काठमाडौं। नेपाल धितोपत्र वोर्ड एउटा मात्र स्टक एक्सचेञ्ज हुँदा प्रतिस्पर्धी नभएकाले अर्को पनि थप्ने पक्षमा छ। धितोपत्र वोर्डको योजनाको नेपाल स्टक एक्सचेञ्जले त स्वभाविक रुपमा बिरोध गर्नै नै भयो।
तर बित्तीय क्षेत्रको नियामक राष्ट्र बैंकका गभर्नरले समेत नेप्सेलाई साथ दिँदै पूँजी बजारको नियामक निकाय बोर्डको विरोध गरिदिए।
एउटा नियामकका हाकिमले अर्को नियामकको ठाडै तेजोबोध गरेको भन्ने हिसाबले धितोपत्र बोर्डले गभर्नरको भनाइलाई बुझ्यो।
गभर्नरले बोर्डको विरोध गरेको चार दिन पनि नबित्दै वोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्कीले गभर्नर नेपाललाई उत्तर दिने मौका पाइहाले।
सेञ्चुरी कमर्सियल बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्टलाई गाभेर एकिकृत कारोबारको उद्घाटन कार्यक्रममा पुगेका गभर्नरलाई लक्षित गरेर कार्कीले भने- नियामक निकायहरुले एकको अर्कोले खोइरो खन्ने काम बन्द गर्नुपर्छ। यसले वित्तीय स्थायित्वमा अप्ठेरो पार्छ।
डा. कार्कीले नियामक निकायहरुबीच समन्वय हुन आवश्यक भएको भन्दै सार्वजनिक रुपमा एकले अर्काको खोइरो खन्दा कसैलाई पनि फाइदा नगर्ने बताए।
'सार्वजनिक ठाउँमा अर्काको खोइरो खन्दा आफ्नो धोती पनि फुस्किरहेको छ भन्ने हेक्का राख्नु पर्छ' उनले भने, 'भन्छन् नि आफ्नो आङको भैँसी नदेख्ने अर्काको आङको जुम्रा पनि देख्ने, हो त्यो काम कुनै पनि नियामक निकायले अर्को नियामकलाई खोइरो खन्नुअघि बुझ्नु जरुरी छ।'
उनले एउटा नियामकको नीतिमाथि केही प्रश्न भए अर्को नियामकले त्यसमा आन्तरिक रुपमा छलफल गर्नुपर्ने भन्दै सार्वजनिक कार्यक्रममा खोइरो खन्ने काम बन्द गर्नुपर्ने बताए। 'एउटालाई गाली गर्दा आफूले लिएको नीति अगाडी बढाउन समस्या हुन सक्छ। वित्तीय स्थायित्व कायम गर्न अप्ठेरो पर्न सक्छ।'
प्रमुख अतिथि रहेका गभर्नरले भने डा. कार्कीलाई भने जवाफ फर्काएनन्।








