
काठमाडौं। भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण योजना अघि बढेसँगै होटल-रेस्टुरेन्ट व्यवसायमा लगानी गर्न हौसिएकाहरु अहिले निराश छन्। सञ्चालनमा आएको वर्ष दिन बित्दा पनि विमानस्थलले अपेक्षित बिजनेस नपाउनुको सोझो असर होटल-पर्यटन क्षेत्रमा परेको छ।
पर्याप्त मात्रामा उडान संचालन र पर्यटन प्रचारप्रसार नभएपछि ३० प्रतिशतभन्दा बढी होटल धराशायी हुने संघारमा छन्। ऋण खोजेर लगानी गरेका व्यवसायीहरु किस्ता तिर्न नसक्दा छटपटीमा छन्। साना-ठूलादेखि निर्माणधीन होटल भित्रभित्रै बिक्रीमा रहेको व्यवसायीले बताएका छन्।
चार वर्षअघि सञ्चालनमा आएको होटल पवन प्यालेस बैंकको लिलामीमा परेपछि यतिखेर बिक्रीमा छ। वित्तिय अवस्था नै कमजोर भएपछि होटल बिक्रीमा राखिएको सञ्चालक पवनकुमार हलवाइले बताए।
‘बैंकले ताकेता गरेको गरेकै छ। हामी होटल बिक्री गरेर बैंकको ऋण सकार्ने योजनामा छौं। एक अर्बभन्दा बढी ऋण छ,’ उनले भने,’होटल चलाउन सकिएन। आफ्नो लागत उठ्ती र बैंकको ऋण सल्टाउनु नै अहिलेको मुख्य उद्देश्य हो।’
उनका अनुसार होटल चार वर्षअघि सवा दुई अर्बभन्दा बढीको लागतमा निर्माण गरिएको थियो। अपेक्षाअनुसारको व्यापार बढेन, ऋण थपिएको थपिएकै भयो।
भैरहवाकै ग्राण्ड कस्मो होटल लिलामीको संघारमा छ। नेपाल भ्रमण वर्ष २०२० सँगै अन्तर्राष्ट्रिय विमानस्थललाई मध्यनजर गर्दै चार वर्षअघि १७ करोडको लागतमा होटल निर्माण भएको थियो। यो ३४ कोठा क्षमताको होटल हो। कारोबार नभएपछि लगातार वित्तीय अवस्था खस्किएर लिलामी गर्नुपर्ने अवस्थामा पुगेको सञ्चालक एकरामउद्दीन खानले बताए।

‘जुन आशाले व्यवसाय सुरु गरियो त्यो अनुसार प्रतिफल आएन। यस्तो अवस्थामा सरकारको नीतिविपरीत बैंकले कारवाही गरिरहेको छ,’ उनले भने,’अदालतको स्टे अर्डरमा चल्दाचल्दै लिलामी सूचना जारी गरिएको छ। अब मुलुकलाई नै आर्थिक मन्दी लागेको बेलामा होटल बिक्री पनि सम्भव देखिएको छैन।’
यसैगरी निर्माणाधीन पाँचतारे होटल एसिया पनि आर्थिक संकटमा परेको छ। त्यसैले निर्माण कार्य ढिला भइरहेको संचालक शंकर घिमिरेले बताए। तीन अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो होटलका लागि वित्तीय व्यवस्थापन गाह्रो परेको छ।
१८ कठ्ठा क्षेत्रफलमा निर्माणधीन होटल संचालन र व्यवस्थापनका लागि साझेदार खोजिरहेको घिमिरेले बताए। ‘कोभिड र बैंकिङ रिसेसनका कारण हामीले बाध्यतावस काम पनि पर्याप्त गतिमा अगाडी बढाउन सकेका छैनौं,’ उनले भने, ‘मन्द गतिमा काम भइरहेको छ। नयाँ साझेदार भित्र्याउन विभिन्न समुहसँग कुराकानी भइरहेको छ।’
उनका अनुसार होटलका लागि साझेदार र व्यवस्थापन सम्हाल्ने समूह निश्चित भइसकेपछि मात्र डेकोरेसन र डिजाइनको काम अगाडि बढाउने योजना छ। १०८ कोठा रहने भनिएको होटललाई पछी डिजाइन परिमार्जन गर्दै भविष्यमा १५० कोठा बनाउने जनाइएको छ।
‘कतिपय होटल बैंकले सकारिसकेका छन् त कति लिलामी प्रक्रियामा गइसकेका छन्। करिब ४० प्रतिशत होटल लिलामीमा गइसकेका छन्। सबै होटलको हालत खराब छ,’ सिद्धार्थ होटल संघका अध्यक्ष सीपी श्रेष्ठले भने,’बैंकको ब्याजदर वृद्धि भइरहेको छ। बढाउँदा १० प्रतिशत, घटाउने बेला १ प्रतिशतका दरले घटाइएको छ।’
सरकारको पर्यटन नीति नै अनुपयुक्त हुनुले पनि असर पारेको उनको बुझाइ छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरु थपियो भने लुम्बिनी क्षेत्रको होटल-पर्यटनलाई सकारात्मक अरस पर्ने उनले बताए। नेपाल वायुसेवा निगमले सुरु गरेको उडान रुट नै अनुपयुक्त रहेको उनको भनाइ छ।
यो क्षेत्रमा भन्सार, अध्यागमन, सूचना केन्द्र लगायत निकायको सुविधा नै अस्तव्यस्त रहेको उनको भनाइ छ। ‘यहाँ आउने पर्यटक भारतीय नै हुन्। उनीहरुलाई यहाँ आउँदा २५ हजार रुपैयाँ भन्दा बढी ल्याउन पाइने प्रावधान छैन। त्यसमा पनि पाँच सय रुपैयाँको नोट ल्याउन पाइँदैन,’ उनले भने,’यसरी त कसरी अगाडि बढ्ला पर्यटकीय गतिविधि ?’
उनका अनुसार भैरहवामा यतिखेर साना ठूला गरेर एक सयवटा भन्दा बढी होटल सञ्चालित छन्। २१ वटा नयाँ होटल निर्माणाधीन र पाँचवटा तयार भएर संचालनमा आएको उनले जानकारी दिए।