नेपालबाट फोन गर्दा सार्क मुलुक सबैभन्दा महँगो,विदेशमा टेलिफोन गर्दा कहाँ कति लाग्छ शुल्क

बिजमाण्डू
२०७३ भदौ ९ गते ००:०० | Aug 25, 2016
नेपालबाट फोन गर्दा सार्क मुलुक सबैभन्दा महँगो,विदेशमा टेलिफोन गर्दा कहाँ कति लाग्छ शुल्क
  • उमेश पौडेल/बिजमाण्डू

काठमाडौं । नेपाल टेलिकमले सार्क मुलुक माल्दिभ्समा फोन गर्दा सबैभन्दा महँगो शुल्क लिने गरेको छ । नेपालबाट माल्दिभ्समा फोन गर्दा सबैभन्दा बढी मिनेटको ६० रुपैयाँ तिर्नुपर्छ ।

नेपालबाट कल गर्दा सबैभन्दा महँगो शुल्क तिर्ने मुलुकमा माल्दिभ्स पर्छ । यो वाहेकका विश्वका कुनैपनि मुलुकमा फोन गर्दा कम शुल्क तिरेर कुरा गर्न पाइन्छ । विदेशमा फोन गर्दा सस्तो शुल्कका लागि एक्सेस कोड १४२४ राख्दा पनि माल्दिभ्समा कुनै छुट छैन । विदेशमा रहेका आफन्तलार्इ फोन गर्दा सुरुमा १४२४ राखेर टेलिफोन नम्बर डायल गरेपछि प्रति मिनेटमा भारी छुट पाइन्छ ।

Tata
GBIME

तर माल्दिभ्समा यो छुट लागु छैन । नेपालबाट फोन गर्दा अमेरिका, अष्ट्रेलिया,युरोपेली मुलुक, खाडी र अफ्रिकी मुलुक भन्दा सार्क मुलुकनै महँगो शुल्क तिर्नुपर्छ ।  छिमेकी मुलुक भारतमा प्रतिमिनेट २ रुपैयाँ ९ पैसामा फोन गर्न पाइन्छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि भारतमा टेलिफोन गर्दाको शुल्क घटेको हो । उनले संसदमा संबोधन गर्दै नेपाल र भारतबीच टेलिफोनको शुल्क बढी भएको भन्दै शुल्क घटाउन आग्रह गरेका थिए । उनको आग्रहसँगै दुबै देशका अपरेटरले टेलिफोनको शुल्क घटाएका थिए ।
 
नेपालबाट सार्क मुलुकहरु बंगलादेश, पाकिस्तान, श्रीलंका, भूटान र अफगानिस्तानमा टेलिफोन गर्दा क्रमश:  ४ रुपैयाँ, ८ रुपैयाँ, १२ रुपैयाँ, १५ रुपैयाँ र अफगानिस्तान २४ रुपैयाँ टेलिकमले लिने गरेको छ ।धेरै नेपालीहरु काम गर्न गएका खाडी मुलुकहरु दुवर्इ, कतार, साउदी अरब, इराक, इरान र लेवनानमा एक्सेस कोड (१४२४)राखेर  प्रतिकल १२ रुपैयाँ टेलिकमले लिने गरेको छ ।  त्यस्तै बहराइन र कुवेतमा कल गर्दा एक्सेसकोड प्रयोग गरेर आठ रुपैयाँ लिने गरेको छ।

टेलिकमले मलेसिया, दक्षिण कोरिया र मकाउका लागि एक्सेस कोड प्रयोग गरेर ६ रुपैयाँ लिने गरेको छ भने नेपालवाट महिला कामदार धेरै जाने मुलुक इजरायलमा प्रतिकल आठ रुपैयाँ लिने गरेको छ।टेलिकमले अमेरिका र क्यानडाका लागि एक रुपैयाँ ७५ पैसा लिने गरेको छ। टेलिकमले चीन र हङकङका लागि  प्रति मिनेट तीन रुपैयाँ शुल्क लिन्छ ।

 सिंगापुर, बेलायत र थाइल्याण्डका लागि प्रति मिनेट चार रुपैयाँ शुल्क टेलिकमले लिने गरेको छ ।अष्ट्रेलियामा एक्सेस कोड राखेर प्रति मिनेट सात रुपैयाँ ७५ पैसा टेलिकमले शुल्क लिने गरेको छ ।युरोपेली  देशहरु साइप्रस, स्विडेन, हंगेरी र फिनल्याण्डमा प्रतिमिनेट ८ रुपैयाँ शुल्क टेलिकमले लिने गरेको छ ।  टेलिकमका अनुसार जर्मनी, नेदरल्याण्ड, स्पेन, डेनमार्क, नर्वे, बेल्जियम र फ्रान्समा प्रतिकल एक्सेसकोड राखेर १० रुपैयाँ लिने गरिएको छ । टेलिकमले स्विजरल्याण्डमा कल गर्दा १५ रुपैयाँ लिने गरेको छ।

टेलिकमले अफ्रिकी देशहरुमा २० रुपैयाँ  र अरु बाँकी देशहरुमा प्रतिकल २० रुपैयाँ  लिने गरेको छ।'टेलिकमले लिने गरेको यो पैसा सोझै कम्पनीले निर्धारण गर्ने होइन ' नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बिजमाण्डूसँग भनिन् 'सम्वन्धित देशको सरकार र इन्टरनेशनल टेलिकम्युनिकेसन युनियन (आयटियु)ले तोकेको मापदण्ड अनुसार शुल्क तय हुन्छ ।'