दशरथ रंगशालामा यूएईविरुद्धको खेल पनि नहुने, संसदीय समितिदेखि मन्त्रालयसम्म तात्दा पनि बनेन काम!

बिजमाण्डू
२०८१ जेठ १६ गते ०७:५८ | May 29, 2024
दशरथ रंगशालामा यूएईविरुद्धको खेल पनि नहुने, संसदीय समितिदेखि मन्त्रालयसम्म तात्दा पनि बनेन काम!
दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दै नेपाल र पाकिस्तान टोलीका खेलाडी। फाइल फोटो


काठमाडौं। फिफा विश्वकप छनोट अन्तर्गतको यूएईविरुद्धको खेल पनि नेपालले घरेलु मैदानमा खेल्न नपाउने भएको छ। जुन ६ मा नेपालले दशरथ रंगशालामा खेल्नुपर्ने उक्त खेल साउदी अरबमा खेल्ने तयारी गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

Vigo
GBIME
Tata

यसअघि नेपालले विश्वकप छनोट अन्तर्गतकै यमनविरुद्धको खेल घरेलु मैदानमा खेले पनि त्यसपछिको बहराइनविरुद्धको दुवै खेल उसैको घरेलु मैदानमा खेलेको थियो। बहराइनविरुद्धको खेल नेपालमा गराउन नसकेपछि युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले दशरथ रंगशालाको मापदण्ड पूरा गराउन ताकेता पनि गरेका थिए।

बहराइनविरुद्धको खेल गराउन नसकेपछि राखेपले मैदान संरक्षणको जिम्मेवारी आँफै लिएर अघि बढेको थियो। दशरथ रंगशाला तयार बनाउन नसकेको र ठूलो प्रतियोगिताको जानकारी एन्फाले नगराएको भन्दै राखेप तर्किँदा एन्फाले राखेपले फुटबलबाहेकका अन्य प्रतियोगिता र गैह्रखेलकुद कार्यक्रम गराएर रंगशाला बिग्रिएको आरोप लगाएको थियो। यद्यपि रंगशालामा भएका केही अन्य खेलकुद कार्यक्रम भने एन्फाकै सिफारिसमा पनि सम्पन्‍न भएका थिए।

यसबीचमा खेलकुदमन्त्री श्रेष्ठले राखेपका सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ लगायत राखेपका मैदान, लाइटलगायतका प्राविधिक पक्ष हेर्ने सबैलाई रंगशालामा बोलाएर समन्वय गराउने कोसिस पनि गरेका थिए। जसमा राखेपलाई रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको लागि तयार गर्न र एन्फालाई एसियन फुटबल कन्फिडरेसन (एएफसी)सँग समन्वय गर्न भनेका थिए। त्यसपटक पनि अधिकांश समय दोषारोपणमै बितेको थियो।

वैशाख २८ गते एएफसीले दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यताका लागि मागेको मापदण्डको कागजात पनि राखेपले एन्फालाई दिएको थियो। फिफा विश्वकप छनोट र एसियाली छनोटको खेल दशरंथ रंगशालामा संचालन गर्ने सम्बन्धमा दशरथ रंगशालाको अवस्थाबारे एएफसीले प्रारम्भिक अनुगमनपछि माग गरेको विवरण राखेपले एन्फालाई दिएको हो। उक्त विवरण शुक्रबारै एन्फाले एएफसीमा पठाउने बताएको थियो।

एएफसीले एन्फालाई दुवै छनोट प्रतियोगिताका खेल खेलाउन दशरथ रंगशाला उपयुक्त हुने आधारसहित ४ बुँदे विवरण माग गरेको थियो।

एएफसीले एन्फालाई स्टेडियम सेफ्टी सर्टिफिकेट, इभाक्वुएसन प्लान, कलर कोडेड फ्लोर प्लान डायग्राम र रिस्क एनालाइसिस स्पेसिफिक टु द स्टेडियमका विषयमा जानकारी माग गरेको थियो। सो विषयमा एन्फाले राखेपलाई एएफसीमा पठाउन विवरण माग गरेकोमा राखेपले प्राविधिक परामर्शदाताको सहयोगमा अध्ययनपछि तयार पारेको सम्पूर्ण विवरण एन्फालाई दिएको थियो।

त्यस्तै संसदीय व्यवस्था समितिमा दशरथ रंगशालाको अवस्थाबारे प्रश्न उठ्दा राखेपमा पनि दबाब बढेको थियो।

यसका वावजुत एन्फाले आज मध्यरातमा विज्ञप्ति जारी गर्दै एएफसीले मैदानको अवस्था, फ्लडलाइट र सुरक्षा चासोलाई देखाउँदै नेपालमा खेल खेलाउन नसकिने बताएको जनाएको छ। अब यो खेल साउदी अरबस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुने एन्फाले जनाएको छ।