सुनको मूल्य २०७२ पुसमा ३३ हजारमा झर्ने प्रक्षेपण

बिजमाण्डू
२०७१ कात्तिक २४ गते ००:०० | Nov 10, 2014
सुनको मूल्य २०७२ पुसमा ३३ हजारमा झर्ने प्रक्षेपण


विजयराज खनाल/बिजमाण्डू 
काठमाडौं। अहिले अन्तराष्ट्रिय बजारमा चार बर्ष यताकै सस्तो मूल्यमा कारोबार भइरहेको सुन सन् २०१५ अन्त्यमा करिब ३० प्रतिशतले सस्तो हुने प्रक्षेपण सार्वजनिक भएका छन्। अहिले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य सन् २०१० यताकै सस्तो अर्थात् प्रतिऔंस एक हजार एक सय ३५ डलरमा कारोबार भइरहेको छ।


 
२०१४ अन्त्यसम्ममा सुनको भाउ प्रतिऔंस ११ सय डलर रहने छ भने सन् २०१५ अन्त्यमा आठ सय डलरसम्म आउने छ, नेदरल्याण्डको एबिएन अम्रो बैंक एनभीले गरेको प्रक्षेपण उदृत गर्दै ब्लुमबर्गले लेखेको छ। 
 
बिश्लेषक जर्जेट बोएलले अन्तर्राष्ट्रिय सञ्चार माध्यम ब्लुमबर्गलाई इमेल मार्फत् लेखेका छन्, अमेरिकी केन्द्रीय बैंकले व्याजदर बढाउने कदम चालेमा डलरको भाउ अझै बढ्ने छ, त्यसैले अहिले सुनको मूल्य झर्दै गरेको धारिलो चक्कु जस्तै हो, यसलाई नियन्त्रणको प्रयास नगर्नु नै ठिक हुन्छ। 
 
अहिलेको मध्यकालिन अवधिको निर्वाचनमा अमेरिकी सिनेटमा रिपब्लिकनको नियन्त्रण पनि बढ्न गएको छ, यही कारण एक्सचेन्जमा अमेरिकी डलरको भाउ पाँच बर्षकै उच्च भएको छ, अर्काेतर्फ रिपब्लिकनहरु व्याज दर वृद्धिको पक्षमा देखिने गरेका छन्, बिश्लेषक जर्जेट बोएलले भने। अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बढ्दा धेरैजसो समय सुनको मूल्य घट्ने गरेको छ।
 
एबिएन अम्रो बैंक एनभीको प्रक्षेपणलाई आधार मान्ने हो भने नेपालमा पनि २०७२ साल पुषसम्ममा प्रतिदश ग्राम सुनको मूल्य ३३ हजारको हाराहारीमा झर्न सक्छ। एनबिएन बैकको अनुसार प्रतिऔंस अर्थात् २८.३४ ग्राम सुनको मूल्य आठ सय डलरमा आउने हो भने प्रतिदश ग्रामको मूल्य करिब दुई सय ८३ डलर हुन्छ। हालको अमेरिकी मुद्राको बिनिमय दर करिब ९८ रुपैयाँ ८९ पैसा मान्दा नेपालमा प्रति दश ग्रामको सुनको मूल्य करिव साढे २७ हजार रुपैयाँ पर्न आउँछ। त्यसमा सुनको प्रतिदश ग्रामको लागि तोकिएको भन्सार दर पाँच हजार दुई सय रुपैयाँ जोड्ने हो भने ३२ हजार पाँच सय ८१ रुपैयाँ पर्न जान्छ। तर, त्यसबेला डलरकाे भाउ यति नै हुन्छ भन्ने छैन ।
 
सुनको खरिद डलरको भुक्तानीमा गरिने भएकोले डलरको भाउमा हुने परिवर्तनले भने यो मूल्यमा केही तलमाथि हुन सक्छ। हाल नेपालमा प्रतिदश ग्राम सुनको मूल्य करिव ४३ हजार रुपैयाँ माथि छ। अन्तर्राष्ट्रिय बजारको मूल्यलाई नै आधार मानेर नेपालमा सुनको मूल्य निर्धारण गरिन्छ।  
 
किन घट्दै छ सुनको मूल्य?
अमेरिकी अर्थतन्त्रमा सुधार र डलरको भाउ बलियो भएकोले नै अहिले सुनको मूल्य घटेको हो। त्यस्तै, अमेरिकाले प्रमूख व्याजदर बढाउने देखिएकोले पनि डलर बलियो हुनै छ भने सुन सस्तिदै छ। अर्काेतर्फ युरोपेली केन्द्रीय बैंकले व्याज दर घटाउन लागेकाले पनि सुनको मुल्यमा मिश्रित प्रभाव देखिने फोर्ब्सले लेखेको छ। युरोपेली केन्द्रीय बैंकको ब्याजदर घटाउने कदमले युरो मुद्रा कमजोर हुने छ र डलर बलियो हुने छ। डलर तिरेर सुन किन्ने त्यहाँका लगानीकर्तालाई सुन महँगो पर्न जानेछ जसले गर्दा सुनको माग घटाउन सक्छ। 
 
युक्रेन र मध्यपुर्वी क्षेत्रको राजनीतिक समस्यामा सुधार देखिएकाले पनि सुरक्षित धनको रुपमा सुन सञ्चिति कम हुने छ। सुनको सबैभन्दा धेरै उपभोग हुने राष्ट्र चीन र भारतमा मागमा कमी हुनु नै सुनको मूल्य घट्नुको मुख्य कारण मानिएको छ। भारतमा उपभोगको रुपमा सुनको खपत सन् २०१४ मा १३ प्रतिशतले घटेर ८५० टन हुने अनुमान गरिएको छ, जबकी गत बर्ष ९७४ टन उपभोग भएको थियो। बर्ल्ड गोल्ड काउन्सिलले यस बर्षको दोस्रो त्रैमाशमा विश्वभर सुनको माग १६ प्रतिशतले घटेको उल्लेख गरेको छ। 
 
नेपालमा के हुन्छ?
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य जति निर्धारण हुन्छ, त्यही आधारमा नेपालमा पनि निर्धारण हुन्छ, नेपाल सुन चाँदी व्यवसायी महासंघका बरिष्ठ सदस्य तेजरत्न शाक्यले भने। सुनको मूल्य निर्धारणको अधिकार महासंघले नै पाएको छ। 
 
नेपालमा सुनको माग घटबढ हुँदा एक/दुई सयको मात्र अन्तर हुन्छ, यहाँको मागले खासै मूल्य निधारण हुदैन, डलरको भाउमा हुने तलमाथिले भने केही फरक पर्छ, शाक्यले भने। बिदेशबाट सुन आयात गर्दा डलरमा नै भुक्तानी दिने गरिएकाले डलरको मूल्यले नेपालमा सुनको भाउलाई प्रभावित गर्ने गरेको हो। 
 
नेपालमा सुनको मागमा कमी आइरहेको छ, उपभोक्ताको क्रय शक्तिमा सुधार नआएकाले माग बढ्न नसकेको महासंघले जनाएको छ। गत बर्ष दैनिक २५/३० किलोसम्म सुनको माग देखिएकोमा अहिले जम्मा १५/२० किलोको हाराहारीमा रहेको छ। माग नभएकै करण बैंकमा कात्तिक १४ गतेसम्म तीन सय ७० केजी सुन थुप्रिएको नेपाल बैंकर्स एशोसिएशनले उल्लेख गरेको छ।
 
सुन व्यवसायीहरुले बैंकहरुमार्फत् नै सुन खरिद गरेर उपभोक्ता माझ पुर्‍याउनु पर्ने व्यवस्था भएपनि उनीहरुबाट माग आएको छैन। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई आलोपालोमा सुन आयात गर्ने व्यवस्था गरिदिएको छ। बैंकहरु बाहेक अन्यले सुन आयात गर्न पाउँदैनन्। गत आर्थिक बर्षसम्म बैंकहरुलाई दैनिक २० केजी सुन आयातको अनुमति दिएको नेपाल राष्ट्र बैंकले चालु बर्षबाट दैनिक १५ केजी आयात गर्न पाउने व्यवस्था गरेको छ। 
 
बैंकमा सुन माग्न नपुगे पनि व्यवसायीहरुलाई भने सुनको कमी भएको छैन। अहिले अन्तराष्ट्रिय विमानबाट आउने हरेक नेपालीले आफ्नो साथमा ५० ग्राम सुन ल्याउन पाउँछन्, दैनिकरुपमा यसरी आउनेमध्ये २५ प्रतिशत यात्रुले मात्रै सुन ल्याए भने पनि अहिलेको माग धानिन्छ, महासंघका शाक्यले भने। व्यापारीहरुले यिनै सुन खरिद गरिरहेको उनी बताउँछन्। 
 
नेपालमा सुनको माग कम भएपनि सुनको तस्करी भने बढिरहेको छ। गत साउनमा २० केजी सुन सहित सिन्धुपाल्चोक लिस्ती–४ का २६ बर्षिय दावा तामाङ पक्राउ परेका थिए। गत कात्तिक पहिलो साता बीरगन्ज बसपार्कबाट मृत्युन्जय सर्राफ चार केजी अवैध सुन सहित पक्राउ परेका हुन्। नेपाल राष्ट्र बैंकमा गत बर्षमात्रै चोरीबाट नेपाल भित्रिएको करिब ५० करोड रुपैयाँ बराबरको सुन दाखिला हुन आएको छ। 
 
नेपालमा यस्ता चोरीको सुन आशिंक रुपमा खपत भएपनि धेरैजसो भारत पुर्याइने गरेको छ। यो बर्ष मात्रै भारतमा दुई सय टन सुन चोरीको बाटोबाट भित्रने अनुमान वर्ल्ड गोल्ड काउन्सिलले गरेको छ। 
 

Tata
GBIME
NLIC

तर, अहिले नेपालबाट भारतमा सुन तस्करी घटेको महासंघका शाक्य बताउँछन्। भारतमा मनमोहन सिंह प्रधानमन्त्री हुँदा बार्षिक चार सय टन सुनको आयमा गर्न पाउँने व्यवस्था थियो, अहिले यस्तो कोटा छैन्, त्यसैले नेपालबाट भारत सुन तस्करीमा कमी आएको छ, शाक्यले भने।

 
भारतले गत मेमा मात्रै सात वटा निजी क्षेत्रका बैंकलाई सुनको आयात गर्न खुला गर्यो र योसँगै त्यहाँ सरकारी स्वामित्व सहितका २० वटा संस्थाले सुनको आयात गर्न पाएका छन्। यो खुकुलो नीतिले पनि त्यहाँ सुनको आपुर्ति सहज भएको छ।  

भारत सरकारले सुनको कर समेत घटाउने सम्भावना देखाए पनि त्यसमा कुनै प्रगति भएको छैन। सुनको कर १० प्रतिशतबाट घटाउने र आयात भएकोमध्ये अनिवार्य रुपमा २० प्रतिशत सुन निर्यात गर्नुपर्ने व्यवस्था त्यहाँ अझै कायम नै छ। यसले पनि भारतमा अन्य देशबाट हुने सुनको तस्करी घटाउन सकिएको छैन। 

 
नेपालले पनि त्यहाँको सुनको भन्सार दर (प्रतिदश ग्राम ४४८० नेरु) सँग समायोजन गर्दै पाँच हजार दुई सय रुपैयाँ तोकेको छ। भारतको तुलनामा नेपालमा भन्सार दर महँगो भएकाले वैधानिक रुपमा भने सुन भारत जान छाडेको शाक्यले बताए।
 
तर, नेपालमै भन्सार छलेर सुन ल्याउँदा एक केजीमा पाँच लाख रुपैयाँ फरक पर्ने भएकोले पनि चोरी तस्करीको बाटोबाट सुन आउने गरेको शाक्यको अनुमान छ। 
 
के सुनको मूल्य घटिनै रहन्छ?
सुनको मूल्यमा सुधार आउने सम्भावना पनि अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। हालै मात्र सुनको मुल्य उच्च दरले घटेपछि भारत र चीनमा सुनको माग बढेको समाचारहरु आएका छन्।
 
सुनको मूल्य थप घट्ने हो भने, यसले उत्पादनको सम्भाव्यता पनि घट्ने छ र मूल्य बढ्ने अनुमान छ। हाल प्रतिऔंस सुनको औसत उत्पादन लागत ११ सय डलर मानिन्छ। तर प्रभावकारी प्रविधि, कम श्रमको प्रयोग र सहज भौगोलिक अवस्थाले गर्दा कतिपयले करिब ९५० डलरदेखि एक हजार डलरको लागतमा प्रतिऔंस सुनको उत्पादन गरिरहेका छन्।

अहिले बजारमा प्रतिऔंस सुनको मूल्य करिब १२ सय डलर छ, तर कतिपय साना खानी सञ्चालकहरुले अहिलेलाई नयाँ खानी खोज्ने योजना थाँती राख्ने भएका छन्। यसले गर्दा भविष्यमा सुनको आपुर्ती घट्न सक्छ।

 
आगामी बर्षहरुमा उत्पादकहरुलाई सुनको नयाँ खानी पत्ता लगाउन पनि सजिलो देखिएको छैन। नेचुरल रिसर्च होल्डिङका अनुसार हाल रहेको सुन भण्डारण र स्रोत हेर्दा उत्पादकहरुले जम्मा ३.७२ अर्ब औंस सुन प्राप्त गर्न सक्ने छन्। यसमध्ये करिब १.८२ अर्ब औंस (५६६७४ टन) पुन प्रयोग गर्न सकिने हुन सक्छ। त्यसैले यदि बार्षिक ११ सयदेखि १२ सय टन सुन उत्खनन हुने हो भने ५० बर्षको अवधिमा यसको स्रोत रित्तिने छ।