
तीन वर्षअघि बलिउड अभिनेत्री आलिया भट्टले बालबालिकाको पहिरन ब्राण्ड ‘एड ए मम्मा’ खोलिन्। त्यो ब्राण्डलाई अहिले उनले बेच्न लागेको खबर चर्चामा छ। भारतीय मिडियाका अनुसार आलियाको ब्राण्डलाई भारतकै ठूलो रिलायन्स औद्योगिक रिटेल कम्पनीले खरिद गर्दैछ। जसको बिक्रीबापत आलियाले ३ अर्ब भारतीय रुपैयाँ पाउनेछिन्।
आलिया र रिलायन्स ग्रुपबीच सम्झौता पक्का भएमा भारतका ठूला फिल्मी स्टारले स्टार्टअप कम्पनीमा लगानी गर्ने सिलसिला बढ्ने लगानीकर्ता भास्कर मजूमदारले बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
अहिले धेरै भारतीय सेलिब्रेटीले स्टार्टअपमा लगानी गरिरहेका छन्। अभिनेत्री दीपिका पादुकोणले पनि गत वर्ष स्किन केयरको ब्राण्ड ‘८२ इ’ खोलिन्। लगभग त्यही समय दीपिकाका श्रीमान रणवीर सिंहले पनि ब्युटी ब्राण्ड सुगर कस्मेटिक्समा लगानी गरेका थिए।
सन् २०१० को दशकमा भारतमा स्टार्टअप कम्पनीले आफ्नो पहिचान बनाउन सुरु गरेका हुन्। त्यसबेलादेखि नै सेलिब्रेटीहरु स्टार्टअप कम्पनीमा सक्रिय छन्।
सलमान खानले पनि स्टार्टअप कम्पनीमा लगानी गरेका थिए। उनले सन् २०१२ मा ट्राभल पोर्टल यात्राको केही सेयर किनेका थिए। विश्व बजारमा भारत स्टार्टअपमा आफूलाई अब्बल सावित गर्न खोजिरहँदा सेलिब्रेटीहरु पनि यस क्षेत्रमा लाग्ने ‘ट्रेन्ड’ बढ्दै छ।
सन् २०२२ मा भारतका १४ जना कलाकारले १८ वटा स्टार्टअप कम्पनीमा लगानी गरेको देखिन्छ। जसमध्ये धेरै कम्पनी सुरुवाती चरणमा थिए। कलाकारले त्यस्ता कम्पनी छाने, जो सिधै ग्राहकसँग कारोबार गर्छन्। साथै केही कलाकारले भने एड-टेक, इ-कमर्स र फूड-टेक जस्ता कम्पनीमा समेत लगानी गरेको भेटिन्छ। सार्क ट्यांक इन्डिया प्रसारण भएपछि पनि भारतमा स्टार्टअपबारे नयाँ बहस सुरु भएको हो।
क्रोलका भ्यालुएसन एडभाइजरी सेवाका प्रबन्ध निर्देशक अविरल जैन अहिले कलाकारहरुले आफ्नो स्टारडम कायम राख्दै सुरक्षित क्षेत्रमा लगानी गर्न चाहेको बताउँछन्। आलियाले सेलिब्रेटी स्टारडम र ठूलो फ्यान फलोइङको फाइदा उठाएर स्वदेशी ब्रान्डलाई सफल व्यवसायमा परिणत गर्न सकिन्छ भनेर देखाएको उनको भनाइ छ।
केही वर्षअघिसम्म धेरै कलाकार व्यवसायमा लगानीका लागि परिवारका सदस्यमा भर पर्थे। शाहरुख खानले बलिउडमा जति नाम र दाम कमाए, खेलकुद कम्पनीदेखि रेस्टुरेन्टमा सञ्चालन गरेर पनि आर्जन गरे। अमिताभ बच्चन र ज्याकी श्राफ जस्ता अभिनेताले भने पैसा गुमाउनुपर्यो। उनीहरुले आफ्नो सबै लगानी फिल्म निर्माणजस्तो जोखिमपूर्ण व्यवसायमा लगानी गरेका थिए।
तर, समय फेरिएको छ किनभने अहिलेका कलाकार लगानीको मामिलामा एक कदम अगाडि छन्। उनीहरु सेयर बजारदेखि विभिन्न उद्योग व्यवसाय र स्टार्टअप कम्पनीमा आबद्ध छन्। केहीले भने आफ्नो लगानीलाई व्यावसायिक हिसाबमा लान ‘फेमिली बिजनेस’ नै सुरु गरेका छन्।
एपिक क्यापिटलकी एसोसिएट डाइरेक्टर नवजोत कौर भन्छिन्, ‘अल्ट्रा हाई नेट वर्थ व्यक्तिहरूले आफ्नो पैसा भारतको भेन्चर क्यापिटलमा लगानी गरिरहेका छन्। र, सेलिब्रेटीहरू पनि त्यस क्षेत्रको एक हिस्सा हुन्।’
ब्रान्ड र सेलिब्रेटीबीचको यो साझेदारी दुवैका लागि लाभदायक हुने विज्ञहरु बताउँछन्। स्टार्टअप कम्पनीलाई सेलिब्रेटीको पैसा र समर्थनले थप विश्वसनीय बनाउँछ। जसले गर्दा सजिलै लाखौं ग्राहक कम्पनीसँग जुध्न पुग्छन्।
‘ब्लु ट्राइभ फुड’ कम्पनीको सन्दर्भमा पनि यस्तै भएको थियो। क्रिकेटर विराट कोहली र अनुष्का शर्माले प्लान्ट बेस्ट मीट कम्पनीमा लगानी गरेका थिए। उनीहरु समावेश भएसँगै ब्रान्ड प्रमोसन हुनुका साथै जनचेतना पनि एकैपटक लाखौं मानिसमा पुगेको कम्पनीका प्रमुख कमर्सियल अफिसर सोहिल वजीरले बीबीसी हिन्दीसँग भनेका छन्।