अमेरिकाको केन्द्रिय बैंक (फेडरल रिजर्भ) ले ब्याजदर बढाए पनि त्यसको असर भारतीय लगायत एसियन र युरोपेली शेयर बजारमा देखिएको छैन। बिहिबार भारतीय बजारले नयाँ उचाइ लिएको छ।
भारतको सेन्सेक्स १८८ अंकको वृद्धिसँगै २९५८८ र निफ्टी ६९ अंकले बढेर ९१५४ अंकमा पुगेका छन्।
सेन्सेक्सले २९६१४ अंकसम्म छोएर आएको थियो भने निफ्टि ९१५८ अंकसम्म पुगेको थियो। यो एतिहासिक बढोत्तरी सँगै बम्बे स्टक एक्सचेञ्ज (बिएससी सेन्सेक्स)मा सुचिकृत कम्पनीको बजार पुजिकरण १२०.३५ लाख करोड रुपैया पुगेको छ।
उत्तर प्रदेश बिधान सभामा भारतीय जनता पार्टीको ठूलो बिजयसँगै २०१९ मा बिजेपी सरकार दोहोरिने र प्रधानमन्त्री नरेन्द्र मोदीको नीतिगत सुधार निरन्तर हुने आशमा बजार बढेको विश्लेषकहरुले बताएका छन्।
फेडरल रिजर्भद्वारा गरिएको ब्याजदर बढोत्तरीको असर भारत मात्र होइन अहिलेसम्म अरु कुनै पनि देशमा परेको छैन। हिजोको कारोबारमा अमेरिकाका चार वटा शेयर बजार बढे भने आज जापानको निक्केई लगाएत चाइनिज बजार सांघाई कम्पोजिट,चाइना ए ५० र डीजे सांघाई र हङकङ को हेन्सङ पनि बढेका छन्। युरोपेली बजार पनि बढ्दो गतिमा छन्।










