कम्पनीले बनाए लगानीकर्ताको हात सधैं रित्तो, बिजनेस कमजोर कि व्यवस्थापकीय अक्षमता?

सुनिल कुँवर
२०८१ पुष २ गते ०९:०४ | Dec 17, 2024
कम्पनीले बनाए लगानीकर्ताको हात सधैं रित्तो, बिजनेस कमजोर कि व्यवस्थापकीय अक्षमता?


काठमाडौं। सार्वजनिक सेयर बिक्री गरेर पुँजी संकलन गर्ने तर वर्षौंसम्म लगानीकर्तालाई लाभांश दिन नसक्ने कम्पनीहरूको संख्या बढ्दै जाँदा प्रमुख कार्यकारी अधिकृतहरूको क्षमतामाथि प्रश्न उठ्न थालेको छ। 

Tata
GBIME
NLIC

एक वर्ष होइन, दुई वर्ष होइन, लामो समयदेखि सेयरधनीको अपेक्षा पूरा नगर्ने तर आफ्नो तलब र भत्ता वृद्धि गरेर कम्पनीको समग्र खर्च बढाउने प्रवृत्ति व्यवस्थापनमा देखिन थालेको छ।  

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १७.२२ प्रतिशत कम्पनीहरूले अहिलेसम्म लाभांश वितरण गर्न सकेका छैनन्। ज-जसले दिएका छन् तीनले पनि सामान्य बचतको ब्याज जति पनि दिन सकेका छैनन्।

फाइनान्सका आधारभूत सिद्धान्तअनुसार लगानीकर्ताको प्रतिफललाई प्राथमिकता दिनुपर्नेमा व्यवस्थापन आफ्नै सुविधा र खर्चमै केन्द्रित हुँदा सेयरधनी लाभांशविहीन हुन पुगेका हुन्।

व्यवस्थापनले वित्तीय स्रोतलाई अनावश्यक खर्चतर्फ केन्द्रित गर्दा ती कम्पनीको लाभांश वितरणको सम्भावना झन् टाढिएको छ। तलब, बोनस र अन्य खर्च बढाउने तर नगद प्रवाह व्यवस्थित नगर्ने प्रवृत्तिले दीर्घकालीन रूपमा कम्पनीको बजार मूल्यमा असर पुर्‍याउने जोखिम छ।

२०७९ चैतसम्म नेप्सेमा सूचीकृत भएका तर अहिलेसम्म लाभांश दिन नसकेका कम्पनी ४६ वटा छन्। वर्षौंअघि सूचीकृत भएर जम्मा एक पटक मात्र लाभांश दिने कम्पनी २ वटा छन्। चालु आर्थिक वर्ष असोजसम्म नेप्सेमा २६७ कम्पनी सूचीकृत छन्।

लाभांश वितरण गर्न नसक्ने कम्पनीमध्ये अधिकांश हाइड्रोपावर क्षेत्रका हुन्। ४० वटा हाइड्रोपावरले हालसम्म सेयरधनीलाई लाभांश नदिएर निराश तुल्याएका छन्।

नेप्सेमा सूचीकृत हाइड्रोपावरको संख्या ९१ छ। पछिल्लो दुई वर्षमा थपिएका हाइड्रोपावर कम्पनीलाई समेत गणना गर्ने हो भने लगानीकर्ताको हात रित्तो पार्ने कम्पनीको संख्या अझ धेरै हुन्छ।

सात वर्षअघि नेप्सेमा सूचीकृत भएका खानीखोला, दिव्यश्वरी र हिमालयन पावर पार्टनरले लगानीकर्तालाई अहिलेसम्म एक सुका पनि दिएका छैनन्। त्यसपछि सूचीकृत हाइड्रो कम्पनीले त लाभांश दिने कुरै भएन।

८ वर्षअघि सूचीकृत भएको वरुण हाइड्रोपावरले जम्मा दुई वर्ष प्रतिफल दियो, त्यो पनि जम्मा ५/५ प्रतिशत बोनस सेयर।

२०६० असारमा नेप्सेमा सूचीकृत भएको नेसनल हाइड्रोपावरले अहिलेसम्म जम्मा एक पटक अर्थात २०७७/७८ मा मात्र लाभांश बाँडेको छ।

छ्याङदी हाइड्रोपावरले नेप्सेमा सूचीकृत भएपछि २०७५/७६ र २०७६/७७ मा ५/५ प्रतिशत बोनस सेयर वितरण गर्‍यो। त्यसयता कम्पनीले सेयरधनीलाई लाभांश दिन सकेको छैन।

आयोजना सुरु नगर्दै आइपीओ निष्कासन गर्ने र विद्युत उत्पादन गरेर हुने आम्दानीको रकम ऋण भुक्तानीमै खर्च गर्नुपर्ने स्थितिले अधिकांश कम्पनीले प्रतिफल दिन नसकेका हुन्। लाभांश बाँड्न नसकेका हाइड्रोपावरमध्ये कतिपयले आयोजना पूरा गर्नै लामो समय लगाएका छन्।

लगानीकर्तालाई प्रतिफल दिन नसक्ने कम्पनीमा विकास बैंक, फाइनान्स, लघुवित्त, बीमा लगायत कम्पनी छन्।

ग्रीन डेभलपमेन्ट बैंकका सीइओ हरिबहादुर बुढाथोकी कम्पनीहरुको निष्कृय कर्जा वृद्धि र व्यवसाय खुम्चिएकाले प्रतिफल घटेको बताउँछन्।

‘बैंक तथा वित्तीय संस्थाहरुको एनपीएमा ठूलो वृद्धि भएको छ। निष्कृय कर्जा बढ्नु नै प्रतिफल वितरण गर्न नसक्नुको कारण हो,’ उनले भने, ‘लाभांश वितरण गर्न पहिलो कुरा वितरणयोग्य नाफा हुनुपर्छ। व्यवसाय बढ्न नसकेपछि वितरणयोग्य मुनाफा बढ्ने कुरा भएन।’

ग्रीन डेभलपमेन्ट बैंक प्रतिफल वितरणमा कमजोर देखिएको छ। पब्लिक कम्पनीमा सूचीकृत भएको ८ वर्ष भएपनि बैंकले दुई पटक मात्रै लाभांश वितरण गरेको छ।

नारायणी डेभलपमेन्ट बैंकले सेयरधनीलाई अहिलेसम्म निराश तुल्याउँदै आएको छ। २०६४ मा नेप्सेमा सूचीकृत यो कम्पनी लाभांश बाँड्न नसकेका आधारमा खराब देखिएको छ।

सप्तकोशी डेभलपमेन्ट बैंकले २०७५/७६ मा ६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। त्यसपछि बैंकका सेयरधनीले प्रतिफल पाएका छैनन्।

कर्णाली डेभलपमेन्ट बैंकले २०७०/७१ देखि लगातार तीन वर्ष सेयरधनीलाई मुनाफा वितरण गरेकामा त्यसयता प्रतिफल दिन सकेको छैन।

बैंकले आर्थिक वर्ष २०७०/७१ मा २५ प्रतिशत बोनस सेयर, २०७१/७२ मा ११ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। त्यस्तै, २०७२/७३ मा ८ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

नेपाल राष्ट्र बैंकले बैंकको वित्तीय अवस्था बिग्रिएको भन्दै मंसिर पहिलो साता कारबाहीस्वरुप ६ महिनाका लागि सम्पूर्ण वित्तीय कारोबार बन्द गराएको छ। तर, बैंकको सेयर मूल्य बढ्ने क्रम रोकिएको छैन।

सार्वजनिक निष्कासनमा गएको १३ वर्षपछि कर्पोरेट डेभलपमेन्ट बैंकले २०७८/७९ मा सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। त्यसयता बैंकले लाभांश दिएको छैन।

नेप्सेमा २०७८ माघसम्म सूचीकृत भइ सेयरधनीलाई निराश तुल्याएका कम्पनी

नेप्सेमा सूचीकृत फाइनान्सको संख्या १५ रहेकामा ४ वटाले हालसम्म लाभांश दिएका छैनन्। नेपाल फाइनान्सले एकपटक मात्रै लगानीकर्तालाई प्रतिफल वितरण गरेको छ।

कम्पनीले २०६७/६८ मा २२ प्रतिशत बोनस सेयर वितरण गरेकामा त्यसयता लगानीकर्तालाई खाली हात राख्दै आएको छ। यो त्यही कम्पनी हो जसको सेयर मूल्यमा चार महिनाअघि प्रति कित्ता २६१४ रुपैयाँसम्म पुर्‍याइएको थियो।

बेस्ट फाइनान्सले २०६७/६८ मा २० प्रतिशत बोनस सेयर वितरण गरेयता लगानीकर्तालाई प्रतिफल दिएको छैन।

विशाल बजार र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले लाभांशको अनुभव गर्न पाएका छैनन्। यी दुई कम्पनीले एक दशकदेखि लेखा परीक्षण नै गराएका छैनन्। कम्पनीको सूचीकृत सेयर संख्या न्यून भएका कारण मूल्य भने उचालेर महँगो बनाइएको छ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुली कम्पनीहरुको व्यवसाय र वित्तीय सुशासनको असर प्रतिफलमा देखिने बताउँछन्। ‘आम्दानी गरिरहेका छन् तर लामो समयदेखि लेखापरीक्षण नगराएका कारण कतिपयले लाभांश वितरण गर्न पाएनन्,’ उनले भने, ‘कतिपय कम्पनीहरुले व्यापार बढाउन नसकेपछि लाभांश वितरण गर्न नसकेका हुन्।’

कतिपय जानकारहरु भने सूचीकृत भएको वर्षौंसम्म लाभांश दिन नसक्नुले कम्पनीको व्यवस्थापकीय क्षमता नै कमजोर रहेको रुपमा बुझ्नुपर्ने बताउँछन्।

‘कतिपय हाइड्रो, विकास बैंक र फाइनान्सले वर्षौंदेखि लाभांश दिएका छैनन्। यो भनेको कम्पनीले व्यवसाय गर्न नसकेको परिणाम हो। यसमा व्यवस्थापनको कार्यक्षमताको कुरा आउँछ,’ एक मर्चेन्ट बैंकरले भने, ‘वित्तीय सुशासन र व्यवसाय राम्रो रहेका कम्पनीले प्रतिफल नदिने भन्ने नै हुँदैन। लाभांश दिन नसकेको विषय कम्पनीको व्यवस्थापनको क्षमतासँग सिधै ठोकिन्छ। साथै नियमनमाथि पनि प्रश्न गर्नुपर्ने देखियो।’