
काठमाडौं। रिडी पावरको सेयर पछिल्लो एक सातादेखि लगातार घटिरहेको छ। हाइड्रोपावर कम्पनीहरुकै इतिहासमा पहिलोपटक रैराङ हाइड्रोपावरसँग एकीकृत कारोबारपछि यो कम्पनीको सेयर ओरालो लाग्न थालेको हो।
मर्जर अघि अन्तिम पटक २०७८ कात्तिक १७ गते रिडीको सेयर मूल्य प्रति कित्ता ८७२ रुपैयाँ सम्म कारोबार भएको थियो। जुन मूल्य हाल कारोबार भइरहेको मूल्यको तुलनामा ६८ प्रतिशत बढी हो। त्यो बेला रैराङ हाइड्रोपावरको अन्तिम सेयर कारोबार प्रति कित्ता ५७५ रुपैयाँ थियो।
त्यसपछि मर्जरका क्रममा यी दुवै हाइड्रोपावरको सेयर कारोबार रोक्का भएको थियो। एकीकृत कारोबारका लागि यो कम्पनीले ७०८.६० रुपैयाँ ओपनिङ रेञ्ज प्राप्त गरेको थियो।
सोही मूल्यको आसपासमा रहेर गत साउन ३० गतेबाट प्रति कित्ता ६९४ रुपैयाँमा कम्पनीको कारोबार खुलेको हो। तर संयुक्त रुपमा कारोबारमा आएलगत्तै कम्पनीको सेयर वियरिस ट्रेण्ड समात्यो।
साउन ३० गतेपछि कम्पनीको सेयर मूल्य करिब ६०.२३ प्रतिशतले घटिसकेको छ। अहिले कम्पनीको सेयर कारोबार प्रति कित्ता २७६ रुपैयाँमा भइरहेको छ।
निरन्तर वियरिसमा
मर्जरमा गएर कम्पनीको पुँजीको आकार बढेको छ। पुँजीका हिसाबले बलियो देखिएपनि वित्तीय स्थिति कमजोर छ।
व्याजदरमा आएको वृद्धि तथा बाढीका कारण कम्पनीको आयोजनामा ठुलो क्षति भएको छ। नाफा र विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी घटेको छ। बाढीका कारण आयोजनाका भएको क्षति हालसम्म बीमा कम्पनीबाट पाएको छैन।
आम्दानी घट्दा कम्पनीको प्रति सेयर आम्दानी पछिल्लो एक वर्षमानै १ रुपैयाँ भन्दा तल आईपुगेको छ। समग्रमा लगानीकर्ताहरुले कम्पनीको खराब वित्तीय विवरण आउन थालेपछि सेयरमा चासो देखाउन छाडेको देखिन्छ।
गत साउन ३० गतेबाट एकीकृत सेयर कारोबार थालेको रिडीको कात्तिक १५ गतेसम्म निरन्तर ३८ प्रतिशतले घटेर ४२७ रुपैयाँ सम्म झरेको थियो। तर कम्पनीले ४२ प्रतिशत लाभाश वितरण गर्ने चर्चाले पुन: कम्पनीको सेयर मूल्य बढ्न थाल्यो। गत पुस २६ गते ३७ प्रतिशतले बढेर प्रति कित्ता ६१२ रुपैयाँ सम्म पुग्यो।
बोनस सेयरका लागि मूल्य समायोजन भएर आएको केही दिनमै चालु वर्षको पुस मसान्तको वित्तीय विवरण सार्वजनिक गरेको थियो।
पुस मान्सान्तको वित्तीय विवरण निकै नाजुक आएको थियो। सो वित्तीय विवरणमा अनुसार पुस मसान्त सम्म कम्पनीको नाफा ९६ प्रतिशतले घट्यो भने संचालन खर्च ६४ प्रतिशतले बढेको छ। यस्तै विद्युत बिक्रीबाट हुने आम्दानी भने ८५ प्रतिशतले घटेको छ। प्रति सेयर आम्दानी ३.५६ रुपैयाँमा झरेको छ।
त्यसपछि कम्पनीको सेयर मूल्य निरन्तर घटिनै रह्यो। त्यसपछि चैत मसान्तको वित्तीय विवरण झनै कमजोर देखियो। चैत सम्म आइपुग्दा कम्पनीको नाफा ९९.०७ प्रतिशतले घटेको छ। चैतमा कम्पनीले ४४ लाख ८९ हजार मात्र खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४८ करोड ३८ लाख खुद नाफा कमाएको थियो।
यस्तै यो अवधिसम्म आइपुग्दा कम्पनीको संचालन खर्च करिब १९६ प्रतिशतले बढेको छ भने विद्युत बिक्रीबाट हुने आम्दानी ६२ प्रतिशतले घटेको छ।

चैत सम्म आइपुग्दा प्रति सेयर आम्दानी ०.३९ रुपैयाँमा झरेको छ भने प्रति सेयर नेटवर्थ पनि करिब १०० रुपैयाँको हाराहारीमा छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाइ ४० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। बोनस सेयरका कारण सेयरको आपूर्ति बढ्यो र नाफा विभाजन भयो। जसकारण प्रति सेयर आम्दानी थप घटेको हो।
यो वर्ष असारको पहिलो साता आएको बाढीका कारण कम्पनीको ९.९० मेगावाटको आयोजना प्रभावित भएको छ। जसकारण यो योजनाबाट विद्युत उत्पादनको काम केहि महिनालाई नै रोकिने भएको कम्पनीको एक स्रोतले जानकारी दिएको छ।
किन खस्किदै गयो वित्तीय विवरण ?
रिडीले ९.९० मेगावाट क्षमताको ईङ्वाखोला, २.४० मेगावाटको रिडी खोला, वुटवल सोलार र रैराङखोला लगायतका आयोजनाहरु संचालन गरिरहेको छ ।
कम्पनी अध्यक्ष सञ्जीव न्यौपानेका अनुसार बाढीका कारण विभिन्न आयोजनाहरुमा क्षतिले उत्पादन रोकिएको बताउँदै त्यसले नाफा घटेको बताए। उनका अनुसार हेवाखोलामा आएको बाढीले रैराङ हाइड्रोपावरको आयोजना प्रभावित हुँदा आम्दानी घटेको छ।
गत वर्ष बाढीका कारण साउन, भदौ र असार तीन महिना विद्युत उत्पादन रोकिएको थियो। बाढीका कारण भएको क्षतिको बीमा रकम आएपछि कम्पनीको अवस्था रिकभर हुने न्यौपाने जिकिर गर्छन्। यो वर्षको असारमा ९.७ मेगावाटको इङ्वाखोलामा पनि बाढीका कारण ठुलो क्षति भएकाले असोज महिनासम्म विद्युत उत्पादन बन्द हुने उनले बताए।
‘प्राकृतिक कुरालाई हामीले रोक्न पनि सक्दैनौ। त्यसैले अहिले हामी थलिएका छौँ। गत वर्ष रैराङसँग मर्जर र बोनस सेयर दिएपछि आम्दानी घट्यो। बाढीले पनि क्षति पनि गर्यो। व्याजदरले पनि समस्या पार्यो,’ अध्यक्ष न्यौपानेले भने,’अहिले विद्युत बिक्रीको समस्या पूर्वमा छैन।’ आगामी दिनमा विद्युत बिक्रीलाई बढाउँदै आम्दानीसँगै प्रतिसेयर आम्दानी बढाउने उनले दाबी गरे।