प्लसटुपछि बजार छिरेकी रेणुका स्नातक नसक्दै करोडपति, जागिर छाडेकी सीता बजारमा जम्दै



बिजमाण्डू
२०७४ जेठ २२ गते १०:१६ | Jun 5, 2017
प्लसटुपछि बजार छिरेकी रेणुका स्नातक नसक्दै करोडपति, जागिर छाडेकी सीता बजारमा जम्दै


काठमाडौं। शेयर बजार कहिले ओरालो त कहिले उकालो लाग्छ। त्यही उकालीओरालीमा लगानीकर्ताका आआफ्नै आकलन। जब नेप्सेको भित्तो हरियो हुन्छ सबै उत्साहित हुन्छन्, अनि रातो हुँदा सबै हतोत्साहि।
 
तर कति लगानीकर्ता यस्ता छन्, जो बजार घट्दाको जोखिम ब्योहोर्न तयार भएर बस्छन्। कति त बजार घटेको समयमा लगानी गर्न उत्साहित भएर कुर्छन्।
 
ससाना  गतिबिधिहरुले पनि छिनमै प्रभाव पार्ने नेपाली शेयर बजारमा धैर्यवान लगानीकर्ता मात्र लामो समय टिक्छन्। अनि जो टिक्न सफल हुन्छन् र उनीहरु राम्रै नाफा पनि कमाउँछन्। 
 
एमए साइकोलोजी अध्ययन गरेकी सिता भट्टरार्इ पोखरेल शेयर बजारको मनोविज्ञान अध्यन गर्न खप्पिस छिन्। २०७१ सालमा हाइड्रोपावरको जागिर छाडेर शेयर बजार छिरेकी उनी राम्रो कमाइ गरिरहेकी छिन्। 
 
अधिवक्ता श्रीमानले शेयर बजारमा लाग्न प्रोत्साहित गरेपछि सुरुका दिनमा धेरै नै घाटा भएको उनले अनुभव सुनाइन्। तर त्यहि अनुभवले उनलार्इ राम्रो शिक्षा दियो। ब्रोकरको भरमा कारोबार गर्ने उनी नियमित समाचार हेर्न थालिन्। कारोबार गर्नुभन्दा पहिला कम्पनीको जानकारी लिन थालिन्। 
 
उनी बजारको हल्लामाथि विश्वास गर्दिनन्। भन्छिन्-‘कहिलेकाहीँ भने हल्लाको भर पनि पर्नुपर्छ नाफा सुरक्षित पार्न तर चनाखो भएर।’
 
उनी शेयर बजार पस्दा १०३० को नेप्से झरेर ८५० सम्म भएको थियो रे। जुन बेला उनी ठूलो घाटामा थिइन् उनलार्इ श्रीमानले सम्झाएका थिए रे शेयर बजारको प्रकृति नै यस्तो हो, आत्तिने मात्तिने गर्नुहुन्न। श्रीमानको साथ पाएपछि उनी झन् गहिरिएर शेयर बजारमा लागेको बताउँछिन्।
 
त्यसपछिका दिनहरुमा उनले पछाडि फर्कनु परेको छैन। निरास हुनु परेको छैन। एकै दिन पाँचलाख सम्म कमाएको अनुभव छ उनीसँग।
 
आजका दिनमा उनको शेयर बजारमा चालिस/पचास लाख रुपैयाँभन्दा धेरैको पोर्टफोलियो छ। नाफा आर्जन गर्ने परिस्थितीमा उनी चालीस/पचास लाख रुपैयाँसम्म पनि बजारमा लगानी गर्छिन्।
 
उनी बजारमा हल्ला चल्नुअघि कम्पनीको प्रति शेयर आम्दानी तथा कम्पनीको पिइ रेसियो जस्ता सूचक हेर्छिन् र त्यसकै आधारमा लगानीको योजना बनाउने बताउँछिन्। 
 
गृहिणीहरुले बच्चाबच्ची स्कुल पठाएपछि सिरियल हेरेर बस्नुभन्दा शेयरबजारमा आउनुपर्ने उनको सुझाव छ।
 
नयाँ लगानीकर्तालार्इ सुरुमा थोरै कित्ताबाट सुरु गरेर बिस्तारै बजार बुझ्दै कारोबार गर्न उनी सुझाउँछिन्।
 
‘घाटा भयो भनेर आत्तिएर बेच्नु हुँदैन बरु त्यसको बोनस हकप्रद खाएर बस्नु पर्छ। बजार बढेपछि नाफा लिइहाल्नुपर्छ’- उनको सुत्र यहि हो। सानो कारोबार गर्दै आफ्नो क्षमता बढाउनु पर्ने उनको सुझाव छ।
 

Tata
GBIME
Nepal Life
सीता भट्टरार्इ पोखरेल जस्तै रेणुका ढकाल पनि शेयरबजारमा रत्तिएकी छिन्। ‘म त प्लस टु सकेर बुबाको शेयर धितो राखेर बजार छिरेको। एक करोडभन्दा माथिको कारोबार गर्ने सक्ने भएको छु’ भर्खर बिबिएस चौथो बर्षको परीक्षा सकेकी रेणुका भन्छिन्। 
 
बुवाको नाममा भएको शेयर धितो राखेर २३ लाख रुपैयाँ ऋण लिएर शेयर बजारमा छिरेकी उनले शेयर कारोबारबाटै राजधानीमा घर किनेको सगर्व सुनाइन्न्।
 
एक करोडभन्दा माथिको कारोबार गर्ने रेणुकाको स्थायी घर सिन्धुपाल्चोक भएपनि काठमाडौंमा घर र घडेरी जोड्न भ्याइसकिन् त्यो पनि शेयरबाटै कमाएर।
 
उनको कारोबारको  शैली अरुभन्दा  भिन्न छ। अरु शेयर घटेपछि धमाधम बेच्न थाल्छन्, उनी बजार घटुन्जेल कुरेर बस्छिन्, अब बढ्न सक्छ भन्ने आँकलन गरेपछि घटेको शेयर किन्न थाल्छिन्। सकभर घटेका जति सबै कम्पनीका शेयर उनी किनिहाल्छिन्। 
 
कम्पनी छान्दा उनी सबै समुहका कम्पनी रोज्ने गर्छिन्। कुनै एक समूहको कम्पनीमा गिरावट आयो भने अर्को समूहकोले उचाल्ने उनको अनुभव छ।
 
उनी पनि कहिल्यै हल्लाको पछि लाग्दिनन्। दैनिक कारोबारमा मात्र सिमित छैनन् रेणुका। उनले ६ जना साथीसँग मिलेर लोटस फिट इन्भेष्टमेन्ट कम्पनी समेत खोलेकी छिन्। २१ लाखको लगानीमा सुरु गरेको कम्पनीले शेयर लगानीकै काम गर्छ।
 
उनी नेपालमा दोस्रो स्टक एक्सचेन्ज खोल्नुपर्ने पक्षमा छिन्। उनको बुझाइमा अनलाइन प्रणाली ल्याउने, बजारमा संस्थागत लगानीकर्ता भित्र्याउने जस्ता कुराहरुले बजारलार्इ नियन्त्रण गर्न सक्छ । 
 
नयाँ लगानीकर्तालार्इ आकर्षित गर्न बजारमा अझै धेरै कारोबार बढ्नुपर्ने उनी बताउँछिन्। शेयर बजारको कारोबार चुस्त राख्नका लागि बजारमा ब्रोकरको संख्या थप्ने वा बैंकलार्इ कारोबार गर्ने दिनुपर्ने उनको सुझाव छ।