प्रधानमन्त्री दाहाल कोप २८ मा सहभागी हुन दुबई प्रस्थान, खड्कालाई कार्यवाहकको जिम्मेवारी

बिजमाण्डू
२०८० मंसिर १३ गते २२:५५ | Nov 29, 2023
प्रधानमन्त्री दाहाल कोप २८ मा सहभागी हुन दुबई प्रस्थान, खड्कालाई कार्यवाहकको जिम्मेवारी


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन ‘कोप’ २८ मा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्स (युएई) को दुबई प्रस्थान गरेका छन्।

Tata
GBIME
NLIC

प्रधानमन्त्री नेपाल एयरलाइन्सको नियमित उडानबाट बुधबार साँझ दुबई प्रस्थान गरेका हुन्। बिहीबारदेखि कोप–२८ दुबईमा हुँदैछ। प्रधानमन्त्री दाहाल मंसिर १५ र १६ गते ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी हुनेछन्। उनले मंसिर १६ गते उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री युएईको ५२औँ एकता दिवसका अवसरमा युएईले आयोजना गर्ने समारोहका साथै ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने कार्यक्रम छ। दाहालले मंसिर १६ गते जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका ‘एजेन्डा’लाई प्रवर्द्धन गर्न ‘पर्वतको आह्वान: जलवायु संकटबाट हामीलाई कसले जोगाउँछ?’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गर्दैछन्।

प्रधानमन्त्री दाहालले उच्चस्तरीय सम्मेलनमा सहभागी हुने सिलसिलामा दुबईमा एकत्रित भएका विभिन्न मुलुकका राष्ट्र/सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। दाहालले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमण गरेर त्यहाँ नेपाली समुदायसँग छलफल गर्नुका साथै नेपाल–युएई व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र नेपाल सरकारका वरिष्ठ अधिकारी छन्। प्रधानमन्त्री दाहाल मंसिर १७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री दाहालको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी तोकेका छन्।