
थलापति विजय स्टारर दक्षिण भारतीय फिल्म ‘लियो’ ले बक्सअफिसमा कमाल गरिरहेको छ। फिल्मले ६ दिनमा घरेलु बक्सअफिसमा २५० करोड भारतीय रुपैयाँको व्यापार गरिसकेको छ।
गत बिहीबारबाट रिलिज भएको लियोले पहिलो दिन ६४ करोड ८ लाख भारतीय रुपैयाँ कमाएको थियो। शुक्रबार ३५ करोड २५ लाख कमाएको फिल्मले तेस्रो दिन शनिबार ३९ करोड ८ लाख भारतीय रुपैयाँको व्यापार गरेको थियो।
चौथों दिन आइतबार ४१ करोड ५५ लाख र पाँचौ दिन सोमबार फिल्मको कमाई ३५ करोड ७ लाख भारतीय रुपैयाँ थियो। हिजो मंगलबार भने यस फिल्मले ३२ करोड ४५ लाख भारतिय रुपैयाँ कलेक्सन गरेको थियो।
एक्सन जनरामा बनेको फिल्ममा विजयसहित सञ्जय दत्त, सुर्या र तृषा कृषनको पनि अभिनय रहेको छ। लियो सञ्जयका लागि तमिल डेब्यू फिल्म समेत हो।
लोकेश कनागराज निर्देशित यस फिल्मले समीक्षक र दर्शकबाट पनि सकरात्मक प्रतिक्रिया पाइरहेको छ। यो फिल्म तमिलसहित तेलुगु, कन्नड र हिन्दी भाषामा रिलिज भएको थियो।