
काठमाडौं । राष्ट्रिय स्तरका बाणिज्य र विकास बैंकमा खाता हुनेले अब सेयरको प्राथिमक निस्कासनमा आवेदन दिन लाइन बसि रहनु नपर्ने भएको छ। आवेदन गर्ने बराबरको रकम आफ्नो खातामा रोक्का राखि घरै बसि बसि अनलाइनबाट आवेदन दिन पाइनेछ।
विकसित देशमा प्रचलनमा आइ सकेको एप्लिकेसन सपोर्टेड बाइ ब्लक्ड एमाउन्ट (आश्वा) प्रविधी कार्यान्वयनमा ल्याइ धितोपत्र बोर्डले यो सुविधा दिन लागेको हो। बोर्डले कार्यान्वयनमा जानु अघिनै आश्वाको सुरुमा भनिएको मोडालिटी समेत थप सहज बनाउने भएको छ।
सुरुमा कम्तिमा २० जिल्ला सहित उपत्यकामा चार शाखा भएको राष्ट्रिय स्तरको बाणिज्य र विकास बैंकलाई मात्र आश्वाको अनुमति दिने बताएकोमा बोर्डले त्यसलाई सहज बनाउन लागेको हो। अब सबै बाणिज्य बैंक र राष्ट्रिय स्तरको विकास बैंकले आश्वाका लागि आवेदन दिन सक्ने गरि मोडालिटी ल्याउने बोर्ड प्रवक्ता निरज गिरीले जानकारी दिए।
आश्वाको सदस्यता पाएको बैंक तथा वित्तिकय संस्थामा खाता हुनेले कुनै कम्पनीको प्राथमिक सेयर आवेदनमा लाइन लाग्न जानु पर्दैन। उनीहरुले खाता रहेको बैंकमा पैसा रोक्का गरि अनलाइनबाट सेयर आवेदन दिन सक्नेछन्। यसले अहिले अढाइ महिना सम्म लागि रहेको सेयर बाँडफाँड अवधिलाई २० दिनमा झार्ने बोर्डको विश्वास छ।
प्रवक्ता निरज गिरीका अनुसार बोर्डले केहि दिन भित्रै बैंक तथा वित्तीय संस्थालाई अनुमती लिन आउने बारे सुचना जारी गर्दैछ ।
बोर्डले यस बारेमा नेपाल बैंकर्स संघ र बिकास बैंक संघ लगायत सरोकारवालासँग छलफल गरिसकेको छ । उनीहरु सार्वजनिक निष्कासन र दरखास्त संकलनको काम गर्न ईच्छुक देखिएको गिरीले जानकारी दिए।
अहिले राष्ट्रिरय स्तरका बाणिज्य र विकास बैंक समेटेर आश्वाको परिक्षण प्रयोग गर्न लागिएको हो। त्यसैले लगानीकर्ताले आश्वा वा अहिले चालु प्रणाली मध्ये जुनबाट पनि आईपीओमा सेयर आवेदन दिन सक्ने छन्।
परिक्षण अविधमा सफल भए क, ख र ग वर्गका सबै बैंक तथा वित्तिय संस्थालाई समेटेर आश्वाबाट मात्र आवेदन लिने व्यवस्था गर्ने गिरीले जानकारी दिए। त्यसो भएमा लगानीकर्ताको समय बचत देखि प्रकृया पनि धेरै छोटो हुनेछ।
कसरी गर्ने आवेदन?
आश्वा अन्तर्गत आईपीओमा लगानी गर्ने लगानीकर्ता आवेदन फारमसँगै चेक बुझाउने झन्जटबाट मुक्त हुनेछन्। आफ्नो खाता रहेको बैंकमा आवेदन गर्ने बराबरको पैसा रोक्का गरि अनलाइन निवेदन दिए पछि पुग्नेछ।
बाडँफाडँ पश्चात मात्र लगानीकर्तालाई सेयर परेको बराबरको रकम सम्बन्धित कम्पनीको खातामा ट्रान्सफर हुनेछ। बाँकी रकम खातामै फुकुवा हुनेछ।
यो प्रणाली लागु भएसंगै विद्यमान धितोपत्र बाडँफाडँको समयमा उल्लेख्य सुधार हुने, निस्कासनको सूचीकरण समेत छिटो गर्न सम्भव हुने बोर्डले जनाएको छ।
बैंकखातामा पैसा रोक्का र अनलाइन आवेदनले लगानीकर्ताको पहिचानमा सहयोग पुग्नुको साथै वित्तीय क्षेत्रमा पारदर्शिता अभिवृद्धि हुने र छद्मभेषी लगानीमा लगाम लाग्ने बोर्डको विश्वास छ। यो प्रणाली लागु भएपछि आईपीओदेखि दोस्रो बजारमा सेयर 'लिष्टिङ'सम्म ६ महिना लाग्दै आएको समयावधिलाई २ महिनामा झार्नेछ।