मनाङ एयरको डाउनफल, तीन महिनामै दुई हेलिकोप्टर दुर्घटनाले कम्पनी संकटमा

वसन्तराज उप्रेती
२०८० असोज २९ गते १७:३२ | Oct 16, 2023
मनाङ एयरको डाउनफल, तीन महिनामै दुई हेलिकोप्टर दुर्घटनाले कम्पनी संकटमा

काठमाडौं। हेलिकोप्टर उडानका लागि २६ वर्षअघि स्थापना भएको मनाङ एयर एकपछि अर्को दुर्घटनाले संकटमा परेको छ। तीन महिनामा भएका दुई वटा दुर्घटनाले उडान इजाजत पत्र नै निलम्बन भएपछि कम्पनीको व्यवस्थापन र सुशासनको पाटोमाथि नै प्रश्‍न उठेको छ।

Tata
GBIME

तीन महिनाअघि सोलुखुम्बुको सुर्केबाट काठमाडौंमा उडान गर्ने क्रममा कम्पनीको नाइन एन-एमभी कलसाइनको हेलिकोप्टर दुर्घटना भएको थियो। दुर्घटनामा पाइलटसहित ६ जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनाको अनुसन्धान नसकिँदै असोज २७ गते मनाङ एयरकै अर्को हेलिकोप्टर दुर्घटनामा पर्‍यो।

लुक्ला-लोबुचे उडानका क्रममा नाइन एन-एएनजे कलसाइनको हेलिकोप्टर दुर्घटना भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि कम्पनीको उडान इजाजत पत्र (एओसी) नै निलम्बन गरेको छ।

यसअघि भएको दुर्घटनाको छानबिन प्रतिवेदन तयार नहुँदै कम्पनीको अर्को हेलिकोप्टर दुर्घटना भएका कारण तत्कालका लागि एओसी निलम्बन गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए। ‘हामीले यो दुर्घटनाका लागि प्राविधिक टोलीसहितको अनुसन्धान समिति गठन गरेका छौं। समितिले अनुसन्धान सुरु गरिसकेको छ‚’ उनले बिजमाण्डूसँग भने, ‘समितिले दिने प्रतिवेदनका आधारमा थप कारबाही अगाडि बढाइनेछ।’

हेलिकोप्टर दुर्घटनामा परेर घाइते भएका क्याप्टेन पीके सेढाइलाई उपचारका लागि भारत पठाइएको छ। उनको अवस्था खतरामुक्त रहेको भनिएको छ।

मनाङ एयर अहिले हेलिकोप्टर थप्ने तयारीमा थियो। कम्पनीका सुरक्षा प्रबन्धक राजु न्यौपानेले एयरबस कम्पनीसँग नयाँ हेलिकोप्टर खरिदका लागि सम्झौता गरिसकेको बताए। ‘यसअघि भएको दुर्घटनालगत्तै नयाँ हेलिकोप्टर खरिद प्रक्रिया अघि बढाएका थियौं। तर प्राधिकरणले एओसी नै निलम्बन गरिदिएपछि एलसी खोल्ने प्रक्रिया नै प्रभावित भएको छ,’ न्यौपानेले भने।   

मनाङ एयरको हेलिकोप्टर। फाइल फोटो

३ महिनाको अन्तरालमा दुई हेलिकोप्टर दुर्घटना भएपछि प्राधिकरणले मनाङ एयरको व्यवस्थापन र सुशासनलाई निकै गम्भीरतासाथ हेरिरहेको छ। ‘मौसममा सुधारसँगै प्रतिबन्ध हटाएलगत्तै भएको दुर्घटनाले हामी निकै चिन्तित छौं। दुर्घटनामा व्यवस्थापकीय कमजोरी थिए थिएनन् भन्नेबारे पनि समितिले गहिरोसँग अध्ययन गर्नेछ’, निरौलाले भने, ‘यो दुर्घटनाले यसअघि मौसमी प्रतिकूलतामा हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाउनु सही थियो भन्ने प्रमाणित भएको छ।’

कम्पनीले भने मौसमका कारण दुर्घटना भएको बताएको छ। क्लियर वेदरमा लोडरहित उडान हुँदा हावाको बेगका कारण पछिल्लो दुर्घटना भएको हो,’ न्यौपानेले भने, ‘हामीले अहिले हरेस खाएका छैनौं। हाम्रो संस्थागत त्रुटि छैन। समितिले ‍औंल्याए प्राधिकरणको कारबाही भोग्न तयार छौं।’ प्राधिकरणले निलम्बन फुकुवा गरेपछि नयाँ हेलिकोप्टर भित्र्याएर सेवा सञ्चालन गर्ने उनले बताए।       

सन् १९९७ मा स्थापना भएको मनाङ एयरले सन् २००० मा दुई वटा एमआइ-१७ सिरिजका हेलिकोप्टरमार्फत व्यावसायिक उडान सुरु गरेको थियो। उसले सन् २००९ नोभेम्बर १५ मा एमआइ-१७ फेजआउट गर्‍यो। आफ्नो सेवा थप चुस्त बनाउने उद्देश्यले कम्पनीले एयरबस हेलिकोप्टर एएस ३५० बीथ्री एच १२५ सिरिजमार्फत सन् २०१४ मा व्यावसायिक उडान पुनः सुरु गरेको थियो। मनाङ अहिले हेलिकोप्टरविहीन छ।