काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि फ्रान्सेली राजदूत मार्टिन बासेरेयउबीच लगानीका विषयमा छलफल भएको छ। विहीबार भएको छलफलमा फ्रान्सेली लगानी नेपालमा भित्र्याउने विषयमा राजदूत मार्टिनले सहयोग गर्न बताएकी छन्।
आगामी फेब्रुवरीमा फ्रान्सेली लगानीकर्ताको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्न लागेको जानकारी दिदै राजदूत मार्टिनले नेपाल र फ्रान्स वीचको लगानी तथा व्यवसायिक वातावरणका विषयमा स्पष्ट पार्ने अवसर प्राप्त हुने बताइन्। उनले आफ्नो कार्यकालमा नेपाल र फ्रान्स वीचको आर्थिक कुटनीतिलाई प्रभावकारी बनाउने पनि बताइन।
छलफलमा चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको बताउंदै छिमेकीमुलक भारत संग भएको वाणिज्य सम्झौता एवं हालै भएको विद्युत व्यापार सम्झौता र विद्युत उत्पादन सम्झौताले लगानीकर्ता थप उत्साहित भएको बताए। उनले नेपालबाट निकासी हुने बस्तुमा छिमेकी मुलुक चीनले दिने भन्सार छुटको फाईदा लिन राजदूत मार्फत फ्रान्सेली लगानीकर्ताहरुलाई अनुरोध गरे।
अध्यक्ष श्रेष्ठले नेपालमा जलश्रोत, कृषि, पर्यटन, हस्तकलाका बस्तुहरु, खनिज, शिक्षा तथा स्वास्थ्य जस्ता तुलनात्मक लाभ भएका बस्तुहरुमा लगानी गरी फाईदा लिन पनि आग्रह गरे। अध्यक्ष श्रेष्ठले फ्रान्ससंगको व्यापार घाटा वारे चर्चा गर्दै फ्रान्समा नेपाली बस्तुहरु तथा सेवाको प्रवर्द्धन गर्न नेपाल चेम्वर अफ कमर्सले अवैतनिक प्रतिनिधि नियुक्त गरेको जानकारी गराए।
कार्यक्रममा फ्रान्सका लागि नेपालका राजदूत अम्विका देवी लुईंटेलले नेपाली उत्पादन तथा लगानी विस्तार गर्ने उद्देश्यले चेम्वरले स्थापना गर्न लागेको सूचना केन्द्रले आफू निकै उत्साहित भएको बताइन। आर्थिक कुटनीतिको माध्यमबाट नेपाल र फ्रान्स वीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उनले बताइन।