४७ औं अमेरिकी राष्ट्रपतिमा नेपाली इमिग्रेन्ट्सको रोजाइमा को छन्?

नेत्र तामाङ
२०८१ असोज २७ गते ०६:२४ | Oct 13, 2024
४७ औं अमेरिकी राष्ट्रपतिमा नेपाली इमिग्रेन्ट्सको रोजाइमा को छन्?

डलरको भाउ तलमाथि हुँदा संसारभरको बजार, बैंक प्रभावित हुन्छ। यो सबैको चासोको विषय हो। विश्व अर्थतन्त्र मात्रै होइन जुनसुकै मुलुकको राजनीतिमा पनि प्रभाव पार्ने क्षमता राख्छ अमेरिका। त्यसैले अमेरिकाकै राजनीतिमाथि संसारको चासो हुनु अस्वाभाविक होइन। अमेरिकामा नेपाली डायस्पोरा बढ्दै गर्दा हाम्रो चासो पनि स्वाभाविक छ।

GBIME
Tata

गत जुलाई १४ तारिखको दिउँसो हवाइको ओहाउ टापुमा रहेको मकापु लाइट हाउस पुग्दा चिनुक हेलिकप्टरले एसिया प्रशान्त महासागरमाथि उडान भर्दै थियो। त्यही बेला हाम्रो कक्षाको ह्वाट्सएप ग्रुपमा मलेसियन साथी बिटरेस यङले ब्रेकिङ न्युजको लिंक पठाइन्। सीएनएनको लिंक खोल्दा डोनाल्ड ट्रम्पको दहिने गला र कान रगतले लतपतिएको थियो।

चुनावी अभियानको क्रममा रहेका उनीमाथि हमला भएको थियो। पेन्सलभानियामा सम्बोधनकै क्रममा थोमस मथ्यु क्रुक नामक युवकले ट्रम्पलाई निसाना साँधेका रहेछन्। यो समाचारले नेपालमा झिसमिसमै होहल्ला मच्चिँदा मकापु क्षेत्र प्रतिक्रियाविहीन देखिन्नथ्यो। मानिसहरु कोही लाइट हाउस हेर्न उक्लँदै थिए, कोही ओर्लँदै।

जुलाइ १५ बाट हाम्रो कक्षाहरु सुरु हुने तालिका अवरुद्ध हुने हाम्रो अनुमान थियो। तर, त्यसो भएन। ‘ह्वाट दि’ त्यसको एक हप्तापछि जुलाइ २१ मा जो बाइडेनले चुनावी दौड छाडेको घोषणा गर्दा हाम्री कक्षाकी शिक्षिकाले निकै अफसोच जनाइन्। अफसोच जनाउँदै गर्दा उनले अमेरिकाको इतिहासमा ३६ औं राष्ट्रपति रहेका लेन्डन जन्सनले पनि यसरी नै चुनावी मैदान छाडेको बताइन्। कहिले अमेरिकी उपराष्ट्रपति ट्रम्प भन्दिने, कहिले युक्रेनका राष्ट्रपति पुटिन, चुनावी बहसमा पनि कमजोर प्रस्तुति, यस्तै घटनाले बाइडेनलाई बुढ्यौलीले छोएको छनक प्रष्टिए पनि अमेरिकीहरु यो घटनालाई बाइडेनको सुसाइड डीसाइडका रुपमा लिएको पाएँ।

यी दुई घटनाले पनि हवाईमा चुनावी माहोल तातिएको देखिएन। मेनल्यान्डका सहरहरुमा ट्रम्पको पक्षमा माहोल ह्वात्तै बढेको खबर सुनिन्थ्यो। सात टापु रहेको हवाई नेपालभन्दा झन्डै १४ गुना सानो रहेछ त्यसमाथि पर्यटकलाई स्वागत-बिदाइमा व्यस्त सहरलाई के को फुर्सद मिल्थ्यो होला र ! कुनै बेला राजतन्त्र रहेको हवाईबाट ४ जनामात्र इलेक्ट्रोल कलेज जाने भएकाले पनि खासै चासो नदिएको बताइयो।

डोनाल्ड ट्रम्प । तस्विर : रोयटर्स

नेपाली मिडिया हेर्ने हो भने अमेरिकी राष्ट्रपतीय निर्वाचनलाई निकै नजिकबाट नियाले झैं देखिन्छ। होनुलुलु सिभिल बिट यहाँको विश्वासिलो अनलाइन भन्दै हामीलाई सिफारिस गरिएको थियो। नोभेम्बरमा हुने हवाईको प्रतिनिधि सभाको निर्वाचनको उम्मेदवारहरुको एक एकको अन्तर्वार्ता यहाँ क्रमशः प्रकाशन गर्न थालिएको थियो। मनोआ उपत्यकमा रहेको हले मनोआ छात्रावासबाट राजा कमेहमेहको दरबार हेर्न डाउनटाउन जाँदा यहाँको राज्य सभाका तल्लो सदन र माथिल्लो सदन रहेको भवनमा एक फन्को लगायौं।

चुनावी चासो दिने भनेको नेपाली नै त हुन्, एकपटक बुझेर हेरौं भनेर युनिभर्सिटी अफ हवाईका प्रोफेसर डा. कवि न्यौपानेसँग जिज्ञासा राखेँ। ३० वर्षदेखि हवाईमा बसाइँ जमाएका प्रोफेसर न्यौपानेले पनि चुनावी विषयमा खासै चासो दिएनन्। बरु उनी आफ्नो फार्म पुगेको बेला आँपका बोटको फेदमा शौच गरेर बिरुवालाई माया गर्न सुझाउँथे।

बीचमा उपराष्ट्रपतिका उम्मेदवार घोषणा भयो। टिम वाज डेमोक्रेटबाट उत्रिए, जेडी भान्स रिपब्लिकनबाट। डेमोक्रेट्सका वाज रैथाने भएकाले कमला ह्यारिसलाई सहज हुने अनुमानहरु लगाउन थालियो।

अगस्ट १६ मा दुई महिने हवाई बसाईं टुंग्याएर क्यालिफोर्निया आइपुग्दा नेपाली व्यवसायीहरूले ट्रम्प नै सही भएको ठोकुवा गर्दै थिए। आप्रवासी नीति होस् र व्यपारिक नीति ट्रम्प ठीक रहेको उनीहरुको दाबी रह्यो। नेपालमै लामो समय पत्रकारितामा खर्चिएका एक युवाको भनाइ पनि त्यस्तै रह्यो। यद्यपि कमला रहिछन् क्यालिफोर्नियाकै। ओकल्यान्डमा जन्मेकी कमला अहिले ५९ वर्षमा लागेकी छन्। क्यालिफोर्निया यस्तो राज्य हो जसले अमेरिकाको कुल गार्हस्थ उत्पादनमा १४ प्रतिशत योगदान दिने विश्व बैंकको आँकडाले देखाउँछ। यो उत्पादन भारत,बेलायत फ्रान्स इटाली ब्राजिल र क्यानडाभन्दा पनि बढी भएको विश्व बैंकको तथ्यांकले देखाउँछ।

यसो भन्दैमा क्यालिफोर्नियाले कमलाकै पक्षमा निर्णय गर्छ भन्ने कुनै ग्यारेन्टी भने छैन। यहाँ ५४ इलेक्ट्रोल छन्। अघिल्लो पटकमा यी इलोक्ट्रोलले जो बाइडेनलाई नै मत हालेका थिए। यसपटक बहुमत डेमोक्रेटको पक्षमा आए सबै मत कमलालाई आउन सक्छ नभए ट्रम्पतिर ओइरिन बेर छैन।

अर्को रोचक पक्ष के छ भने ट्रम्पले कमलालाई भारतीयको आरोप लगाइरहेका छन्। कमलालाई ‘ब्ल्याक’ भनेको आरोप जबर्जस्ती ट्रम्पमाथि लागेको छ।

अमेरिकाको राजधानी वासिङटन डिसीमा रहेका दावा तामाङ चिन्तित देखिए। लामो समयदेखि सेयर मार्केटमा राम्रो दखल राख्ने उनी कमला नै ह्वाइट हाउस इन्ट्री हुनुपर्ने सपना देख्ने रहेछन्। तर दावाका छोरा ट्रम्पलाई जिताउनुपर्छ भन्ने रहेछन्। क्यापिटोल हिलबाट फर्किँदै गर्दा दावाले २५ वर्षे छोराले पहिलोपटक मत हाल्न लागेको र उनको रुचि ट्रम्पतिर देखेर आफू छक्क परेको सुनाउँदै थिए। त्यही उनले जनवरी ६, २०२१ को घटना सम्झाए। जहाँ राष्ट्रपति भवन छाड्दै गर्दा ट्रम्प समर्थकले चुनावमा धाँधली भएको भन्दै हंगामा मच्चाएका थिए।

कमला ह्यारिस चुनाव प्रचार अभियानमा बिहीबार रिपोन कलेजमा । तस्वीर : एपी

अमेरिकामा मतदानका दिन १८ वर्ष पुगेका अमेरिकी नागरिकले अक्टोबर ७ बाट त मतदान गर्न पाउँछन्। इमेलबाटै मतदान गर्न सक्ने व्यवस्था भए पनि अन्तिम दिन अर्थात नोभेम्बर ५ मा भने मतदान स्थलमै गएर मतदान गर्नुपर्ने हुन्छ। हाम्री सहपाठी जेस न्युजिल्यान्डबाटै राष्ट्रपतीय चुनावमा सहभागी हुने बताउँदै थिइन् हवाइ छँदै। यो अमेरिकी राष्ट्रपति को बन्छ भनेर प्रारम्भिक अनुमान लगाउन सकिने निर्वाचन हो। उक्त दिन अमेरिकाको संघीय प्रतिनिधि सभाका ४३५ सदस्य, सिनेटका एक तिहाई सदस्य, राष्ट्रपतिको निर्वाचनको लागि इलेक्ट्रोल कलेजका ५३८ सदस्य, राज्य प्रतिनिधिसभा सदस्य र राज्य सिनेट सदस्य, रिक्त रहेको राज्यका गभर्नर एवं लेफ्टिनेन्ट गभर्नर, मेयर, काउन्टीका पदाधिकारी चुनिन्छन्। राष्ट्रपतिले पपुलर भोट पनि पाउँछन्।

यहाँ मत गणना गर्दा ५० राज्यमध्ये ४८ राज्यमा जित्नेले सबै लिने सिद्धान्त लागु गरिन्छ। अर्थात् ५० प्रतिशतभन्दा बढी मत रिपब्लिकनले पाए उक्त राज्यको सबै निर्वाचक मत ट्रम्पले प्राप्त गर्छ। मैने राज्यका ४ र नेव्रास्का राज्यका ५ मत भने अलि फरक रहेछ। यहाँ कंग्रेसनल डिस्ट्रिक्ट मेथडका आधारमा राष्ट्रपतिका उम्मेदवारले मत प्राप्त गर्ने रहेछन्।

ट्रम्पको क्रेज देखाइए पनि पछिल्ला इलेक्सन पोलहरुमा कमलाको जित हुने सम्भावना देखाइरहेको छ। भर्खरै सीएनएनले युवाहरुमा गरेको मत सर्वेक्षणमा पनि कमलाको मत ट्रम्पको भन्दा पनि धेरै देखाउँछ।

अमेरिकी सञ्चारमाध्यममा बाइडेनले चुनावी दौड त्यागेसँगै कमलाको पक्षमा मत बढ्न थालेको दाबी गर्न थालेका छन्। फक्स न्युजले पनि मध्य अगस्टमा कमलाको मत ५०-४८ ले बढेको जनाएको छ। यो रेसमा दुवैको उछिनपाछिन देखाउँछ।

यद्यपि कमलालाई हिलारी क्लिन्टनको चुनावी अभियानसँग दाँजेर कमजोर पात्रको रुपमा पनि हेरिन्छ। बाइडेनको प्रस्तुतिसँग दाँजे कमलाको लोकप्रियता भने बढ्दो छ।

डोनाल्ट ट्रम्प चुनाव प्रचारका क्रममा बिहीबार सगिना भ्याली स्टेट युनिभर्सिटीमा । तस्वीर : एपी

यसपटक नोभेम्बर ५ मा राष्ट्रपतिको वास्तविक चुनाव हुँदैछ र जनवरी ६ मा मतगणना। ५३८ मध्ये २७० इलेक्ट्रोल कलेजको मत पाउनेले जनवरी २०, २०२५ मा ह्वाइट हाउसमा शपथ लिनेछन्।  

न्युयोर्क आइपुग्दा यहाँका नेपाली व्यापारीहरु पनि ट्रम्पको पक्षमा देखिए। खासगरी अमेरिकी नागरिक बन्ने चरणमा रहेकाहरु ह्यारिसको पक्षमा अनि ग्रीन कार्ड पाइसकेका र इमिग्रेन्ट्सका सन्तान भने ट्रम्पतिर ढल्किएको देखियो। उनीहरुकै कुरा मान्ने हो भने निजी क्षेत्रको व्यापारका लागि ट्रम्प उपयुक्त पात्र हुन्।

अनि नयाँ इमिग्रेन्टलाई ठाउँ दिन पनि हुन्न भन्ने पक्षमा ट्रम्पको मत बलियो देखिन्छ। तर, नेपाली इमिग्रेन्ट मत माइनोरिटी ग्रुपको आवाज भएकाले ट्रम्प नै जित्नेमा भने उनकै समर्थकहरु ढुक्क देखिएनन्।