एकै ठाउँमा देखिँदैनन् धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका महाप्रबन्धक, किन बिग्रियो सम्बन्ध?



बिजमाण्डू
२०७२ फागुन ४ गते ००:०० | Feb 16, 2016
एकै ठाउँमा देखिँदैनन् धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका महाप्रबन्धक, किन बिग्रियो सम्बन्ध?


काठमाडौं।

Tata
GBIME
Nepal Life
  • झण्डै एक महिना अगाडि धितोपत्र बोर्डले विभिन्न सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गर्‍यो। छलफलमा सबै निकायका प्रमुख उपस्थित थिए, तर नेप्सेबाट भने महाप्रबन्धक सिताराम थपलियाले आफू जानुकको साटो उनले आफू मातहतका कर्मचारी पठाइदिए।
  • केही दिन अघि अर्को यस्तै कार्यक्रम भयो। ड्यासमा बोलाइए, धितोपत्र बोर्डका अध्यक्ष डा रेवबहादुर कार्की, सिडिएससीका सिइओ देवप्रकाश गुप्ता र नेप्सेका महाप्रबन्धक सिताराम थपलिया। थपलियाले त्यहाँ पनि उप निर्देशक तहका कर्मचारी पठाए, आफू गएनन्।

यी दुई प्रतिनिधि घटना मात्रै हुन्। पछिल्लो समयमा नियामक निकाय धितोपत्र बोर्डसँग देशको एउटा मात्रै पुँजी बजार नेपाल स्टक एक्सचेन्जको सम्बन्ध चिसिएको छ।
 
'बोर्डको अध्यक्ष नियुक्त भएपछि कार्कीले थपलियालाई बोर्डमा बोलाएर पुँजी बजारका विषयमा छलफल गरेका पनि थिए, सुरुसुरुमा दुईजनाको सम्बन्ध राम्रो भएपनि अहिले चिसिएको महसुश हामीले गरेका छौं,' स्रोतले बिजमाण्डूसँग भने, 'पछिल्लो समयमा नेप्सेको कार्यशैलीप्रति बोर्डले गम्भीर असहमति जनाउँदै आएको देखिन्छ।'
 

स्रोत अनुसार धितोपत्र कारोबारको कमिसन घटाउने प्रस्ताव बोर्डले गरेपछि नेप्से बोर्डसँग असन्तुष्ट बनेको हो। हुनत कार्की अध्यक्ष हुनुअघि नै बोर्डले नियमावली परिवर्तन गरेको थियो तर अहिले अर्थमन्त्रालयसम्म नै यो विषय पुगेको छ। 'बोर्डले प्रस्ताव गरेको कारोबार कमिसन घटाउने विषयमा नेप्सेले मन्त्रालयमा गएर नै त्यसो नगर्न भनेको रहेछ,' बोर्ड स्रोतले भन्यो।
 
बोर्ड र नेप्सेको राय फरक आएपछि कारोबार कमिसन घटाउने विषय अझै टुंगिएको छैन। बोर्डले अहिलेको शुल्क महँगो भएको बताउँदै आएको छ भने नेप्सेले आफ्नो आम्दानीको स्रोत कम हुने भन्दै त्यसो गर्न नहुने पक्षमा लबिङ गर्दै आएको छ।
 
नेप्सेले माघ ११ गते आफ्नो वेबसाइटमा केही समय एउटा सूचना प्रकाशित गरेको थियो। तर त्यो केही समयमा नै हट्यो। सूचनामार्फत नेप्सेले ब्रोकरको कार्यक्षेत्र विस्तारदेखि ट्रेडिङ लगइन दुईसय ९० वटासम्म दिन सकिने बतायो। तर बोर्डले त्यसमा गम्भीर असहमति जनाउँदै आफ्नो निर्णयबाट पछाडि हट्न मात्रै भनेन भविष्यमा यस्तो निर्णय लिँदा आफ्नो राय लिन पनि भन्यो। बोर्डको यही निर्देशनले नेप्सेलाई चिढ्यायो। 'नेप्सेको निर्णयमाथि नै प्रश्न मात्रै बोर्डले गरेन, आफूले गरेको काममा पनि काममा हस्तक्षेप भएको नेप्सेले ठानेको हुनुपर्छ,' स्रोत भन्छ।
 
बोर्डले दोस्रो बजारसँग सम्बन्धित कतिपय निर्णय अत्यन्तै संवेदनशील हुने भन्दै त्यस्ता विषयमा निर्णय गर्दा आफ्नो सहमति लिन पनि नेप्सेलाई निर्देशन दिइसकेको छ।
 
नेप्सेले आफ्नो वेबसाइटमा सूचीकृत कम्पनी आफैंले आफ्ना विभिन्न विवरण राख्न पाउने व्यवस्था गरेको छ। बोर्डले त्यसमा पनि असहमति जनाइसकेको स्रोतले दावी गरेको छ। 'कम्पनीलाई त्यस्तो गर्न दिँदा चलखेल हुन सक्ने आशंका बोर्डले गरेको छ,' बोर्ड निकट स्रोतले भन्यो, 'नेप्सेका कामले बजारमा केही गलत काम हुन सक्ने आशंका बोर्डको छ।'
 
यस्तै बोर्डले आउँदो वैशाख १ गतेसम्ममा तीनवटा क्लिएरिङ बैंक स्थापना गर्न नेप्से र सिडिएस एण्ड क्लिएरिङ लिमिटेड (सिडिएससी)लाई निर्देशन दिएको छ। बोर्डले धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट विनियमावली अनुसार कम्तिमा तीनवटा क्लिएरिड्ड बैंक स्थापना गर्न भनेको हो। बोर्डको यही निर्देशनले पनि नेप्सेलाई थप चिढ्याएको स्रोतको दावी छ।