इभीको ब्याट्रीमा चिनियाँ कम्पनीको बजार हिस्सा दुई तिहाइ, कमजोर बन्दै कोरियन कम्पनी



बिजमाण्डू
२०८१ कात्तिक २४ गते ०६:०४ | Nov 9, 2024
इभीको ब्याट्रीमा चिनियाँ कम्पनीको बजार हिस्सा दुई तिहाइ, कमजोर बन्दै कोरियन कम्पनी

काठमाडौं। विद्युतीय सवारीसाधन(इभी) को माग बढ्दै गएपछि पछिल्लो समय ब्याट्री उत्पादनमा लगानी बढेको छ। लगानी वृद्धिसँगै तेल उत्पादनमा ओपेक प्लस जस्तै ब्याट्री उत्पादनमा को शक्तिशाली बन्ने भन्ने होड चलेको छ।

Tata
GBIME
Nepal Life

इन्धन सवारीसाधन संचालन गर्न पेट्रोलियम पदार्थ आवश्यक भएजस्तै इभीका लागि ब्याट्री आवश्यक पर्छ।

दक्षिण कोरियाली कम्पनी एसएनई रिसर्चले हालै प्रकाशित गरेको रिपोर्ट अनुसार इभी ब्याट्रीको ग्लोबल मार्केटमा सीएटीएल र बीवाइडी सबैभन्दा अगाडि छन्। सन् २०२४ को जनवरीदेखि सेप्टेम्बरसम्म इभी ब्याट्रीमा सीएटीएलको हिस्सा ३६.७ प्रतिशत छ। यो चिनियाँ कम्पनी हो।

यस्तै बीवाइडीको बजार हिस्सा १६.४ प्रतिशत छ। बीवाइडीले आफ्नै ब्याट्री प्रयोग गरेर गाडी पनि बिक्री गर्छ। अन्य कम्पनीहरुले ब्याट्री मात्रै बिक्री गर्दै आइरहेका छन्।

तेल उत्पादनमा साउदी अरब सबैभन्दा ठूलो देश भएजस्तै ब्याट्री उत्पादनमा चीनले आधिपत्य जमाएको छ। सीएटीएलका साथै बीवाइडी पनि चिनियाँ कम्पनीहरु हो।

ब्याट्री बजारमा चिनियाँ कम्पनीको हिस्सा दुई तिहाइ रहेको रिपोर्टमा उल्लेख छ। इभी ब्याट्री उत्पादन गर्ने शीर्ष १० कम्पनीको सूचीमा ६ वटा चीनका छन्।

यो वर्ष जनवरीदेखि सेप्टेम्बरसम्म इभीमा कुल ५९९.० गिगावाट आवरको ब्याट्री प्रयोग भएको छ। जुन गत वर्षको तुलनामा २३.४ प्रतिशत हो। गत वर्ष कुल ४८५.३ गिगावाट आवरको ब्याट्री प्रयोग भएको थियो।

यो वर्ष नौ महिनामा सीएटीएलको २१९.६ गिगावाट आवरको ब्याट्री प्रयोग भएको छ। जुन गत वर्षको तुलनामा २६.५ प्रतिशत बढी हो। गत वर्ष इभीमा सीएटीएलको १७३.६ गिगावाट आवरको ब्याट्री प्रयोग भएको थियो।

यसैगरी, यो वर्ष नौ महिनामा बीवाइडीको ९८.५ गिगावाट आवरको ब्याट्री इभीमा प्रयोग भएको छ। जुन गत वर्षको तुलनामा करिब २८ प्रतिशत बढी हो। गत वर्ष बीवाइडीको कुल ७७ गिगावाट आवरको ब्याट्री इभीमा प्रयोग भएको थियो।

बीवाइडीले यसपालि सेप्टेम्बरमा ४ लाख १९ हजार ४२६ र अक्टोबरमा ५ लाख २ हजार ६५७ युनिट इभी बिक्री गरेको छ।

रिपोर्ट अनुसार इभी ब्याट्री बजारमा दक्षिण कोरियाली कम्पनी एलजी इनर्जी सोलुसनको हिस्सा १२.१ प्रतिशत छ। गत वर्षको तुलनामा कम्पनीको बजार हिस्सा २.२ प्रतिशत घटेको हो। कम्पनीले यो वर्ष ९ महिनामा ७२.४ गिगावाट आवरको ब्याट्री बिक्री गरेको छ।

यस्तै चिनियाँ कम्पनी सीएएलबी ४.९ प्रतिशत बजार हिस्सासहित चौथो स्थानमा छ। दक्षिण कोरियाका एसके अन ४.८ प्रतिशत बजार हिस्सासहित पाँचौं र सामसुङ एसडीआई ४ प्रतिशतसहित सातौं स्थानमा छन्।

जापानी कम्पनी पानासोनिक ४.३ प्रतिशत बजार हिस्सासहित छैटौं स्थानमा छ। इभी ब्याट्रीमा २.५ हिस्सा ओगटेको गोसन हाइ-टेक, २.३ प्रतिशत बजार लिएको ईभीई इनर्जीको, २.१ प्रतिशत हिस्सा लिन सफल सुनवाडा कम्पनी पनि चिनियाँ नै हुन्।

कोरियन कम्पनी कमजोर

इभी ब्याट्री उत्पादन गर्ने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा कोरियाका छन्। तर, ती तीनवटै कम्पनीले बजार भने गुमाउँदै गएका छन्।

तीन कम्पनी एलजी इनर्जी सोलुसन, सामसङ एसडीआई र एसके अनको बजार हिस्सा गत वर्षको ९ महिनाको तुलनामा यो वर्ष सोही अवधिमा ३.४ प्रतिशतले घटेर २०.८ प्रतिशत कायम भएको छ। चिनियाँ कम्पनीले आक्रामक रुपमा बजार विस्तार गर्दा कोरियन कम्पनीहरु कमजोर देखिएका हुन्।

एसएनई रिसर्चले कोरियाली ब्याट्री कम्पनीबारे रिपोर्टमा लेखेको छ, ‘कोरियाली तीन ठूला ब्याट्री कम्पनीले यो वर्ष तेस्रो त्रैमासिकसम्म तुलनात्मकरूपमा बिक्री र नाफा मार्जिन कम देखाएका छन्। तर, तिनीहरूले मिड-टु-लङटर्मका लागि आफ्ना रणनीतिमा विविधीकरण गरिरहेका छन्। अमेरिका र युरोपमा रणनीतिक साझेदारीलाई बलियो बनाउँदै लगिरहेका छन्। नयाँ ग्राहक तान्न झन्झन् महत्त्वपूर्ण योजना अगाडि सारिरहेका छन्।’