
काठमाडौं। बैंकर तारा मानन्धर डिस मिडिया नेटवर्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन्। उनले सोमबारदेखि कार्यभार सम्हालेका छन्।
करिब ३ वर्ष दुबईको मस्रेक बैंकमा नेपालको नायब प्रतिनिधि भएर काम गरेका उनी त्यसअघि विभिन्न वाणिज्य बैंक र विकास बैंकहरुमा माथिल्लो तहमा थिए।
डिस मिडियाले सर्वसाधारणलाई सेयर जारी गर्दैछ। ठूलो लगानीका लागि उसले प्राइभेट इक्विटी ल्याउनुपर्ने पनि बाध्यता छ। व्यवसाय घटिरहेको डिसहोमको कारोबार बढाउनुपर्ने चुनौती अब मानन्धरलाई छ।
पछिल्लो समय टेलिकम्युनिकेसन तथा टीभी, इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमाथि लगानी बढ्दो छ। हरेक पटक नयाँ प्रविधि भित्रिने भएकाले लगानी बढिरहेको हुन्छ। त्यसैले डिसहोमलाई अपग्रेड गर्दै ग्राहक आधार बढाउन अर्को कम्पनीलाई भित्र्याउनुपर्ने दबाब उनीमाथि हुने छ।
मस्रेकअघि उनी प्राइम कमर्सियल बैंकको सहायक महाप्रबन्धक थिए। तत्कालिन कैलाश विकास बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत रहेका उनी मर्जरपछि प्राइम पुगेका थिए।
कैलाशअघि उनी मुक्तिनाथ विकास बैंकले डेपुटी प्रमुख कार्यकारी अधिकृत थिए। त्यसअघि उनी प्रभु बैंकमा थिए। त्यहाँ पनि उनी डेपुटी प्रमुख कार्यकारी अधिकृत थिए।
प्रभु बैंकमा जानुअघि उनी बिजनेस युनिभर्सल बैंकमा एक वर्ष नायब महाप्रबन्धकका रूपमा काम गरेका थिए। नेपाल बंगलादेश बैंकबाट करिअर सुरु गरेका उनले त्यसपछि एनसीसी बैंक हुँदै स्ट्यान्डर्ड चार्टर्ड बैंक गएका थिए। उनको बैंकिङ क्षेत्रमा करिब २४ वर्षको अनुभव छ।