
काठमाडौं। नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्शेर राणाको आइतबार बिहान ८ बजे निधन भएको छ।
९५ वर्षको उमेरमा राणाको निधन भएको हो। नेपालमा नेपाली रुपैयाँको चलनचल्ती बढाउनका लागि सरकारले राणाको नेतृत्वमा नेपाल राष्ट्र बैंक स्थापना गरेको थियो।
नेपाल राष्ट्र बैंकको स्थापनापछि बिस्तारै नेपालमा नेपाली नोट प्रचलनमा आउन थाल्यो। नभए भारु नोट नै चलनचल्तीमा थियो।
राणा लामो समयदेखि बिरामी थिए। उनी केही समयदेखि राजधानीको नर्भिक अस्पतालमा उपचाररत थिए। उनको आज बिहान साढे ११ बजे अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
राणाका दुई छोरा र दुई छोरी छन्। हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा स्वर्गीय राणाका छोरा हुन्। स्वर्गीय राणाकै पहलमा हिमालयन बैंक स्थापना भएको थियो।