दुई खर्बको लगानी योजनापछि बिपिसीमा लोभिएका लगानीकर्ताका लागि भोलीको दिन कस्तो हुन्छ?

बिजमाण्डू
२०७४ मंसिर २० गते १५:४५ | Dec 6, 2017
दुई खर्बको लगानी योजनापछि बिपिसीमा लोभिएका लगानीकर्ताका लागि भोलीको दिन कस्तो हुन्छ?


काठमाडौं। बुटवल पावर कम्पनी (बिपिसी) को शेयर कारोबार मंसिर ४ गतेदेखि लगातार उकालो लागिरहेको छ। कम्पनीको शेयरको बजार मुल्य मात्रै बढेको छैन, कारोबार संख्या र रकम पनि बढिरहेको छ। समग्र बजार ओरालो लाग्दासमेत कम्पनीको शेयर भने बुलिस्ट ट्रेन्डमा छ। मंसिर ४ गते यता गत मंगलबारसम्म मूल्य १२९ रुपैयाँले बढेको छ।
 

Tata
GBIME
Nepal Life
कारोबार उकालो लाग्नुमा दुर्इ वटा सुचना महत्वपूर्ण छन्। मंसिर ६ गते बुटवल पावर र तीन चीनियाँ कम्पनीबीच नयाँ आयोजना बनाउने सम्झौता भयो। त्यसका लागि पूँजी जुटाउन एफपिओ निष्काशन गर्न धितोपत्र बोर्डले दिएको स्वीकृतीको समाचारले पनि शेयर मूल्य उचाल्न मद्दत गर्यो। 
 
बुटवल पावर र चीनियाँ कम्पनीहरु सिचुवन प्रोभिन्सल इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेड, चेङ्गदु सिंचेन इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेड र छिमयूआन इन्जिनीयरिङ्ग कन्सल्टिङ्ग कम्पनी लिमिटेडबीच एक हजार मेगावाट विद्युत उत्पादन गर्न नयाँ आयोजनामा लगानी गर्ने संझौता भएको थियो। कम्पनीले सुरुवातमा तल्लो मर्स्याङदी हाईड्रोपावर प्रोजेक्ट र विस्तारै अन्य नयाँ प्रोजेक्टमा लगानी गर्दै जाने जानकरी दिएको छ।
 

संझौतासँगै विद्युत उत्पादनका लागि दुर्इ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने प्रतिबद्धता पनि कम्पनीहरुले सार्बजनिक गरका छन्। दुर्इ अर्व डलरलार्इ १०० प्रतिशत शेयर पूँजी मान्दा बुटवल पावरले २० प्रतिशत र चीनियाँ कम्पनीले ८० प्रतिशत लगानी जुटाउने छन्। जसमा बुटवल पावरले ४० करोड अमेरिकी डलर लगानी जुटाउनु पर्ने हुन्छ। यसको लागि बुटवल पावर आफैले जम्मा ४० करोड अमेरिकी डलरको २० प्रतिशत बराबरको ८ करोड अमेरिकी डलर आँफैले जुटाउने छ। 
 
बाँकी पूँजी कम्पनीले प्रोजेक्टको नियमका आधारमा अन्य कम्पनी तथा सर्वसाधारणमा शेयर जारी गरेर जुटाउने लक्ष्य लिएको बुटवल पावरका प्रवक्ता राधेश्याम श्रेष्ठले जानकारी दिए। कम्पनी आफैले जुटाउनु पर्ने  ८ करोड अमेरिकी डलरको लागि आफ्नै ४ अर्ब बराबरको कोष परिचालन गर्ने तथा कोष बढाउने अन्य तरिका अवलम्वन गर्ने छ। 
 
नपुग रकम बैंकबाट भए पनि जुटाउने तयारी थालेको छ। साथै कम्पनीले यसभन्दा अगाडिका प्रोजेक्टको ऋण तिरिसकेको हुँदा थप पूँजी संकलनमा समस्या नपर्ने कम्पनीले जनाएको छ।
 
कम्पनीले पूँजी जुटाउने ‍सिलसिलामा गत वर्ष विशेष साधारणसभा बोलाएर एफपिओ निष्काशन गर्ने निर्णय पास गरेको थियो। त्यसैअनुसार कम्पनीले विभिन्न अध्ययन गरी धितोपत्र बोर्डमा एफपिओ निष्काशनको लागी निवेदन दिएको थियो। कम्पनीको निवेदन अध्ययन गरी बोर्डले ५०१ रुपैयाँमा ४० लाख ८१ हजार कित्ता एफपिओ निष्काशन गर्ने स्वीकृति दिएको छ। 
 

कम्पनीले एफपिओ निष्काशन गरेसँगै एक अर्ब ६३ करोड रुपैयाँ प्रिमियम संकलन गर्ने छ। कम्पनीको शेयर संरचनामा पनि परिवर्तन हुने छ। हाल कम्पनीमा सर्वसाधारण शेयर स्वामित्व १३ प्रतिशतको हाराहारीमा छ भने एफपिओ निष्काशनपछि २८ प्रतिशतको हाराहारीमा पुग्ने श्रेष्ठले जानकारी दिए। 
 
कम्पनीको हालको शेयर पूँजी एक अर्ब ८१ करोड रुपैयाँ छ। कम्पनीले गत वर्ष ७ प्रतिशत बोनस शेयर दिएको थियो, त्यसभन्दा अगाडि एक अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी थियो। एफपिओ जारी गरेसँगै कम्पनीको चुक्ता पूँजी दुर्इ अर्ब २१ करोड रुपैयाँ पुग्ने छ। कम्पनीको जगेडा कोषमा हाल दुर्इ अर्ब ३६ करोड रुपैयाँ जम्मा भएको छ।
 
कम्पनीले एफपिओ आर्जन भएको प्रिमियम ३० मेगावाट क्षमताको ङादी र ३७ मेघावाट क्षमताको कावेली 'ए' मा लगानी गर्ने छ। कम्पनीले हाल ६७.६ मेघावाट विद्युत उत्पादन गरिरहेको छ। साथै १०० मेघावाट क्षमताको मनाङ मर्स्याङ्दीको निर्माण कार्य अगाडि बढाउने तयारीमा छ।
 
कम्पनीको स्थापना तथा आइपिओ निष्काशन 
कम्पनीको स्थापना संयुक्त राष्ट्र संघ नेपालले लगानी जुटाएर भएको थियो। संयुक्त राष्ट्र संघ नाफा मुलक संस्था नभएको कारणले सम्पुर्ण लगानीको तीन प्रतिशत आफुसँग राखेर बाँकी सबै पूँजी नेपाल सरकारलार्इ हस्तान्तरण गरेको थियो। सरकारले जिम्मा लिएसँगै सरकारी कम्पनीलार्इ निजीकरण गर्ने कन्सेप्ट आयो। यसैअनुसार सरकारले कम्पनीको शेयरमध्ये ७५ प्रतिशत निजीकरण गर्यो र बाँकी २५ प्रतिशत मात्र आफुले लियो। निजकरणसँगै विदेशी कम्पनी सँग पनि साझेदार गर्नु पर्ने कन्सेप्ट थियो। यसको लागि कम्पनीले नर्भेजियन कम्पनीसँग साझेदारी गर्यो। यस बाहेक साङ्ग्रिला समुह, ज्योति समुह, नेपाल विद्युत प्राधिकरण, नागरिक लगानी कोषको लगानी रहेको छ।
 
बुटवल पावरले २०५९ साल माघमा जम्मा पूँजीको १० प्रतिशत प्राथमिक शेयर निष्काशन गरेको थियो भने  थप दुर्इ प्रतिशत कर्मचारीका लागि निष्काशन गरेको थियो। 
 
कम्पनीले अहिलेसम्म दिएको प्रतिफल 
कम्पनीले लामो समयदेखि आफ्ना लगानीकर्तालार्इ राम्रो मुनाफा दिदै आएको छ। गत वर्षमा ७ प्रतिशत बोनस शेयर तथा २० प्रतिशत नगद लभांस दिएको थियो। कम्पनीले लगातार नयाँ प्रोजेक्ट ल्याएसँगै कम्पनीलार्इ पूँजीको आवस्यकता पर्छ। यसको लागि कम्पनीले नगद लाभांसभन्दा पनि बोनस शेयरमा जोड दिने संकेत गरेको छ।
 

कम्पनीले लगानीकर्तासँग उठाएको पूँजी बराबरको रकम लाभांसमार्फत फिर्ता गरिसकेको छ।
 
कम्पनीले भोलिका दिनमा दिने प्रतिफल कति होला ?
कम्पनी हाल सबै ऋण तिरिसकेको छ भने जगेडा कोषको रकमलार्इ अन्य कम्पनीमा लगानी गरिरहेको छ। कम्पनीले लगानी गरेका प्रोजेक्टले प्रतिफल दिन थालेसँगै यस कम्पनीका शेयरधनीले सत् प्रतिशतभन्दा बढि लाभांस पाउन सक्छन्। 
 
त्यस्तै कम्पनीले दुर्इ प्रोजेक्टका लागि एफपिओ निष्काशन गरेसँगै चीनियाँ कम्पनीसँगको सहकार्यमा लगानी गर्ने प्रोजेक्टमा पूँजी जुटाउनु पर्ने चुनौती छ। यसको लागि कम्पनीले पुनः एफपिओ निष्काशन गर्न सक्दैन तर कम्पनीले पूँजी जुटाउने क्रममा हकप्रद निष्काशन गर्ने बाटो पनि रोज्नु पर्ने हुन्छ। किनकी कम्पनीले ८ अर्ब जुटाउनु पर्ने छ, जसको लागि आफ्नो चार अर्बको कोष प्रयोगपछि बाँकी चार अर्बको लागि हकप्रद दोस्रो उपाय हुन सक्छ।
 
यी सबै वास्तविकतालार्इ हेर्दा बुटवल पावर कम्पनीका शेयरधनीले पाँच वर्षको अवधिमा एफपिओको प्रतिफल साथै राम्रो बोनस शेयर पाउन सक्छन्। साथै पाँच वर्षपछि सबै प्रोजेक्ट संचालनमा आएसँगै सत् प्रतिशत नगद लाभांस पाउन सक्छन्।