
काठमाडौं। भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्माले कनेक्टिभिटीबिना पूर्वाधार विकास सम्भव नभएको बताएका छन्।
सबै क्षेत्रमा बढीभन्दा बढी पूर्वाधार निर्माण हुनुपर्ने भन्दै राजदूत शर्माले सडक मात्रै पूर्वाधार नभएको बताए।
फाइनान्सिङ ग्याप दक्षिण एसिया क्षेत्रमा बढ्दै जानु चिन्ताजनक रहेकाले त्यसलाई न्यूनीकरण गर्नुपर्नेमा उनले जोड दिए। उनले यो क्षेत्र कनेक्टिभिटीका हिसाबले निकै कमजोर भएकाले त्यसमा सुधार गर्दै व्यापार वृद्धिमा ध्यान दिनुपर्ने बताए।
भारत र पाकिस्तानबीचको तनावले समस्या थपिएपनि भारतको छिमेकी पहिलो नीतिले केही हदसम्म कनेक्टिभिटी, व्यापार र क्षेत्रीय सहकार्यमा फाइदा पुग्ने देखिएको उनको भनाइ थियो।
भारत र नेपालबीच ३ इन्टिग्रेटेट चेकपोस्ट निर्माण सकिएको र अन्य दुईसहित अरु निर्माण हुने क्रममा रहेको भन्दै उनले दक्षिण एसियामा व्यापार व्यवस्थित बनाउँदै अवैध व्यापारलाई निरुत्साहित गर्न सहयोगी हुने बताए। नेपाल र भारतबीच रेलमार्ग जनकपुरसम्म रहेकामा त्यसलाई बर्दिबाससम्म ल्याउने प्रयास भइरहेको उनले जानकारी दिए।
‘डिजिटल कनेक्टिभिटी निकै महत्त्वपूर्ण छ, भारतीयहरूले नेपाल आएर क्यूआरबाट अहिलेसम्म २८ करोड भारू भुक्तानी गरिसकेका छन्,’ उनले भने।
करिब १ हजार मेगावाट बिजुली भारत निर्यातबाट ३५-४० बिलियन रुपैयाँ आर्जन गर्ने लक्ष्य हासिल गर्ने क्रममा रहेको उनले बताए। उनले बंगलादेशलाई ४० मेगावाट मात्रै निर्यात गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए।
उनले भने, ‘किनभने भारतबाट बंगलादेश बिजुली पुर्याउन आवश्यक प्रसारण लाइनको क्षमता ४० मेगावाट मात्रै छ।’
क्षेत्रीय विकासका लागि यति मात्रै प्रयास पर्याप्त नभएको भन्दै उनले यसमा निजी क्षेत्रको लगानी आवश्यक पर्ने बताए।