

सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को महाप्रबन्धक (जिएम) मा चन्द्र सिंह साउदलाई नियुक्त गरेको छ। बुधबार कार्यभार सम्हालेका साउदसँग बिजमाण्डूका सुवास निरौला र अरुण सापकोटले सोधे-
लामो रस्साकस्सी पछि नेप्से महाप्रवन्धक नियुक्त हुनु भयो कसरी काम थाल्दै हुनुहुन्छ?
म हिजो मात्र यहाँ आएको छु। मेरा आफ्ना विजनेस प्लानका साथै यहाँका साथीहरु सँग सल्लाह गरेर आगामी दिनमा के गर्ने भन्ने योजना बनाउने छु।
मेरो पहिलो ध्यान रोकिएको अनलार्इन ट्रेडिङको काम अघि बढाउन हुन्छ। सकेसम्म कात्तिक २१ गतेको डेटलार्इनमै यसलाई ल्याउने प्रयत्न गर्छु।त्यसका लागि सफ्टवेर कम्पनीसँग कुरा गर्छु। त्यसलार्इ अगाडि बढाउन आवश्यक परेमा छुट्टै टिम बनाएर काम गर्नेछु।
अनलार्इन कारोबारसँग मेरो अर्को काम एनआरएनलार्इ पूँजी बजारमा भित्र्याउन प्राथमिकता दिने पनि हुनेछ। यसका लागि नेपाल सरकारले ऐन नियम करिब करिब तयार गरि सकेको अवस्था छ। यसका साथै मार्जीन ल्याण्डिङ तथा साना लगानी कर्तालार्इ सहयोग पुग्ने खालका काम अगाडि बढाउँछु।
साना लगानीकर्ता लार्इ सम्बोधन गर्न के गर्नु हुन्छ?
लगानीकर्ता साना ठूला सबैलार्इ समान रुपमा हेर्नुपर्छ। त्यसमा पनि सानाको हित हेर्ने किन भनेको हो भने उनीहरुसँग पर्याप्त साधन स्रोत हुँदैन। ठूलासँग प्राविधिक विश्लेषण देखि सबै काम गर्नसक्ने क्षमता हुन्छ। सोही कारण साना लगानीकर्तालाई सुरक्षित लगानीको प्रत्याभुति दिन सक्नु पर्छ। सूचिकृत कम्पनी संस्थागत सुशासन राम्रो भएका खण्डमा साना लगानीकर्तालाई पहिलो हित हुनेछ। त्यसको लागि सम्बन्धित कम्पनी भित्र संस्थागत सुशासन भएको छ कि छैन भन्ने कुरालार्इ नजिकबाट हेर्छौं।
जिल्ला जिल्लामा सेवा कसरी पुर्याउनु हुन्छ?
अहिले कतिपय जिल्लामा ब्रोकर पुगिसकेको अबस्था छ। अब जहाँ आवश्यकता पर्छ त्यहाँ ब्रोकरलार्इ अनुरोध गरेर सेवा पुर्याउ भन्छौँ।
अबको कति समय भित्र ग्रामीण भेगबाट लगानीकर्ताले शेयर किनबेच गर्न पाउलान्?
यसको ठ्याक्कै समय त भन्न सकिँदैन। किनभने देश संघियतामा जाने चरणमा छ। चुनाब हुन बाँकी छ। चुनाब हुन्छ या हुँदैन। राजनीतिक अबस्था के कस्तो हुन्छ भन्ने अन्योलता बाँकी नै छन्। त्यस बाहेक कहिले काँहि प्राकृतिक प्रकोप पनि ढिला हुन्छ। यस्ता अवरोध नआए दुर्इ बर्ष भित्र देशका धेरैजसो ठाँउमा हाम्रो उपस्थिती रहन्छ। यसका लागि बैंक तथा वित्तिय संस्था, नेपाल सरकार एवं धितोपत्र बोर्डसँग समन्वय गरेर अगाडि बढ्छौँ।
नेप्सेको कारोबार नियम विनानै चलिरहेको भन्ने आरोप छ। लामो समय देखि नेप्सेले नियम र विनियम बनाउन थालेको भए पनि बोर्डबाट पास गराउन सकेको छैन, यो अबस्थालार्इ कसरी अगाडि बढाउनु हुन्छ?
यसको काम धितोपत्र बोर्डमा भैरहेको छ। मैले बोर्ड सँग नजिक सम्बन्ध राखेर काम थालि सकेको छु। म हिजो यहाँ हाजिर हुनुभन्दा अगाडी बोर्ड पुगेरै आएको हुँ। मलार्इ धितोपत्र बोर्डका अधिकारीले आफ्नो काम अगाडी बढाउन निर्देशन दिइसक्नु भएको छ। तपार्इँलार्इ आवश्यक परेको स्रोत साधन दिन तयार छौँ पनि भन्नु भएको छ। धितोपत्र बोर्ड हाम्रो नियमनकारी निकाय भएको हुँदा बोर्डलार्इ अनुरोध गरेर रोकिएका काम अगाडी बढाउने छौँ। धेरै नियम तथा विनियमावली बन्ने काम अन्तिम चरणमा रहेको छन्। ति सबै काम भए पछि हामीलार्इ धेरै गार्ह्रो हुँदैन।
नेप्से र बोर्डको सम्बन्ध लामो समय देखि राम्रो छैन। यसमा तपार्इँको भुमिका कस्तो हुन्छ?
यस पनि यस विषयमा सुन्दै आएको हुँ। पहिलेका महाप्रबन्धकहरुले के गर्नु भयो मलार्इ थाहा छैन। तर, म यति जान्दछु कि हाम्रो नियमनकारी निकाय धितोपत्र बोर्ड हो। बोर्ड तथा सरकारले भनेको हामीले मान्नुपर्छ। अबका दिनमा बोर्ड र सरकार सँग समन्वयकारी भुमिका निर्बाह गर्दै नेप्सेलार्इ अगाडि बढाउँछु।
नयाँ स्टक एक्सचेञ्ज खोल्ने पनि कुरा आइरहेको छ। यसमा तपार्इँको धारणा के छ?
यो नेपाल सरकारले गर्न काम हो। यसको लागि अर्थ मन्त्रालयमा धेरै काम भएको सुन्नमा आएको छ। मेरो ध्यान नेप्सेलाई स्रोत साधन सम्पन्न बनाउनेमा हुनेछ। त्यसो भएमा नयाँ आए पनि नआए पनि हामिलार्इ सरोकार भएन। हामीले सरकारी पाराको काम होइन कि निजी क्षेत्रको दिने सेवा प्रवाह गर्न सक्नु पर्छ।
नेप्से निजीकरणको प्रकृया सुरु भएको लामो समय भइ सकेको छ। तर, नेप्सेले प्रभावकारी समन्वय गर्न नसक्दा प्रकृया अगाडि बढेको छैन भन्ने आरोप छ नि?
निजीकरण हामीले भन्दा पनि लगानीकर्ताले सोच्ने विषय हो। नेप्सेका शेयरधनीमध्ये नेपाल राष्ट्र बैंकले बेच्न खोज्यो भन्ने कुरा मिडियाबाट सुन्नमा आएको छ। यस बारेमा मलार्इ व्यक्तिगत रुपमा केहि थाहा छैन। नेप्सेको निजीकरणले राम्रो गर्दा या नगर्ला भनेर हेर्ने भन्दा पनि यसको क्षमता अभिबृद्धि गर्नु पर्छ ता कि भोलि बजारमा प्रतिश्पर्धा गर्न सकौँ।
नेप्सेमा रियल क्षेत्रका कम्पनीलार्इ भित्र्याउन तथा बजार विविधिकरणको लागि तपार्इँका योजना के छन्?
रियल सेक्टरलार्इ भित्र्याउन धितोपत्र बोर्डले नियमावलीमै समेटि सकेको अवस्था छ। रियल सेक्टरका कम्पनी यता आउन इच्छा नराखेको जस्तो मलार्इ पनि अनुभव भएको छ। त्यसका लागि सम्बन्धित रियल सेक्टर होल्डरसँग पनि छलफल गर्नेछौँ। उहाँहरु नआउनुको कारण के हो, उहाँहरुलार्इ के सुविधा चाहिएको हो, त्यस विषयमा पनि कुरा होला। कम्पनीलार्इ पब्लिक सेक्टरमा लैजाँदा धेरै झै-झमेला हुने भन्ने उहाँहरुको बुझाइ रहेको पाइन्छ। त्यसलार्इ पनि कसरी सम्बोधन गर्ने भन्ने प्रयत्न हुनेछ। एकै पटक सबैलार्इ ल्याउन नसके पनि क्रमिक रुपले विस्तारै ल्याउनेछौँ।
नेप्सेमा इक्विटीको मात्र कारोबार भयो। नयाँ औजार ल्याउने तपार्इको योजना छन्?
हो नेप्सेमा अहिले इक्विटीको मात्र कारोबार हुँदै आएको छ। लगानीकर्तालाई थप विविधिकरणका लागि कमोडिटी बजार विधेयक पास भएर नियमावली बन्ने क्रममा छ। त्यस बाहेक बैंकको ऋणपत्र, ट्रेजरी विल्स आदीको कारोबारलार्इ पनि हामी अगाडि ल्याउछौ।
तश्विर- द हिमालयन टाइम्स