काठमाडौं । किष्टसँग मर्ज सम्झौता गरेको प्रभु विकास बैंकले गौरीशंकर विकास बैंक र जेनिथ फाइनान्ससँग पनि मर्ज गर्ने सम्झौता गरेको छ । दुई वित्तीय संस्थासँग मर्ज गर्ने विषयमा आइतवार समझदारी बनेको हो । समझदारीमा हस्ताक्षर समेत भैसकेको छ ।

| चुक्ता पुँजी, निक्षेप र कर्जा रु हजारमा | |||||
| kist | prabhu bikas | Gauri shankar | Zenith | total | |
| paid up | 2000000 | 765964 | 211921 | 231000 | 3206866 |
| deposit | 19000000 | 9642697 | 1333674 | 1066411 | 31042782 |
| lending | 15000000 | 7010241 | 1053541 | 813736 | 23877518 |
| branch | 52 branch | 48 branch | 9 branch | 3 branch | 112 branch |
यी चार वित्तीय संस्थावीच यसै आर्थिक बर्ष भित्र एकिकृत कारोवार गर्ने लक्ष्य लिएर समझदारी गरिएको बैंकले जारी प्रेस विज्ञप्तिमा छ । समझदारी पत्रमा प्रभु बिकास बैंकका सञ्चालक एवं मर्जर कमिटिका संयोजक रामेश्वर सापकोटा, गौरीशंकर डेभलपमेन्ट बैंकका सञ्चालक ताराप्रसाद भट्टराई र जेनिथ फाइनान्सका अध्यक्ष अजयप्रसाद ढकालले हस्ताक्षर गरे ।
मर्जरपछि बैंकको कुल चुक्ता पूंजी तीन अर्ब २१ करोड तथा शाखाको संख्या ११२ पुग्ने पनि बैंकले जानकारी दिएको छ । मर्जपछि एटीएमको संख्या समेत सयभन्दा बढी रहने बैंकले जानकारी दिएको छ । करिब १२०० कर्मचारी संख्या तथा बैंकको ग्राहक आधार छ लाख हाराहारीमा पुग्ने छन् ।

हाल किष्ट बैंकसँग १९ अर्ब रुपैयाँ निक्षेप, प्रभु विकास बैंकसँग १० अर्ब ४० करोड, गौरीशंकर डेभलपमेन्ट बैंकसँग एक अर्व ४० करोड तथा जेनिथ फाइनान्ससँग एक अर्ब पाँच करोड रुपैयाँ बराबरको निक्षेप छ ।
किष्ट बैकसँग १५ अर्ब कर्जा, प्रभु विकास बैंकसँग सात अर्ब ४० करोड, गौरीशंकर डेभलपमेन्ट बैंकसँग एक अर्व १२ करोड तथा जेनिथ फाइनान्ससँग ९१ करोड रुपैयाँ बराबरको कर्जा लगानी छ ।
तिनवटै बैंक तथा वित्तीय संस्थाको मर्जर समितिले लामो छलफल र गहन बिश्लेषण पश्चात लिईएको निर्णयबाट नेपालको बैंकिङ्ग क्षेत्रमा आफनो बिद्यमान छवि र पहँुचलाई अझ फराकिलो पार्न सहयोग पुग्न जाने बिश्वास लिएका छन ।
मर्ज भएर बन्ने बैंकको नाम प्रभु बैंक राख्ने समझदारी गरिएको छ । यस विषयमा तिनवटै पक्षबीच छलफल भएको पनि प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । विगतमा प्रभुले सफलतापूर्वक मर्जर सम्पन्न गरिसकेको, बजारमा अन्य बैंक तथा वित्तिय संस्थालाई पनि आफनो नेतृत्वमा मर्जरमासंगै लिएर जान प्रभु बैंक नामकरण गर्ने समझदारी बनेको बताइएको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई पनि मर्ज प्रक्रियामा संगसंगै लिएर जानका लागी बृहत मर्जरको ढोका खुल्ला राखिएको जानकारी दिएको छ ।











