जथाभावी चिनियाँ गाडीको आयातले डम्पिङ साइट त बन्दैन? चिनियाँ राजदूतको जवाफ: डिलर जिम्मेवार बन्नुपर्छ

शुक्र गिरी, सहयोग रञ्जित
२०८१ भदौ १४ गते १२:२४ | Aug 30, 2024
जथाभावी चिनियाँ गाडीको आयातले डम्पिङ साइट त बन्दैन? चिनियाँ राजदूतको जवाफ: डिलर जिम्मेवार बन्नुपर्छ
नेपालका लागि चीनका राजदूत छन सोङ


काठमाडौं। नेपालका लागि चीनका राजदूत छन सोङले नेपालमा पछिल्लो समय विद्युतीय गाडीको बजार विस्तार भइरहँदा त्यसको दिगोपनका लागि रणनीतिक कदम चाल्नुपर्ने बताएका छन्।

Tata
GBIME
NLIC

नाडा अटो शो अवलोकन गर्न पुगेका चिनियाँ राजदूत सोङले बिजमाण्डूसँगको कुराकानीमा नेपाली बजारमा चिनियाँ ब्रान्डहरु ल्याउँदा डिलरहरु जिम्मेवार बन्नुपर्ने बताए।

‘इभी परम्पारागत गाडी भन्दा सजिलो छ। त्यसैले नेपालमा चिनियाँ ब्रान्ड ल्याउँदा डिलरहरु जिम्मेवार हुनुपर्छ। मैले डिलरहरुलाई रेस्पोन्सिभ इनिसिएसन लिन भनेको छु,’ सोङले भने।

चिनियाँ राजदूत सोङ एक्स (पहिला ट्वीटरमा) चिनियाँ इभीहरुको भिडियो सेयर गरिरहेका हुन्छन्। अझ प्रिमियम इभीहरुको प्रचारप्रसारमा उनको ध्यान बढी केन्द्रित भएको देखिन्छ। तर, अहिले उपभोक्ताको क्रेज देखेर व्यापारकै लागि नामै नसुनिएका ब्रान्ड पनि नेपालमा आइरहेका छन्। विश्व बजारमै अटोमोबाइल क्षेत्रमा ‘मिराकल’ गरिरहेको चीनका लागि नेपालमा जथाभावी आयात भइरहेका ती गाडीले समस्या पार्न सक्छ।

नेपालमा पनि पछिल्लो समय मिडियम रेन्जदेखि प्रिमियम रेन्जसम्मका चिनियाँ ब्रान्ड भित्रिरहेको छ। त्यसैले सोङले ब्रान्डहरुलाई स्थापित गराउनका लागि बिक्रेताहरु थप उत्तरदायी हुनुपर्नेमा जोड दिएका हुन्।

काठमाडौंको सडकमा पछिल्लो समय चिनियाँ विद्युतीय गाडी (इभी) को संख्या ह्वात्तै बढेको छ। नाडा अटो शो पनि यसपटक चिनियाँ इभीको दबदबामा छ। इभीका लागि चाहिने आवश्यक पूर्वाधार पर्याप्त मात्रामा नबन्दा र धेरै ब्रान्ड भित्रिँदा यसको भविष्यबारे पनि चर्चा हुने गर्छ। त्यसबारे राजदूत सोङले बजारमा समस्या आउँछ भन्दैमा डराउन नहुने बताए।

‘नेपालमा यो सुरुवाती चरण हो। बजारमा प्रतिष्पर्धा हुन्छ। केही ब्रान्डहरु स्थापित हुनेछन्, केही हराउन पनि सक्छन्। हामीले सबै ब्रान्डकोबारे सोच्नु पर्छ। तर बजारमा समस्या आउँछ भने समाधान पनि हुन्छ। यसका लागि डिलरहरूले केही प्यारासुट कार्यक्रम ल्याउँलान्।’

नेपालमा परम्परागत इन्धनका सवारीलाई विद्युतीय गाडीले तीव्र रुपमा रुपान्तरण गरिरहेको र त्यसमा चीनले सहयोग गर्न पाउँदा आफू खुशी रहेको उनले बताए।

चिनियाँ इभी ब्रान्डको वर्चश्व रहेको नाडा अटो शोले नेपालको अर्थतन्त्रलाई ‘भाइब्रेन्ट’ र यातायात प्रणालीमा रुपान्तरणको दृढ संकल्पलाई देखाएको उनको विश्लेषण थियो।

‘नेपाल परम्परागत सवारीबाट न्यू इनर्जी भेहिकलमा छिटै रुपान्तरित भयो। चीनले यसमा सहयोग गर्न पाएकोमा म खुशी छु। यो रुपान्तरणको अभियान सफल होस,’ उनले भने, ‘यसले नयाँ प्रविधिमात्रै नभइ ग्रीन टेक्नोलोजीको पनि प्रयोगलाई बढावा दिन्छ र वातावरण संरक्षणमा यसले सहयोग पुर्‍याउँछ।’

यस्तै, उनले चीन सरकारले विद्युतीय गाडीको उत्पादन र विस्तारका लागि ‘रेस्पोन्सिभ’ भएर नीतिहरू बनाइरहेको उल्लेख गरे।

‘चीन सरकार जलवायु परिवर्तनसँग जुध्न र वातावरणमा पर्ने असर कम गर्न जुधिरहेको छ। त्यसैले नयाँ प्राविधिक इनोभेसनलाई सरकारले प्राथमिकतामा राखेको छ,’ सोङले भने,’स्वच्छ वातावरणका लागि हामी सबैसँग मिलेर काम गरिरहेका छौं।’