३/३ महिनामा जलविद्युत आयोजनाको निरीक्षण गर्ने उर्जामन्त्रीको घोषणा, निजी क्षेत्रको पनि अनुगमन

बिजमाण्डू
२०७५ बैशाख ९ गते १०:१८ | Apr 22, 2018

सिन्धुपाल्चोक। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सरकारले निर्माण गरिरहेका जलविद्युत आयोजनालाई तोकिएकै समयमा सम्पन्न गराउन तीन/तीन महिनामा अनुगमन गर्ने घोषणा गरेका छन्।

Tata
GBIME
Nepal Life

सिन्धुपाल्चोकमा निर्माणाधिन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजनाको अनुगमनमा गएका उर्जामन्त्री पुनले, नेपाल विद्युत प्राधिकरणले कम्पनी मोडेलमा निर्माण गरिरहेका जलविद्युत आयोजनाको ३/३ महिनामा अनुगमन गर्ने घोषणा गरेका हुन्।मन्त्री पुनले सरकारले निर्माण गरिरहेका आयोजना बाहेक निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत आयोजनाको पनि अनुगमन गर्ने बताए।

स्थानीयको लागि छिट्टै शेयर आउने
१०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजनाको शेयर स्थानीयबासीलार्इ निष्काशनको तयारी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

उनले स्थानीय स्तरमा देखिएका विवाद समाधान भएको र प्रभावितलाई दिने भनेको क्षतिपूर्ति वापतको वार्षिक एक करोड ५० लाख रुपैयाँ दिइरहेको पनि घिसिङले बताए।प्रभावित क्षेत्रमा विद्यालय भवनका लागि पनि टेण्डर खोल्ने तयारी गरेको उनले बताए।आयोजनाको करिब ४५ प्रतिशत काम सकिएको छ। ड्यामको काममा खोलाको पानी थुनेर अर्को बाटो बाट पठाईएको छ। सुरुङमार्गको काममा पहिलो खण्डको ब्रेक थ्रु गर्न लागिएको आयोजना प्रमुख मणिकुमार काफ्लेले बताएका छन्।

२०० मिटर गहिरो भर्टिकल सुरुङ खन्नको लागि माथिल्लो तामाकोशीमा ल्याईएका उपकरण ल्याउने आयोजनाको तयारी रहेको छ।उक्त उपकरणको प्रयोग गर्दा दुई महिना भित्र २०० मिटर गहिरो सुरुङ खनिसकिने आयोजनाको दावी छ। अन्य सुरुङ मार्गको काम पनि पाँच ठाउँबाट भैरहेको छ।

आयोजनाको ७ किलोमिटर लामो सुरुङ मार्गमध्ये करिब मुख्य सुरुङमार्गको काम दुई हजार सात सय ८० मिटर सकिएको छ। पेनस्टकको लागि थप ३५८ मिटर सुरुङमार्ग पनि खनिसकिएको छ। बाँधस्थल र पावर हाउसको काम पनि अगाडी बढिसकेको छ। समग्रमा आयोजनाको प्रगति करिब ४५ प्रतिशत हाराहारीमा भएको आयोजना प्रमुख काफ्लेले बताए।

समयमै काम सक्न ठेकेदारलाई निर्देशन
वर्षायाम लाग्नुभन्दा अघिनै बाहिरको काम सक्न मन्त्री पुनले निर्देशन दिए।

‘सुरुङ भित्र गर्ने कामहरु वर्षायाममा पनि गर्न सकिन्छ। बाँध निर्माणको काम वर्षा सुरु हुनु अगावै सक्नुहोस। म ३/३ महिनामा निरीक्षण गर्न आउनेछु। तोकिएको समयमै काम सम्पन्न भएको हुनुपर्छ,’ पुनले भने, ‘तोकिएको समयमै काम सम्पन्न भयो भने मात्रै नेपाल चीन सम्बन्धले पनि नयाँ उँचाई लिन्छ।‘

चिनियाँ ठेकेदार कम्पनीले पनि आयोजना समयमै सके नेपाल चीन सम्बन्ध अझ प्रगाढ हुने उनले बताए।आयोजना निर्माणमा समस्या बारे मन्त्रीले ठेकेदारसँग प्रश्न राखेका थिए।जवाफमा ठेकेदारले बाटो राम्रो नहुँदा सामान ल्याउन समस्या भएको बताएका थिए।

२०७० पुसदेखी आयोजनाको निर्माण कार्य सुरु भएको थियो। भूकम्प, नाकाबन्दी र जुरे पहिरोका कारण पनि योजनाको निर्माण अवधि दुई वर्ष ढिला भएको हो। अब २०७६ असारसम्म आयोजना निर्माण गरिसक्ने नयाँ कार्यतालिका बनाईएको छ।