
काठमाडौं। साप्ताहिक बिदाको दिन पारेर भृकुटीमण्डपमा सवारी मेला हेर्न जानेको बिहानैदेखि भीड रह्यो। पाँच दिनदेखि जारी सवारी मेला नाडा अटो शो-२०२४ मा साताको अन्तिम दिन भीड अझ बढेको हो। गाडीका नयाँ मोडल र एसेसरिजसँगै बैंकका स्टलमा हेर्ने र सोध्नेको ताँती छ।
विद्युतीय गाडीका नयाँ नयाँ मोडल आकर्षणको केन्द्र बनेको छ। स्टलमा रहेका सवारी बिक्रेता कम्पनी प्रतिनिधिहरु अवलोकनकर्तालाई गाडीका फीचर र मूल्यबारे जानकारी दिइरहेका देखिन्छन्। नाडा अटोमोबाइल्स एशोसियन अफ नेपालका महासचिव सुरेन्द्रकुमार उप्रेतीका अनुसार शनिबार साप्ताहिक बिदाको दिन भएकाले अरु दिनभन्दा पनि बिहानैदेखि भीड बढेको छ। चार घण्टामा ७ हजार जनाभन्दा बढीले अटो शो अवलोकन गरेको उनले बताए।

मेला सुरुमा पहिलो दिन नै साढे ८ हजार जनाले एकै दिन स्टलहरुमा पुगेका थिए। बुधबार १५ हजार जनाले अटो शोका स्टलहरु अवलोकन गरेको महासचिव उप्रेतीले बताए। यस्तै बिहीबार १५ हजार ५०० र शुक्रबार १७ हजार २०० जनाले भिजिट गरे। आइतबार समापन हुने भएकाले शनिबार मात्रै २५ हजार जनाभन्दा बढी अवलोकनकर्ता स्टलहरुमा पुग्ने आकलन आयोजकको छ।
शनिबार अवलोकनकर्ताको आवागमन उल्लेख्य रहँदा प्राय इभीका सबै स्टलमा आकर्षण देखिएको छ। यस्तै चार पाङ्ग्रेमा सदा झैं आज पनि नामी, टाटा, डिपल, ओमोडा, बीवाइडी जस्ता ब्रान्डहरुको स्टलमा भीड देखिन्छ। मिनी कार भएका ब्रान्डका स्टलमा हिजोअस्तिभन्दा आज भीड बढेको देखिन्छ।

यसैगरी दुई पाङ्ग्रेतर्फ भने पेट्रोल इन्जिन बाइक हेर्नेको भीड छ। जसमा रोयल इन्फिल्ड, नयाँ ब्रान्ड ट्राइम्फ, हिरो, बजाज र सीएफ मोटोमा भीड छ। इलेक्ट्रिक दुई पाङ्ग्रेतर्फ भने एथर र गोगोरोका स्टलमा अवलोकनकर्ता पुगेका देखिन्छन्। शनिबार कलाकार, उद्योगीसँगै राजनीतिकर्मीहरुको उपस्थिति देखिएको छ।
एमाले सांसद सुनिता बराल, सीजी होल्डिङ्सका अरुण चौधरी, कलाकार स्वस्तिमा खड्का, निश्चल बस्नेत लगायत अटो शोका स्टलमा पुगेर गाडी र नयाँ फीचरका बारेमा जानकारी लिइरहेको देखिएका छन्।

‘मेलामा यो पटक अवलोकन गर्न आउनेमा ७० प्रतिशत मानिस गाडी खरिद गर्ने योजनामा आएको भेटिएका छन्,’ नाडा महासचिव उप्रेतीले भने, ‘बुकिङ पनि राम्रो भइरहनुले त्यसको पुष्टि गर्छ।’

गत मंगलबार सुरु भएको नाडा अटो शो आइतबारसम्म सञ्चालन हुनेछ। अटो शोमा प्रदर्शनीमा चार पाङ्ग्रेका २३ वटा र दुई पाङ्ग्रेका १९ वटा ब्रान्डको स्टल छ। १४ वटा ब्रान्डका लाइट कमर्सियल गाडी, ६ वित्तीय संस्था तथा अन्य लुब्रिकेन्ट, टायर, ब्याट्री, पाटपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको पनि प्रदर्शनीमा सहभागिता छ।




