
काठमाडौं। निर्जीवन बीमा कम्पनीको व्यवसायमा सुधार आएको छ। कम्पनीहरुले चालु आर्थिक वर्ष दुई महिनामा ७ अर्ब ८५ करोड ७० लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्।
नेपाल बीमा प्राधिकरणका अनुसार यो आर्थिक वर्ष भदौसम्म निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको प्रिमियम पोहोर सोही अवधिको तुलनामा १०.८९ प्रतिशतले धेरै हो। कम्पनीहरुले पोहोर भदौसम्म ७ अर्ब ८ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए।
निर्जीवन बीमा कम्पनीहरुले बीमा पोलिसी बिक्री १५ प्रतिशतले बढाएका छन्। यो वर्ष भदौ मसान्तसम्म ४ वटा लघु निर्जीवन बीमासहितका कम्पनीले ४ लाख ७० हजार बीमा पोलिसी बिक्री गरेका छन्।
उनीहरुले गत वर्ष यही अवधिमा ४ लाख ९ हजार बीमा पोलिसी बिक्री गरेका थिए। दुई महिनामा लघुबीमा कम्पनीले ११ करोड ३ लाख रुपैयाँको बीमा पोलिसी जारी गरेका छन्।
प्राधिकरणका अनुसार हिमालयन एभरेष्ट र प्रभु इन्स्योरेन्स बाहेकका कम्पनीको व्यवसाय वृद्धि भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सर्वाधिक १ अर्ब १ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। सगरमाथाले पोहोर दुई महिनाको तुलनामा यसपालि १०.६६ प्रतिशतले व्यापार बढाएको छ।
प्रभु इन्स्योरेन्सले सबैभन्दा कम २९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। सबैभन्दा धेरै व्यवसाय बढाउने नेपाल इन्स्योरेन्स हो। यो कम्पनीले ८५.१४ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ। कम्पनीले दुई महिनामा ४३ करोड ७१ लाख रुपैयाँबीमा शुल्क आर्जन गरेको छ।
चालु आर्थिक वर्ष दुई महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरेको प्रिमियम रु लाखमा
इन्स्योरेन्स | २०८१/८२ | २०८०/८१ | फरक % |
सगरमाथा लुम्बिनी | १०१२१.७१ | ९१४७.०७ | १०.६६ |
सिद्धार्थ प्रिमियर | ८१३३.३७ | ७३४१.९५ | १०.७८ |
शिखर | ७२३४.४१ | ६६२४.३८ | ९.२१ |
हिमालयन एभरेष्ट | ६०२३.९६ | ६४२१.२३ | -६.१९ |
नेको | ५८८९.९० | ५२६४.८२ | ११.८७ |
आइजीआई प्रुडेन्सियल | ५८०१.५२ | ५५००.५३ | ५.४७ |
राष्ट्रिय बीमा कम्पनी | ५४५३.४० | ५१२९.१९ | ६.३२ |
एनएलजी | ४८१६.४५ | ४२८९.८० | १२.२८ |
युनाइटेड अजोड | ४५५१.७० | ४५३०.०२ | ०.४८ |
दि ओरियन्टल | ४४३१.३४ | ३२९९.०४ | ३४.३२ |
नेपाल | ४३७१.३९ | २३६१.१८ | ८५.१४ |
सानिमा जीआईसी | ३९७०.५१ | ३७८८.९४ | ४.७९ |
नेसनल | ३७२६.०३ | ३००६.६९ | २३.९२ |
प्रभु | २९४१.८३ | ४,१४३.७२ | -२९.०१ |