एनएसीले तत्कालै दक्षिण कोरिया उडान गर्न नपाउने, ‘जापान प्राधिकरणले प्रतिकृयानै दिएन’

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ असोज ८ गते १६:२३ | Sep 24, 2018
एनएसीले तत्कालै दक्षिण कोरिया उडान गर्न नपाउने, ‘जापान प्राधिकरणले प्रतिकृयानै दिएन’


काठमाडौं। नेपाल वायुसेवा निगम(एनएसी)सँग पाँच वटा ठूला जहाज छन्।उडानका लागि गन्तब्य भने पूरानै र सीमित।

Tata
GBIME
Nepal Life

एनएसीले वाइड बडी ल्याएर दक्षिण कोरिया,जापान र यूरोपेली मुलुक उडाउने योजना बनाएको थियो।यूरोपमा उडान भर्न युरोपेली युनियन(इयु)को कालोसूचीले रोक्ने पहिलेनै एनएसीलार्इ जानकारी थियो।वाइड बडीमार्फत दक्षिण कोरिया र जापान उडाउने र भबिष्यमा कालोसूची हटे यूरोप उडाउने व्यवसायिक योजना एनएसीको थियो।यही आधारमा कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट २४ अर्ब ऋण लिएर तोकिएकै समयमा जहाज पनि एनएसीले ल्यायो।

जहाज काठमाडौंमा आएपछि तीन महिना पूरानै रुटमा चलाएर कोरिया र जापान उडाउने योजनाले तत्काल सम्भव नहुने देखिएको छ। कोरियाली नागरिक उड्डयन प्राधिकरणले र्इयुकै कालोसूचीलार्इ देखाउँदै एनएसीको जहाज उडानका लागि अध्ययन आवश्यक रहेको पत्र नेपाल नागरिक उड्डयन प्राधिकरणलार्इ पठाएपछि कोरिया उडान तत्कालै सम्भव नदेखिएको हो।नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमका अनुसार कोरियाको उड्डयन प्राधिकरणले एनएसीको क्षमताको अध्ययन गरिसकेपछि मात्रै उडान अनुमति दिने जानकारी गराएको छ।

'कोरियाको उड्डयन प्राधिकरणले एनएसीको सिस्टमका बारेमा कुनै पनि बेला अडिट गर्न सक्छ। युरोपियन युनियनलार्इ देखाएर एनएसीको सिस्टम अडिट गर्न आउने बताएका छन्। यसका लागि नेपालले सम्झौंता गर्नुपर्छ।हामीले कोरियालार्इ पत्राचार गरिसकेका छौं।' महानिर्देशक गौतमले भने।कोरियाको एरोड्रम शाखाबाट एनएसीले उडान अनुमतिका लागि स्लट पाइसकेपछि कोरियाली उड्डयन प्राधिकरणले अध्ययनको शर्त अघि सारेको हो।

'कोरियाको एरोड्रमले स्लट दियो भन्दैमा त्यहाँको नियमनकारी निकायले उडान अनुमति दिन्छ भन्न सकिदैन।' गौतमले भने। एनएसीले भने कोरिया उडानका लागि ग्राउण्ड ह्याण्डलिङ र जनरल सेल्स एजेन्टको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

जापानमा पनि उस्तै
एनएसीले जापानको ग्राउण्ड ह्यान्डलिङ र जिएसए छनौंटको प्रकृया अघि बढाएको छ।तर जापान उड्डयन प्राधिकरणले भने अहिलेसम्म कुनै पत्राचार गरेको छैन।

महानिर्देशक गौतमले जापानको उड्डयन प्राधिकरणले कुनै पत्राचार नगरेको बताए।‘जापानका बारेमा अहिलेसम्म हामीले कुनै पत्र पाएका छैनौ।’उनले भने।जापानको नारिता विमानस्थलका पदाधिकारी तीनसाता अघि वायुसेवा निगममा आएर उडान भर्न आउन आग्रह गरिसकेको छ।

कोरिया र जापानका लागि विदेशी पाइलट
एनएसीले कोरिया र जापान उडानका लागि विदेशी पाइलट प्रयोग गर्ने भएको छ।‘जापान र कोरिया उडानका लागि विदेशी क्याप्टेन ल्याउने प्रक्रिया सुरु गरिसकेका छौँ, निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले भने।

हाल एयरबस ३३० उडानका लागि सात जना विदेशी पाइलट र दुईजना नेपाली पाइलट कार्यरत रहेको निगमले जानकारी दिएको छ।  निगमले गत असार साउनमा ल्याएको दुईवटा वाइडबडी जहाजले असोज महिनाभित्रै जापान र दक्षिण कोरिया उडान भर्ने योजना बनाएको थियो।

हाल निगमको एउटा बोइङ ५७५, दुईवटा न्यारोबडी जहाज र दुईवटा वाइडबडी जहाजले नयाँ दिल्ली, बैंगलोर, हङकङ, मुम्बर्इ, मलेसिया, थार्इल्याण्ड, दोहा र दुवर्इ उडान भरिरहेको छ।