत सावित भएको बताए। ‘अब हल्लाको व्यवसाय बन्द भयो। पोखराबाट लोडसहित अन्तर्राष्ट्रिय उडान सम्भव छ भन्ने कुरा सिचुवान एयरले देखाइदिएको छ,’ उनले भने।
पोखरा विमानस्थल संचालनमा आएको दुई वर्ष भयो। तर यहाँ अहिलेसम्म सीमित संख्यामा चार्टर्ड उडान मात्र भएको छ। कतिपयले धावनमार्ग धस्सिएको लगायत कैफियत देखाउँदै आएका छन्। अधिकारीले ती सबै कैफियत भ्रमपूर्ण भएको पुष्टि भएको बताए।

‘विमानस्थलमा धावनमार्गको पश्चिम क्षेत्र रहेर एयर रुट म्यानेज्मेन्ट गरिएको थियो। त्यही लेवलमा धावनमार्ग बनाइयो। सोही अनुसार फ्लाइट प्रोसिड्योर बनाइ एरो थाइमार्फत क्यालिब्रेसन गरियो,’ उनले भने, ‘तर कतिपयले वास्तविकता बुझ्दै नबुझी विमानस्थलको धावनमार्गबारे प्रश्न उठाए। जबकि अहिलेसम्म चाटर्ड उडान गरेका कुनै वायुसेवाले पनि धावनमार्गबारे कम्प्लेन गरेकै छैनन्। कतिपयले त जहाजले यात्रुको लोडसहित टेकअफ लिन सक्दैनसम्म भने। आज आएर त्यो सबै गलत सावित भएको छ।’
अधिकारीले बोइङ ७५७ सिरिजको न्यारोबडी उडान अवतरण मिल्ने गरी नै विमानस्थल बनाइएको भन्दै सिचुवान एयरलाइन्सको जहाजले फुल क्यापासिटीमा धावनमार्गको १५०० मिटरबाटै टेकअफ लिएर त्यसलाई प्रमाणित गरेको बताए।
चीनको एक्जिम बैंकसँग ५ प्रतिशत ब्याजदरमा २२ अर्ब रुपैयाँ ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको हो। विमानस्थल निर्माण गर्ने पनि चिनियाँ कम्पनी नै हो, सीएएमसी।
त्रिभुवन विमानस्थलमा १० वर्ष अगाडि आन्तरिकतर्फ यात्रुको संख्या जति थियो, अहिले पोखरामा आन्तरिक उडानमा यात्रुको संख्या त्यति नै अर्थात वार्षिक ९ लाख पुगिसकेको छ।

९ लाखमध्ये ५० प्रतिशत विदेशी यात्रु हुन्। पोखरामा नियमित व्यावसायिक उडान गरेको खण्डमा विदेशी यात्रुले काठमाडौं धाइरहनुपर्दैन। पोखरामा सिधा उडानले त्यहाँ विदेशी पर्यटकको संख्या बढाउन बल पुग्ने पर्यटन व्यवसायीहरु बताउँछन्।