काठमाडौं नजिकैको ककनी-सूर्यचौर मार्गमा हाइकिङ गर्ने बढे, गोसाईँकुण्डसम्म पदमार्ग बनाउने योजना

बिजमाण्डू
२०७५ असोज १० गते १६:४८ | Sep 26, 2018
काठमाडौं नजिकैको ककनी-सूर्यचौर मार्गमा हाइकिङ गर्ने बढे, गोसाईँकुण्डसम्म पदमार्ग बनाउने योजना


काठमाडौं। राजधानीबाट नजिकै रहेको ककनी-सूर्यचौर पदमार्गबारे जानकारी दिन सरोकारवालाहरुले प्रवर्द्धनात्मक कार्यक्रम गरेका छन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले मंगलबार सो रुटमा सरोकारवालासहित हाइकिङ गरे।  

Tata
GBIME
Nepal Life

पर्यटनमन्त्री अधिकारीले  सूर्यचौर पदमार्ग क्षेत्रलाई अर्ग्यानिक पर्यटकीय स्थल बनाउनुपर्ने सुझाव समेत दिए।

विश्व पर्यटन दिवस पारेर  ट्राभल एशोसिएसन अफ नेपाल(टान) र नेपाल टुरिजम् बोर्डले आयोजना गरेको पदयात्रामा सूर्यचौरको पर्यटन प्रवर्द्धनकालागि अर्ग्यानिक खेती गर्नुपर्ने सरोकारवालाहरुले सल्लाह दिए।


सूर्यचौरमा हाइकिङकालागि पुग्नेहरु बढ्दै गएको शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए। उनका अनुसार सूर्यचौरको क्षेत्रफल २२ रोपनी रहेको छ।

त्यस क्षेत्रमा १० वटा रिसोर्ट रहेको उनले जानकारी दिए। रिसोर्टलाई गाउँपालिकाले जग्गा भाडामा उपलब्ध गराउँदै आएको छ।  

चक्रपथबाट सुर्यचौरसम्मको दुरी १३ किलोमीटर रहेको छ भने गुर्जेभन्ज्याङबाट साढे दुई किलोमीटरको दुरी रहेको उनले जानकारी दिए।

ककनीदेखि सूर्यचौर हुँदै गोसाईँकुण्डसम्म सहजै जानकालागि पदमार्ग विकास गर्ने योजना समेत रहेको थापाले जानकारी दिए। यसका लागि हालै २० लाख रुपैयाँ बजेट पारित भएको उनले बताए।


निकुञ्जभित्र प्रवेश गरिसकेपछि फोहोर फाल्न र ठूला आवाजले कुरा गर्न प्रतिबन्ध लगाइएको छ। सुर्यचौर पुग्दा १९ सय मीटर उचाइबाट हिमश्रृंखलादेखि काठमाडौं वरपरका बस्तीलाई सजिलै नियाल्न सकिन्छ।

 निकुञ्जभित्रको जंगल छिचोल्ने क्रममा विभीन्न प्रजातीका चराचुरुङ्गी, छहरा, हरियाली, फूल र वनस्पतिको बासनाले झण्डै तीन घण्टाको पदयात्रा रोमाञ्चक हुन्छ।