
काठमाडौं। नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल-हेलले शुक्रबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटे।
आफ्नो कार्यकाल सकिएपछि विदाई भेटका लागि राजदूत हेल गएका थिए। त्यो भेटमा विभिन्न आर्थिक विषयमा छलफल भएको थियो। छलफलपछि तिमिल्सिनाको सचिवालयबाट विज्ञप्ति जारी भयो। त्यो विज्ञप्तिमा राजदूत हेलले राखेका चासोलाई समेत महत्वका साथ उल्लेख गरिएको थियो।
राजदूतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायतबाट सीधा उडानका लागि कतारका एयरलाइन्सले ६ पटकसम्म पत्राचार गर्दा समेत नेपाली पक्षबाट कुनै चासो नआएको विज्ञप्तिमा उल्लेख छ।
‘पोखरा लगायतका विमानस्थलमा सीधा उडानका लागि कतारका एयरलाइन्सले चासो राखेर नेपाल सरकारका निकायहरुमा ५/६ पटकसम्म पत्राचार गरेपनि नेपाली पक्षबाट कुनै प्रतिक्रिया पाउन सकिएको छैन,’ राजदूत हेलको भनाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘नेपालले चासो राखेर अघि बढेमा पोखरा र भैरहवाबाट सीधा उडान गर्न कुनै समस्या छैन।’ कतारका राजदूत हेलको नेपाली सरकारी निकायमाथि गम्भीर प्रश्न उठाए।
कुटनीतिक निकायबाट आएको यो गम्भीर प्रश्नका बारेमा हवाई उड्डयनको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई सोध्दा कतारका कुनै पनि एयरलाइन्सबाट आवेदन नआएको जवाफ दिए।
‘हामीलाई कुनै पनि कतारका एयरलाइन्सले पोखराबाट उडान भर्न आवेदन दिएका छैनन्। बरु हामी पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न विन्ती गरिरहेका छौं,’ उनले बिजमाण्डूसँग भने, ‘ती विमानस्थलबाट उडान भर्ने कुनै पनि कम्पनी आउँछ भने रेड कार्पेट विछ्याउन हामी तयार छौं।’
पोखरा विमानस्थल संचालनमा आएको ६ महिना भन्दा बढी भएपनि अहिलेसम्म सिचुवान एयरलाइन्सको चार्टर उडान वाहेक हुन सकेको छैन। २२ अर्ब रुपैयाँ भन्दा बढी लगानीमा निर्माण भएको यो विमानस्थलबाट आन्तरिक उडान मात्रै भइरहेको छ।
राजदूतको सचिवालयले खण्डन गर्यो
कतारका राजदूत हेलको सचिवालयले राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासँग पोखरा विमानस्थलमा कतारका एयरलाइन्सले उडानका लागि पत्राचार गरेको बारेमा केही नबोलेको जिकिर गरेको छ।
‘राजदूतले पोखरा विमानस्थलबाट उडान गर्ने बारेमा केही बोल्नु भएको छैन। बरु राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाज्यूबाट पोखरामा कतारका एयरलाइन्सबाट उडान हुनुपर्यो। पोखरा पर्यटकीय गन्तब्य भएकाले त्यहाँका नागरिक सीधै आउन सकिन्छ,’ तिमिल्सिनाको भनाई उद्धृत गर्दै दूतावासका एक कर्मचारीले भने, ‘त्यसपछि राजदूतज्यूले त्यसका लागि प्रयास गर्छु भन्नुभएको हो।’