अश्लिल साइट ‘डिटेक्ट’ गर्ने प्रविधि नै छैन, सेवा प्रदायकले भने- कुन साइट बन्द गर्ने हो तोकिदिनु

बिजमाण्डू
२०७५ असोज १० गते १३:५४ | Sep 26, 2018


काठमाडौं। सरकारले यौनजन्य अश्लिल सामाग्रीको सहज पहुँचमा रोक लगाउन भन्दै त्यस किसिमका वेबसाइटहरु बन्द गर्न निर्देशन दिएपनि इन्टरनेट सेवा प्रदायकहरुले भने सरकारले तोकेर दिएको साइट बाहेर अरु बन्द गर्न नसक्ने बताएका छन् ।

Tata
GBIME
Nepal Life

दूरसञ्चार प्राधिकरणले मंगलबार इन्टरनेट सेवा प्रदायकहरुलाई बोलाएर सरकारको निर्देशन कार्यन्वयन गर्न भनेको थियो । तर, सेवा प्रदायकहरुले भने कुन–कुन साइट बन्द गर्ने हो तोकेर दिन प्राधिकरणलाई भनेका छन् ।

इन्टरनेट सेवा प्रदायक संस्था सुविसुका निर्देशक सुधीर पराजुलीले सरकारले तोकेर दिएका बाहेक अरु साइट बन्द गर्न नसक्ने बताए ।

‘कुन पोर्न साइट हो, कुन होइन भन्ने छुट्याउन हामी कुनै नियामक निकाय होइन । सरकारले दिएको निर्देशन कार्यान्वयन गर्छौ तर, हामी आफैँ अनुगमन गर्दैनौ’, उनले भने, ‘हामीले सर्भिस दिने हो । त्यसको नियमन गर्ने निकाय अर्कै छ ।’

दूरसञ्चार प्राधिकरणले सूचना नै प्रकाशन गरेर मुलुकी अपराध संहिता–२०७४ ले यौनजन्य सामाग्रीहरुको आदानप्रदान प्रकाशन र प्रशारणलाई बन्देज लगाएको भन्दै त्यस्ता वेबसाइटहरु बन्द गर्न निर्देशन दिएको थियो ।

प्राधिकरणका उपनिर्देशक विजय रोयले भने इन्टरनेट सेवा प्रदायकलाई त्यस्ता अश्लिल साइटहरु बन्द गर्न निर्देशन दिइसकेकाले केही दिनमै सबै साइट बन्द हुने दावी गरे ।

‘उहाँहरु (सेवा प्रदायक)ले पनि मुलुकी संहिता पढ्नुभएकै होला । प्राधिकरणले निर्देशन पनि दिइसकेको छ । त्यसअनुसार कार्यान्वयन गर्नुहुन्छ भन्नेमा हामी आशावादी छौं’, रोयले भने ।

प्राधिकरणले बोलाएको बैठकमा पनि सेवा प्रदायकहरुले अश्लिल साइटहरु ‘डिटेक्ट’ गर्ने कुनै प्रविधि नेपाल नभएकाले आफैँले खोजेर बन्द गर्न नसकिने जवाफ दिएका थिए । त्यस्ता हजारौं साईट हुन सक्ने र ती सबैले खोज्न समय लाग्ने भएकाले प्राधिकरणले नै कुन–कुन साइट बन्द गर्ने हो त्यसको सूची दिन सेवा प्रदायकहरुले आग्रह गरेका थिए ।

अश्लिल साईटहरुको सहज पहुँचका कारण सामाजिक विकृती बढेको भन्दै संचार तथा सूचना प्रविधि मन्त्रालयले त्यस्ता साइटमा प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो ।